म यौटा वनफूल
छोपिएको छु झाडी र बुट्यानहरुमा
बाँधिएका छन् हात-गोडाहरु
जेलिएको छु सम्बन्धको कठोर जन्जिरमा
निमोठिदैछन् रहरका कोपिलाहरु
आगोमा जलिरहेछन् सपना
जिउँदो छु म, तर प्राण छैन
सबै छन् तर आफ्नो कोही छैन !
केहि नहुनु र भए जस्तो हुनु फरक कुरा रहेछ
आँखाको डिलबाट खसेको मुटु देख्ने कोही छैन !
फैलिएका छन् स्वार्थी लहराहरू पहराभरि
नाम नपाएको म एक जंगली फूल !
सद्भाव देखाएझैं गर्छन भँमराहरू
नजिक हुन्छन् केही पल
लुटिएको खुशी दिने भीष्मप्रतिज्ञा गर्छन्
सपना फिर्ता ल्याउने आश्वासन दिन्छन्
र आफैं गर्छन् आत्मदाह ....
मसित अंकुराएका आशाले गर्छन सँगै आत्महत्या
पानीको फोका झैं जब निमेसमै फुट्छन जिजिविषा !
यो शहरभरि समाचारमा फैलिन्छ
मैले बाँडेको प्रेम-रसमा भयानक बिष थियो
अनकन्टार पहराको बिचमा बिताइरहेछु म कैदी जीवन
मलाई कुनै गुनासो छैन
सुगन्ध छर्न नसकेकोमा
दुनियाँले चाहे जे गरोस् मसित
सारालाई भनेर मर्छु-
"प्रकृति " म तिम्रो पागल प्रेमी !
म कसैको गमलामा फुल्न नसकेको
कसैको सुन्दर बगैंचामा नमुस्काएको फूल
हिलोमा फूलेरै पनि सुन्दर देखिन्छ कमल
म फूलेपछी नै खुल्दछ वनको सौभाग्य
म एक वनफूल सिर्फ वनफूल !
तिम्रो आँखामा फुल्न नसकेपनि
फूलिरहन्छु वनभरी पहराभरी
अनि जिवनका अक्करे भिरहरुमा!!!