मुल्तबीमा राखौं, पार्क निर्माण बरु,
पुर्न,
खाल्टाखुल्टीपनि अलिपछि सारौं ।
समृद्धिका रेलहरूपनि बरु,
हतार नगरि अलि ढिलै चडौं ।
बिसाउँ एकछिन,
पानीजहाज चढ्ने हुटहुटीपनि ।
व्यवस्था गरौं गोताखोरहरूको बरु,
र,
वर्षे समुद्रहरूपनि पौडी खेलेरै तरौं ।
भइदिऔं,
काकाकुल नै केही समय अझै बरु ।
घट्घटी पिऔं,
कलकल बगेको मेलम्चीको सम्झना,
र, मेटौं प्राचीन तिर्सना बरु ।
मुटुमा ढुङ्गो राखेरै भएपनि,
सहौं अझै,
मानवता नै डगमगाउने कहरहरू बरु ।
र, सबैभन्दा पहिला,
निर्माण गरौं,
हरेक शहरबजारमा सुन्दर मसानघाटहरू ।
हरेक चोक र चौतारामा,
बालुवाटारको आँगनमा,
सिंहदरवारको मूल गेटैमा,
भद्रकालीको नाकैमा,
न्यायलगको ढोकैमा,
शितलनिवासको चोकैमा ।
एउटा ÷ एउटा मसानघाट निर्माण गरौं ।
विशिष्ट श्रेणीका मानवहरूलाई,
सर्वहारा र गरिबको ह्वास्स गन्धले,
हुँडल्नसक्छ पेट, बान्तै आउनेगरि,
ठीकै छ,
वर्गीय नै बनाउँ मसानघाटहरूपनि बरु ।
झिकाऔं,
रक्तचन्दनका मूडा र सुनका सिक्काहरू,
बजेट छुट््याऔं, नक्सा पास गरौं ।
र, बनाऔं,
सुनैसुनका सङ्ख र रक्तचन्दनका चिताहरू ।
बिर्सिए जस्तो छ,
विशिष्ट श्रेणीमा उक्लिएपछि,
‘मान्छे मरणशील प्राणी’ हो भन्ने कुरा ।
र, गरेजस्तो छ,
आफूमात्रै अजम्मरी बाँच्ने सुर ।
अतः,
भ्रमबाट बिउँताउन,
विशिष्ट श्रेणीका मान्छेहरूलाई,
मुक्त गर्न,
सुख, भोग, दौलत र यौनको नसाबाट ।
केही समयलाई,
सबै निर्माणकार्य स्थगन गरौं बरु,
र, निर्माण गरौं,
विशिष्ट मानवहरूको बस्तिमा सुन्दर मसानघाटहरू ।
शंखनाद गरौं,
र,
पुतपुताएको चिताको धुवालाई
मगमग मृत्युको वासना बोकाएर,
कार्यलयको हरेक कोठाचोटामा पु¥याऔं ।
र, उनीहरूकै सामु,
नाङ्गेझार पारेर लाशहरू,
आगाको लप्कामा दनदन जलाऔं ।
र, पुनस्र्मरण गराऔं,
कि, तिमीहरूले जितेको निर्वाचन मात्रै हो,
मृत्युलाई जित्न सकेका छैनौ ।
र, मरेर जाँदा लिएर जानपाउँने छैनौ,
कुनैपनि पृय वस्तु आफ्नो साथमा ।
चडेपनि जतिनै अग्लो महलमा,
खँदार्ने छ एकदिन मृत्युले,
तीनै भुइँमान्छेहरूको साथमा ।
राखौं थाती अरु कामहरू,
र, हरेक चोकमा बनाऔं मसानघाटहरू,
देखाइदिऔं हरेक दिन,
कि, मृत्यु अवश्यम्भावी छ,
किन लोभिन्छौं क्षणिक विषयवासनामा ?
किन लोभिन्छौं क्षणिक विषयवासनामा ?
(सन्त तरुण सागरप्रति आर्दिक श्रद्धान्जली)