‘तिमी कता छौ? म चाँडै नेपाल आउँदै छु। नेपाल भ्रमणको मुख्य उद्देश्य तिमीलाई भेट्ने हो। तिमीले बेइजिङमा मलाई दिने भनेको उपहार यसपालि दिन्छौ होला नि?’
कार्मिनको इमेल पढेर म दङ्ङ परेँ। मेक्सिकोबाट अमेरिका गएर बसेकी कार्मिनसँग पाँच वर्षअगाडि बेइजिङमा भेट भएको थियो। एउटै ठाउँमा दुई वर्ष काम गरेपछि एकदिन ऊ सुटुक्कै अमेरिका फर्केकी थिई। यदाकदा इमेल लेख्ने कार्मिनले पछिल्लो दुई वर्षदेखि कुनै इमेल लेखेकी थिइन।
‘कहिले आउँछ्यौ? कृपया नेपाल आएर मलाई फोन गर। यसपटक तिम्रा लागि सबैभन्दा राम्रो उपहार दिनेछु।’
मैले तत्काल उसलाई इमेल लेखेँ। इमेल पठाएपछि मेरा आँखामा कार्मिन प्रत्यक्ष नाच्न थाली।
***
सन् २०१३ को अक्टोबरमा पाउने चिनियाँ राष्ट्रिय बिदामै आफूले पाउने वार्षिक बिदा थपेर नेपाल आएको थिएँ। दशैँतिहार मनाएर बेइजिङ फर्कँदा निकै जाडो बढिसकेको थियो। बेइजिङका विमानस्थलबाट बाहिर निस्केर ट्याक्सी चढ्ने लाइनमा उभिएँ। लाइन नागबेली परेर घुम्दै घुम्दै अगाडि बढ्दै थियो।
एउटी युवती धेरै ट्याक्सी ड्राइभरसँग झुकेर कुरा गर्थी। केही बेरमा अर्को ट्याक्सी ड्राइभरसँगै उसै गरी कुरा गर्थी। उसले चारवटाभन्दा बढी ट्याक्सी चहारेको हेर्दै आफ्नो लगेज तान्दै म लाइनमा घस्रिदै थिएँ। लाइनबाट अगाडि बढ्दै ट्याक्सी चढ्ने ठाउँमा पुग्दा पनि ऊ त्यसै गरिरहेकी थिई। उसलाई मैले नियालेँ। ठूला आँखा र बाटुलो अनुहारकी त्यो युवती नेपाली अथवा भारतीय हो भन्ने मेरो अन्दाज थियो।
‘तपाईंलाई कुनै सहयोग चाहिन्छ कि?’ ऊ अलमलिएको थाहा पाएर सोधेँ।
‘म अमेरिकाबाट आएकी हुँ। चाइना रेडियोमा जाने हुँ। कुनै पनि ट्याक्सी चालकले अङ्ग्रेजी नबुझ्दा रहेछन्। चिनियाँमा रहेको ठेगानालाई मैले प्रिन्ट गरेर बोकेकी थिएँ तर कता हराएँछु। तिमीलाई चिनियाँ आउने भए चालकलाई भनिदेऊ न ! म पहिलोपटक आएकीले कहाँ हो त्यो पनि स्पष्ट थाहा छैन।’
उसले एकैचोटि आफ्नो समस्या मलाई सुनार्ई।
उसको नाम कार्मिन रहेछ। म जहाँ जाँदै थिएँ कार्मिनको लक्ष्य पनि उही थियो। हामी एउटै ट्याक्सीमा चढ्यौँ। अतालिएकी कार्मिन मलाई भेटेर कुनै भिडमा हराएका बच्चाले अभिभावक भेटेजस्तै फुरुङ्ङ परी। उसको अनुहार ढुक्कसँग मुस्कुराइरहेको थियो। ट्याक्सीको डेढ घण्टाका यात्रामा उसले आफ्नो सबै परिचय मलाई बताई।
‘मेरा बुबाआमा मेक्सिकोबाट अमेरिका बसाइँ सरेका हुन्। अमेरिका जाँदा म चारवर्षे बालिका थिएँ। घरमा बुबाआमाले स्पेनिस भाषा मात्र बोल्ने भएकाले मेरो स्पेनिस भाषा पनि राम्रो छ। म चिनियाँ अन्तर्राष्ट्रिय रेडियोको स्पेनिस विभागमा काम गर्न आउँदै छु।’
डल्लो अनुहारमा हाँस्दा गालामा पर्ने डिम्पल उसलाई खुब सुहाउँथ्यो। अनुहारका संरचनाले मलाई पनि ऊ आफन्तजस्तै लाग्न थालेको थियो। वर्षौँअगाडिदेखि चिनेजस्तै ऊ धाराप्रवाहमा फत्फताइरहेकी थिई।
‘मैले त तिमीलाई भारतीय भन्ने ठानेको?’ उसका अनुहारको संरचनामाथि मैले प्रश्न उठाएँ।
‘हो नि हामीलाई रेड इन्डियन भन्छन्। हाम्रो कपाल र अनुहार अमेरिकन जस्तो छैन। मेक्सिकोमा बसोबास गर्नेहरु म जस्तै हुन्छन्। म आप्रवासी अमेरिकन हुँ।’ उसको अनुहार मैले मन पराएँ भन्ने सोचिछ कि के हो मजाले खिलखिलाउँदै भनी ‘बेइजिङमा मेरो केटो साथी पनि छ। उसको नाम ली ह्वा हो। उसले अमेरिकामा मसँगै पढेको हो। तर, अफशोच ऊ आज आफ्नी आमा बिरामी भएर लान्चौ गएको छ।’
हलुवा खाँदाखाँदै बालुवा चबाएँ मैले। उसतिर मैले त्यति चासो त राखेको थिइँन तर उसले आफ्नो केटो साथी भएको बेलैमा सङ्केत गरेर मबाट टाढा हुन खोजेको मैले बुझिहालेँ।
बेइजिङ बसाइका क्रममा उससँग राम्रै दोस्ती जम्यो। उसको केटासाथी लीसँग पनि मलाई परिचय गराई। उनीहरु दुबै जना मेरा कोठामा आउँथे। हामी तीनजना बेइजिङका स्वर्गको पूजा गर्ने मन्दिर, समर प्यालेस, ग्रेटवाल लगायतका ठाउँमा घुम्न जान्थ्यौँ। हिउँ परेका बेला दिनभर बेइजिङमा हिउँ खेलेर बिताएका थियौँ।
मेरो ल्यापटपमा भएका नेपालका फोटाहरु हेरेर ली र कार्मिनले नेपाललाई खुब राम्रो मान्न थाले। मैले उनीहरुलाई नेपाल पर्यटन बोर्डले निकालेको सिडी दिएँ।
‘तिम्री श्रीमती र छोराछोरीको फोटो मलाई पेनड्राइभमा दिन सक्छौ?’ एक दिन कार्मिनले गरेका प्रश्नले म अचम्ममा परेँ।
‘किन चाहियो मेरा परिवारको फोटो? तिमीले कतै दुरुपयोग गर्यौ भने !‘ मैले ठट्यौलो शैलीमा जिस्क्याउँदै उसलाई फोटा दिएँ।
‘दुरुपयोग गर्नलाई फेसबुकबाटै ताने पनि भैहाल्छ नि !’ उसले मेरा मुखमा बुझो लगाई र स्पष्टीकरण दिई ‘पछि म पनि यस्तै छोराछोरी जन्माउँछु। तिम्रा छोराछोरी मलाई असाध्य राम्रा लाग्छन्।’
छोराछोरीको प्रशंसा सुनेर म पनि मख्ख परेँ।
कार्मिन आफ्नो केटो साथी लीसँग नेपाल घुम्न उत्साहित थिई। फेब्रुअरीको अन्तिममा ली नेपाल भ्रमणमा जाने भयो। कार्मिनले अफिसबाट बिदा मिलाउन सकिन। नेपाल जाने अघिल्लो दिन साँझमा हामी तीनै जनाले रेस्टुरेन्टमा सँगै खाना खायौँ। मैले लीलाई काठमाडौँ, पोखरा, चितवन र लुम्बिनीको महत्त्व दर्शाउँदै सकेको जानकारी दिएँ।
‘सुरेश, ली चढेको प्लेन हरायो भन्ने समाचार आयो। तिमीले टिभी हेर्यौ?’ सन् २०१४ को मार्च ८ तारिख बिहानै कार्मिनका फोनले मलाई बिथोल्यो। उठेर मर्निङवाकमा जान लागेको थिएँ। बिहान अबेलासम्म सुतिरहने कार्मिनले बिहानै फोन गर्दा मलाई आश्चर्य लाग्यो। ऊ निकै अङ्खालिएकी थिई।
‘नेपालबाट फर्कँदा ली मलेसियन एयरलाइन्समा थियो। गत राति नै बेइजिङ आइपुग्नुपर्ने प्लेन अझै सम्पर्कमा नआएको समाचार छ। मलाई सार्है चिन्ता लागिरहेको छ।’ जुरेली जस्तै डालीडाली उफ्रिएर नाच्ने कार्मिन पखेटा काटिएर घाइते भएकी थिई।
‘मौसम खराब भएर कतै ल्यान्ड गर्यो होला। तिमी किन यसरी आत्तिएकी?’ मैले कार्मिनलाई सान्त्वना दिँदै भने ‘बेइजिङ एयरपोर्टमा फोन गर्दा पनि थाहा भइहाल्छ नि !’
मसँग कार्मिनलाई दिने अर्को जवाफ थिएन। कार्मिनका फोनले मेरो बिहानी हिँडाइलाई अवरुद्ध गर्यो। म टिभी खोलेर हेर्न थालेँ। बीबीसी र सीएनएनमा मेलेसियन एयरलाइन्सको प्लेन हराएको ब्रेकिङ न्युज आइरहेको थियो। मैले झ्यालबाहिर हेरेँ। फेब्रुअरी अन्तिम सातामा परेको हिउँ बिलाइसकेको भए पनि चिसो कम भएको थिएन। बाक्लो ज्याकेट लगाएर म कार्मिनको कोठातिर हानिएँ।
कार्मिन कपाल जुङ्ग्रुङ बनाएर टिभी हेर्न व्यस्त थिई। कोठा अस्तव्यस्त थियो। उसो त अरु बेला पनि उसको कोठा कहाँ व्यवस्थित हुन्थ्यो र, उसका अनुहारमा बेइजिङका आकाशमा जस्तै प्रदूषणको तुवालो थियो। बेइजिङका रूखबिरूवाहरु पात झरेर सुकेका सिक्रा बनेजस्तै उभिएरै टिभी हेरिरहेकी थिई ऊ।
म एक घण्टा कार्मिनका कोठामा बसेँ। हामीबीचमा मुस्किलले दुईचार वाक्य मात्र संवाद भए।
‘म तिम्रो लागि चिया बनाउँछु।’ म चियाको सौखिन हुँ भन्ने उसलाई थाहा थियो।
‘मैले भरखरै कोठामा खाएर आएको।’ नैराश्य घोलिएको चिया खान मलाई इच्छा थिएन। बिहान चिया नखाए पनि झुटो बोलेर म निस्किएँ।
त्यसपछि हरेक दिन कार्मिन उही बेपत्ता प्लेनका विषयमा मसँग कुरा गर्थी। एक महिनासम्म विमानको कुनै पत्तो लागेन। मलेसिया र चीनसँगै अमेरिका र अष्ट्रेलिया लगायतका शक्तिशाली राष्ट्रहरु खोजीमा लागे। विमानमा अधिकांश चिनियाँ यात्रु भएकाले खोजी कार्यमा सबैभन्दा बढी गम्भीर चासो चीनलाई थियो।
रेडियोमा जाँदा र फर्कँदा बाटामा कार्मिनसँग भेट हुन्थ्यो। सधैँ परैबाट अँगालो हालुंला झैँ गरेर मलाई झम्टने ऊ विमानसँगै आफ्नो केटा साथी बेपत्ता भएपछि अनदेखा गर्न थाली। तारा चम्किने उसका अनुहारमा कालो बादल मडारिएको थियो। अनिदा आँखामा उदास शरीर बोकेर गन्तव्यहीन बाटामा हिँडेको यात्री लाग्थी ऊ।
बाबुआमा गुमाएपछि लीले उसका जीवनमा वसन्त ल्याएको थियो। समय एकैछिनमा उल्टो घुम्यो र हरियाली खोसिएर उजाड बन्यो कार्मिनको जीवन।
बिदाको समय भइसक्ता ली र कार्मिन मलाई घुमाउन लिएर जान्थे। लीका अनुपस्थितिमा मैले कार्मिनलाई बगैँचा र पार्कतिर घुमाउन लाने विचार गरेँ। तर, उससँग बोल्दा र हाँस्ता पनि ख्याल गर्नुपर्ने भयो। बगैँचामा कार्मिन बेपत्तासँग रोइदेली भन्ने मलाई पीर थियो।
अप्रिलको मध्यतिर बोटमा हरिया पातहरु त थिएनन् तर फूलहरु ढकमक्क फुलेका थिए। आरु, पैयुँ र अन्य रङ्गीचङ्गी वनस्पतिले पार्कलाई सिँगारेको थियो। साना साना पोथ्राहरुमा पहेँला, बैजनी, राता, गुलाबी र सेता फूल फुल्ने वनस्पति देखाएर मैले भने ‘हेर त कार्मिन, यस वनस्पतिमा कुनै पात छैनन् तर कति राम्ररी फुलेका छन्। यिनीहरुले पनि चार महिनाको बेइजिङकोे कठ्याङ्ग्रिने जाडो र हिउँ अनि तुषारो सहेर यहाँसम्म आएका हुन्।’
कार्मिनका अनुहारमा केही मुस्कान देखेँ मैले। उसलाई सम्झाउन अरु पनि तानाबाना थपेर भन्न थालेँ ‘हरेक रातपछि बिहान हुन्छ। हरेक दिन ढलेपछि रात आउँछ। मान्छेका जिन्दगीमा सुख र दुःख सरोबरी र क्षणिक हुन्छन्। एउटापछि अर्को आइरहेकै हुन्छ। पुराना कुरा बिर्सिएर जिउनुपर्छ।’
म जसरी खुलस्त भनिरहेको थिएँ तर आफ्नै मन मानिरहेको थिएन। पहिले कार्मिन र म यसरी पार्कमा घुम्दा ली पनि सँगै हुन्थे। मैले कार्मिनलाई लीको अभाव महसुस पर्न नदिन विभिन्न गफ लगाइरहेको थिएँ। कार्मिन र लीसँग घुम्न गएका बेला हामी दुईजनाको सट्टा पनि कार्मिन नै बोल्थी। ली गुमाएपछि कार्मिन थोरै बोल्न थाली। त्यस्ती फरासिली कार्मिनमा छाएको गम्भीरता र उदासीपन पटक्कै सुहाउँदैनथ्यो।
अप्रिलपछि बेइजिङमा न्यानोपनसँगै बोटबिरूवामा पालुवा पलाउन थाले। कार्मिनका अनुहारमा पनि केही चमक थपिन थालेको थियो। बेपत्ता विमान खोज्ने काम भइरहेको थियो। यात्रीहरु जिउँदो भेटिने आशा थिएन। अप्रिलका अन्तमा बेपत्ता मलेसियन एयरलाइन्समा रहेका सबै यात्री अब जिउँदो नभेटिने भन्दै घोषणा गरियो।
घोषणा सुन्नेबित्तिकै कार्मिनले मलाई फोनमा भनी ‘सुरेश के अब ली भेटिन्न त? म कस्ती अभागी हगि। म पनि त्यतिबेला नेपाल गएको भए लीसँगै मर्ने थिएँ। यस्तो निःसार जिन्दगी जिउनु त पर्ने थिएन।’ सुँक्कसुँक्क आवाजमा थपी ‘अब चीनमा बस्दिनँ। अमेरिका फर्कन्छु।’
उसले अमेरिका फर्कन्छु भन्दा मलाई पनि नराम्रो लाग्यो। अमेरिकामा पनि उसका कोही थिएनन्। उसलाई अन्य तरिकाबाट एक्लोपन हटाउने उपाय सोच्न थालेँ।
भोलिपल्ट मे एक तारिख भएकाले तीनदिनको बिदा थियो। बेइजिङमा गर्मी पनि निकै बढेका ले मैले कार्मिनलाई चिडिया खाना घुम्न जाने प्रस्ताव गरेँ। उसले गर्हौँ मन लिएर मेरो प्रस्ताव स्वीकार गरी।
हामी जमिनमुनिबाट कुद्ने सबवे चढेर चिडियाखाना पुग्यौँ। श्रमिक दिवसको बिदा भएकाले चिडियाखानामा बगुन्द्र मान्छे थिए। जनावर हेर्दा भिडमै किचिएर मरिन्छ कि जस्तो लाग्यो। जसोतसो हामीले आधाउधी जनावर हेर्न पायौँ। हाम्रो रोजाइ पान्डा हेर्ने थियो। भिडभित्रबाट पान्डा चियाउन पाए पनि फोटो खिच्न पाइएन। कङ्गारु मेरा लागि नयाँ जनावर थियो।
‘ली भएको भए म पनि त्यसरी नै बच्चो बोक्ने थिएँ’ कार्मिनले कंगारु देखाउँदै खाटो बसेको घाउ कोट्याई। उसको भनाइले कङ्गारु पनि ठाडा कान बनाउँदै उफ्रेर अर्कोपट्टि गयो। मैले उसका कुरालाई नसुने जस्तै गरेर फोटो खिच्ने निहुँमा अर्कातिर लागेँ।
सेतो बाघ, वनमान्छे, सुनौलो बाँदर, अष्ट्रिच, दुई सिँगे गैडा, उँट, जेब्रा, जिराफ जस्ता जनावर हेरेर पनि कार्मिनले लीलाई भुल्न सकिन। बाँदरको प्रेमक्रिडाले ऊ बल्झन्थी। सुगाको आपसी प्रेम देख्दा म कार्मिनपट्टि हेर्न सक्तिनथेँ।
शितल छहारीमा थकाइ मार्दै मैले उसलाई आइसक्रिम खुवाएँ। आइसक्रिमभन्दा छिटो कार्मिनका आँखा पग्लिए।
चिडिया खानाबाट निस्केपछि मैले नजिकैका बजारमा कार्मिनलाई घुमाएँ। बजार घुम्दा घुम्दै साँझको छ बज्यो। मलाई भोक लागिरहेको थियो। कार्मिनले पनि भोक लागेको बताएपछि हामी एउटा रेस्टुरेन्ट गयौँ।
‘सुरेश मलाई बियर खान मन लाग्यो’ उसले भनी। पहिले उसले त्यति बियर पिएको मलाई थाहा थिएन। लीसँग मैले बियर पिउँदा ऊ कफी खान्थी। ‘म बियर खाएर पीडा बिर्सन चाहन्छु। प्लिज मलाई साथ देऊ’ उसले मेरो हात पक्रिएर भनी।
द्विविधा र ग्लानीसँगै म बियर पिउन थालेँ।
कार्मिनले अलिक बढी नै पिएजस्तो लाग्यो। समय पनि बेलुकाको नौ बजिसकेको थियो। हामी कोठा फर्कन ट्याक्सीमा बस्यौँ। कार्मिनका खुट्टा र बोली लर्बरिएका थिए। मे दिवस भएकाले राति नौ बजे पनि डरलाग्दो ट्राफिक जाम थियो। हामी साढे दस बजे बासस्थानमा आइपुग्यौँ। कार्मिन त ट्याक्सीभित्रै मेरो कुममा टाउको राखेर निदाइसकेकी थिई। उसलाई कोठामा छोडेर मैले बिदा मागेँ।
‘सुरेश आज मलाई एक्लै नछोड प्लिज। अब मेरा जिन्दगीमा ली आउँदैन। म साँच्चै एक्लै भएँ। तिमी पनि मलाई छोडेर जान्छौ?’कार्मिनले मलाई अँगालेर लर्बरिएका स्वरमा भनी ‘प्लिज तिमीले पनि मलाई छोडेर गयौ भने ...।’
कार्मिनको यस्ता कुराले म अवाक् भएँ। उसलाई ओछ्यानमा सुताएर म फुत्किन चाहेको थिएँ। तर उसले छोड्नै मानिन। ‘म कोठामा गएर श्रीमती र छोराछोरीसँग कुरा गर्नु छ। तिमी सुत। म भोलि बिहानै आउँछु।’ मैले बहाना बनाएँ।
‘मलाई थाहा छ तिम्रा श्रीमती र छोराछोरी छन्।’ आँसुले भरिएका आँखा तर्दै उसले भनी ‘मलाई तिमीले जीवनभरि त साथ दिन सक्दैनौ। आज चाहिँ साथ देऊ। म मातेकी छु। म यो नसामा जे पनि गर्न सक्छु। भोलि तिमी पछुताउनेछौ कार्मिनलाई गुमाएर।’
‘यो केटी के भन्दै छे?’ द्विविधा परेँ। बसौँ कि नबसौँ। कार्मिनको निर्दोष अनुहार र उसको वियोगीपीडाले मभित्रको मानवीय भाव छचल्कियो। मन दर्हो बनाएर त्यस रात मैले कार्मिनसँग बिताएँ।
बियरका नसाले कार्मिन भुतभुताउँदै थिर्ई। केही समयपछि निदाई। ऊ निदाएपछि आफ्ना कोठामा जाऊँ कि भन्ने सोचाइ आयो। आ भै हाल्यो भनेर म त्यहीँ सुतेँ। एक दुई बजेसम्म त निद्रै लागेन। राति कति बजे निदाएँ बिहान त कार्मिनले कफी खान बोलाउँदा पो ब्युझिएँ। सात बजिसकेको रहेछ। अरु बेला साढे पाँचमा उठेर मर्निङ वाकमा जाने मन्छे म एउटी महिलाका साथमा सात बजेसम्म सुतिरहेको थिएँ।
‘तिमीलाई राति कोठा जान रोकेकामा मलाई माफ गर ल!’ कार्मिनले हँसिलो अनुहार बनाउँदै भनी ‘हिजो अलिक बढी नै लागेछ। तिमी चाहिँ पटक्कै मातेका थिएनौ। धन्न हामी दुबै जना मातेको भए के के दुर्घटना हुने थियो।’ कार्मिन खितखिताई।
म कफी खाएर निस्किएँ।
अझै दुई दिन बिदा बाँकी थियो। कोठामा आएर नुहाइधुवाई गरेर सुतेँ। रातभरको अनिदो भएकाले म चाँडै निद्रामा हराएँ। ढोकाको घन्टीले मलाई ब्युझायो। दिनको एक बजेको रहेछ। मैले ढोका खोलेँ। कार्मिन बाहिर उभिएकी थिई।
‘माफ माग्न आएकी’ हातको फूल मलाई दिँदै भनी ‘के हो दिनभरि सुतिराखेका तिमी? रातभर मेरा डरले कि श्रीमतीका डरले निदाएनौ हँ?’ उसले मेरो कपाल सुम्सुम्याउँदै भनी ‘तिमीले फोन नउठाएकोमा पक्कै सुतिराखेका छौ भन्ने सोचेर आएकी।’
मैले जिउ तन्काउँदै फोन हेरेँ। कार्मिनका दुईवटा मिसकल रहेछन्।
दिउँसो नजिकैको वान्ता बजारतिर घुम्न गयौँ। साँझ कार्मिनका कोठामा खाना खाएर एघार बजेतिर म कोठामा फर्किएँ।
कार्मिनसँग मेरो घनिष्टता बढ्न थाल्यो। कहिले ऊ मेरो कोठामा आउँथी र आज यतै बस्छु भनेर मसँगै रात बिताउँथी। कहिले म उसका कोठामा गएर रात बिताउँथे। एउटी बेसहारालाई जीवन दिन सकेकामा आत्मसन्तुष्टि थियो।
सेप्टेम्बर लागेसँगै दशैँको छेको बनाएर म बिदामा नेपाल जाने समय आयो। एकमहिने बिदामा म नेपाल जानुभन्दा अगाडि कार्मिनलाई सोधेँ ‘नेपालबाट के उपहार ल्याइदिऊँ?’
‘ली ह्वाको सम्झना गराउने तिमीलाई मन पर्ने जे ल्याए पनि हुन्छ’ उसको अनुहार फेरि उदासियो।
नेपालबाट कार्मिनका लागि चाँदीको करूवा उपहार लिएर एक महिनापछि बेइजिङ फर्किएँ। भोलिपल्टै कार्मिनलाई फोन गरेँ। उसको मोबाइल स्विच–अफ रहेछ। दिउँसो साथीहरुबाट थाहा पाएँ। कार्मिन त रेडियोको जागिर छोडेर अमेरिका फर्किइछे।
अकस्मात् मलाई खबर नगरीकन कार्मिन फर्केकीमा नमज्जा लाग्यो। बेइजिङका भिडमा पनि आफूलाई एक्लो लाग्यो।
इमेल लेखेँ ‘निष्ठुरी किन हतारमा गयौ? मैले तिमीलाई नेपालबाट उपहार ल्याइदिएको थिएँ।’
‘तिमीसँग बिदा माग्ने आँट थिएन। त्यही भएर सुटुक्क भागेकी। तिम्रो उपहार त मसँगै छ। त्यो उपहार समालेर राख्नू।’ भोलिपल्ट कार्मिनको प्रत्युत्तर पाएँ।
त्यसपछि कहिलेकाहीँ इमेल संवाद हुन्थ्यो। एक वर्षपछि काठमाडौँमै बसेर रेडियोको काम गर्ने गरी बेइजिङबाट फर्किएँ। विगत दुई वर्षदेखि उसले इमेल लेखेकै थिइन। अकस्मात् इमेलमा उसले नेपाल आउने जनाएपछि म यसै पुलकित भएँ।
***
कार्मिन तीन वर्षको छोरो लिएर मेरा घरमा आई। कार्मिनजस्तै उसको छोरो पनि एसियाली अनुहारको थियो।
‘हेर बिहे गरेर छोरो पनि तीन वर्षको बनाइछौ। बिहे गर्न हतार भएर पो बेइजिङबाट सुटुक्कै भागेकी?’ मैले कार्मिनलाई व्यङ्ग्यात्मक प्रश्न गर्दै स्वागत गरेँ ‘खोई त तिम्रो श्रीमान्?’
‘ऊ पनि केही दिनपछि आउँछ। म अवश्य तिमीसँग परिचय गराउँछु।’ कार्मिनले नमस्ते गर्दै भनी ‘तिम्रा छोराछोरी त ठूला भइसकेछन्। म सधैँ कम्प्युटरमा तिम्रा छोराछोरीको अनुहार हेर्ने गर्छु।’
‘यस बाबुको अनुहार त हाम्रो छोरा निरजसँग मिल्दो रहेछ। ठ्याक्कै दाजुभाइजस्तै।’ श्रीमती राधिकाले भनिन्।
कार्मिन नेपालमा आएर ठमेलको एउटा होटलमा बसेकी थिई। मैले केही दिन काठमाडौँ घुमाउन सहयोग गरेँ। छोराछोरी र श्रीमतीसँगै कार्मिन र उनका छोरालाई लिएर चिडियाखाना घुमाएँ। चिडियाखाना घुम्दा कार्मिनले बेइजिङकोे चिडियाखाना घुमेको सम्झना गरी। उससँग अब पहिलेको जस्तो शून्यता थिएन। बिहे गरेर आफ्नो लोग्ने र छोरासँग सन्तुष्ट भएको उसका अनुहारले दर्शाइरहेको थियो।
‘यो केटी त तपाईं भनेपछि हुरुक्कै हुन्छे त, उसको लोग्नेले शङ्का गर्दैन यसलाई?’ एक दिन राधिकाले भनिन्।
‘तिमीले कार्मिनमाथि शङ्का गरेकी कि ममाथि?’ उनका कुराले मलाई झसङ्ङ बनायो। बेइजिङमा कार्मिनसँगको विशेष सम्बन्धलाई मैले गोप्य राखेको थिएँ।
‘केटा मान्छेको के भर!’ उनले आँखा तर्दै भनिन् ‘केटी मान्छे त्यसमाथि बिहे भएर छोरो जन्माइसकेपछि पनि अर्काका लोग्नेसँग कति सारो लेपासिएकी नि !’
‘उनीहरु साथीसँगका सम्बन्धलाई खुलस्त राख्छन्। कुनै नराम्रो काम पनि गर्दैनन्। हाम्रो समाजमा चाहिँ भित्र एक खालको सम्बन्ध हुन्छ, बाहिर देखाउने अर्कै हुन्छ।’ मैले दूधले नुहाउने प्रयास गर्दै भनेँ। तर, मैले राधिकाका अनुहारमा सिधा हेर्न सकिँन।
‘उसको लोग्ने आउने रे। अनि लोग्नेको अगाडि पनि तपाईंसँग त्यसरी नै कुरा गर्छे त?’ उनले थप स्पष्टीकरण खोजिन्।
‘जब मान्छेले कुनै गल्ती गर्दैन, ऊ कोहीसँग पनि डराउँदैन। उनीहरुका समाजमा एकअर्कालाई शङ्का गर्दैनन्, विश्वास गर्छन्।’ मैले आश्वस्त बनाउने प्रयास गरेँ।
कार्मिनले हामीलाई पोखरा, लुम्बिनी र चितवन सँगै घुम्न कर गरी। निरज र नीर्विजाको स्कुल थियो। उसलाई आफूहरु नभ्याउने बताए पछि कार्मिनले मेरी श्रीमतीतिर फर्किएर अनुरोध गरी ‘सानो छोरो छ। होटल बुक पनि गरेको छैन। मलाई सहयोग गर्दैनौ सुरेश? तिमीले चिनेका कोही साथी ती ठाउँमा भए सहयोग गर्न भनिदेऊ न प्लिज !’
‘तपाईंको काम पनि छैन। यिनीहरुलाई घुमाएर ल्याउनू नि त।’ राधिकाले भनिन् ‘कार्मिन हामी पाहुनालाई सत्कार गर्छौँ। तिमीले चिन्ता लिनुपर्दैन सुरेशले सहयोग गर्छ।’
कार्मिनको अनुहार उज्यालो भयो। उसलाई ढुङ्गा खोज्दा देउता मिले जस्तो भएको थियो। मलाई चाहिँ बाँदरलाई लिस्नु नै भयो।
मैले उसलाई पोखरा, लुम्बिनी र चितवन पनि घुमाएँ। त्यस बेला छोराछोरीका पढाइले गर्दा ममात्र कार्मिन र उसको छोरासँग गएँ। कार्मिनसँग मेरो सम्बन्ध बेइजिङको जतिक्कै घनिष्ट रह्यो। उसैका करकापले गर्दा हरेक साँझ हामी बियर पिउँथ्यौँ। नसामा हाम्राबीचमा कुनै सीमा रहेन।
‘यी पश्चिमा खैरेनीहरुलाई मन मिलेपछि को आफ्नो को पराई।’ म सोच्ने गर्दथेँ ‘साथमा एक महिना पनि लोग्ने नहुँदा खेताला लगाउने उनीहरुको संस्कृति नै हो।’
अनुहार एसियालीकै जस्तो भए पनि अमेरिकामा बस्ने भएर उसलाई म खैरेनी भनेर दुस्कार्दै थिएँ। बिहान उठेर बाथरुमको ऐना हेर्दा मेरो अनुहार चिथोरिएको हुन्थ्यो। कसले चिथोर्यो मेरो अनुहार? समाजले?श्रीमतीले? कार्मिनले? खेतालाले? मलाई ऐना हेर्न डर र ग्लानी लाग्थ्यो। उही काम बेइजिङमा हुँदा म ढुक्क थिएँ। तर, अहिले आफ्नै छायासँग पनि म झस्किँदै थिएँ।
दशैंभन्दा दुई हप्ताअगाडि काठमाडौँ टेकेकी कार्मिनले मेरा साथमा लागेर गोपालको बिहे खान भ्याई। उसले गोपाललाई पनि बेइजिङमै चिनेकी थिई। त्यति बेला गोपालले लामो कपाल पालेको थियो। बिहेमा कपाल काटेर अझ युवा बनेका गोपाललाई कार्मिनले ठम्याउन सकिन। उसले गोपालका बिहेमा मेरी श्रीमतीको कुर्ता सुरूवाल लगाएर गएकी थिई। नेपाली गीतमा अन्य महिलासँग कार्मिन पनि खुब नाची।
दुई हप्ताका लागि मात्र नेपाल आएकी कार्मिन फर्कने टिकट सारेर दसैँमा हाम्रो परिवारसँगै इलाम जाने भई। कन्याम चियाबारीको मनोरम दृश्य, फिक्कल बजारको ललीपप, नयाँबजारको चिसो हावाले उसलाई खुब मोहित बनायो। हामी दसैँमा टिका लगाउन जो जो आफन्तकोमा गयौँ कार्मिन पनि आफ्नो छोरा ह्यारीलाई लिएर सँगसँगै गई। टिका थापी। दशैंदेखि तिहारसम्म इलाम बसेर हाम्रा सारा आफन्तका घर चहारी। सानासाना नानीहरुसँग टुटेफुटेको नेपाली पनि बोल्न सिकी। इलाममा सबैकी प्यारी भई कार्मिन। तिहारमा देउसी खेल्दा उसले मोबाइलमा थुप्रै भिडियो रेकर्डिङ पनि गराई।
झन्डै एक महिनाको इलाम बसाइपछि हामी सँगै काठमाडौँ फर्कियौँ। काठमाडौँ फर्किएपछि कार्मिन ठमेलको पहिलेकै होटलमा बस्न थाली। तीन सातापछि फर्किने बताएकी कार्मिनले उसको श्रीमान् नेपाल आउन ढिलो भइरहेको बताउने गर्थी।
***
‘साँची कार्मिनलाई के उपहार दिने होला?’ मैले राधिकालाई सोधेँ ‘उसले फर्कने बेलामा राम्रो उपहार मागेकी छे मसँग। पहिले बेइजिङमा पनि उपहार दिन पाएको थिइनँ।’
‘दिनु नि ठमेलतिर एउटा पस्मिना किनेर, शनिबार परेकाले छोरी निर्बिजाको कपाल काट्दै गरेकी राधिकाले भनिन् ‘इलामबाट ल्याएको चिया दिए पनि हुन्छ नि !’
‘चिया त आमाले घरबाटै हिँड्ने बेला उसलाई दिनुभएकै छ’ मैले विकल्प खोजेँ।
अन्त्यमा हामीले कार्मिनलाई राम्रो कुर्तासुरूवाल किनेर दिने विचार गर्यौँ। राधिकाले उसलाई लिएर न्युरोड जाने सल्लाह भयो।
‘अमेरिकानेलाई केको कुर्ता सरुवाल नि, बरू टिसर्ट पेन्ट किनिदिनू नि’ छोरी निर्बिजा हामीलाई जिस्कयाउँदै थिई।
‘उसलाई कुर्तासुरूवाल निकै सुहाउँछ। मेरो कुर्ता सुरूवाल लगाउँदा त इलाममा सबैले उसलाई मेरै बहिनी ठाने’ राधिकाको ठहर मलाई पनि मन पर्यो।
मेरो मोबाइलमा घन्टी बज्यो। मैले फोन उठाएँ।
‘हेल्लो कार्मिन हामी तिम्रै कुरा गर्दै थियौँ। तिम्रो आयु त लामो छ’ हाम्रा कुराकानीको सन्दर्भलाई जोड्दै भनँे।
‘मलाई सम्झिएकोमा धन्यवाद ! तिम्री श्रीमती र छोराछोरीलाई सन्चै छ?’ कार्मिनले सोधी।
मैले सबै ठीक भएको जवाफ दिन नभ्याउँदै उसले भनी ‘तिम्री श्रीमतीलाई मेरो नमस्ते र छोराछोरीलाई न्यानो माया सुनाइदिनू ल ! मैले त तिमीहरुसँग बिदा माग्नका लागि फोन गरेकी।’
‘केको बिदा? कहाँ जाने भयौ? कति दिनका लागि हो नि?’ मैले तीनवटा प्रश्न एकैचोटी सोधेँ।
‘म अहिले एयरपोर्टमा छु। अमेरिका फर्किन लागेकी। तिमीलाई पहिले जानकारी नदिएकीमा नरिसाऊहै। तिम्रो लागि केही सामान होटलको रिसेप्सनिष्टकामा छोडेकी छु। त्यहाँ एउटा पत्र पनि छ। पत्र चाहिँ तिमी मात्र पढ्नू।’
कार्मिनका जवाफले म अवाक् भएँ। उसलाई उपहार दिने हाम्रो योजना भताभङङ भएकामा नमज्जा लाग्यो। अकस्मात् कार्मिन फर्किने कुराले राधिकालाई पनि बेखुसी बनायो।
‘के परेछ त त्यस्तो तुरून्तै फर्किनुपर्ने? कुनै इमरजेन्सी पर्यो होला। नत्र अझै तीन साता बस्छु भनेकी थिई। उसको श्रीमान् पनि आउने भनेकी थिई।’ राधिका चुकचुकाउन थालिन्।
म खाना खाएर ठमेल हानिएँ। होटलमा जानासाथ रेसेप्सनिष्ट बहिनीले मलाई एउटा पोको दिइन्। त्यस होटलमा म कार्मिनलाई भेट्न धेरैचोटि गएकाले उसले मलाई चिनीसकेकी थिई। नानीहरुका लागि केही चकलेट किनेर कार्मिनले छोडेकी रहिछे। मैले पोकामा यताउता छामछुम पारेँ। पत्र कतै पनि भेटिन। रिसेप्सनकी बहिनीले घर्राबाट बन्द खाम झिकेर मुस्कुराउँदै मलाई दिई। म सोफामा बसेर चिठी पढ्न थालेँ।
‘प्यारो साथी सुरेश धेरै धेरै माया !
तिमीले यो पत्र पढ्दा म नेपाली आकाशलाई नाघिसकेको हुनेछु। तिमीसँग प्रत्यक्ष रुपमा बिदा माग्न सकिनँ अथवा भनौँ बिदा माग्ने आँटै आएन। पहिले बेइजिङबाट छुटिने बेला पनि अन्तिम बिदा मागेकी थिइनँ।
तिमीसँग बेइजिङमा भएको पहिलो भेट आकस्मिक भए पनि नेपालमा भएको दोस्रो भेट आकस्मिक थिएन। म निकै ठूलो मिसन लिएर नेपाल आएकी थिएँ। तिमी र तिम्रा परिवारलाई अमेरिका लिएर जाने सोचाइ बनाएर सोही अनुसारको कागजपत्र मिलाउने मेरो सोचाइ तिमीलाई भेटेपछि परिवर्तन भयो। विदेशमा गएर त्यतै बस्ने सोचाइ तिमीमा मैले पटक्कै पाइनँ। त्यसमाथि तिम्रो घर, परिवार, आफन्त, समाज, तिम्रो सामाजिक कार्य सबैबाट मलाई डाहा लाग्यो। ती सबै कुरा खोस्न हिम्मत जुटेन।
सुरेश ! म मेक्सिकोबाट अमेरिका गएर बसोबास गरेको तीस वर्ष भयो। मेरा बाबा डाक्टर र आमा इन्जिनियर भएकाले अमेरिकामा उहाँहरुसँग प्रसस्त सम्पत्ति थियो। बाबाको दुर्घनामा मृत्यु भएपछि आमालाई डिप्रेसन भयो। म आफू पनि नर्स भएकीले आमाको राम्रो रेखदेख गरेँ। अन्ततः आमाले पनि प्राण त्याग गर्नुभयो। म नर्सिङसँगै पत्रकारिताको अभ्यास पनि गर्न थालेँ। मलाई अङ्ग्रेजी भाषासँगै स्पेनिस भाषा पनि आउँथ्यो। अमेरिकामा एउटै विश्वविद्यालय पढेका ली ह्वाले मलाई चीनको रेडियोमा स्पेनिस भाषामा काम गर्न बोलाए। त्यो त तिमीलाई पनि थाहा छ। त्यहीँ तिमीसँग भेट भयो।
म बेइजिङबाट फर्किएपछि आप्रवासी नेपालीहरुका बारेमा खोजी र अनुसन्धान काममा जुटेँ। म आफू पनि आप्रवासी भएकीले यो मेरो रूचिको विषय थियो। तिमीसँग भेट भएपछि मेरो नेपालसँग भावनात्मक सम्बन्धको विकास भइसकेको थियो। मैले पहिले पनि स्वास्थ्यसम्बन्धी त्यस्ता खोज र अनुसन्धानका काम गरेकाले नयाँ काम गर्न सजिलो भयो। एकातिर नर्सिङ पढेकी र पत्रकारिताले मलाई दुबै विषयमा राम्रो तालमेल दिलायो।
अमेरिकामा बसोबास गर्ने नेपालीहरु पहिले नेपालमा छँदा कोही सरकारी अधिकारी र कोही ख्यातिप्राप्त कलाकार रहेछन्। कोही नेपालका राष्ट्रिय खेलाडी र कोही राजनीतिक नेताहरु पनि रहेछन्। मैले नेपालका पत्रकार र साहित्यकारहरु पनि भेट्दा कतै तिमी पनि अमेरिका आउँछौ कि जस्तो लागेको थियो। नेपालमा कसैले निजी स्कुल खोलेर राम्रो व्यवसाय गरिरहेकादेखि राजनीति गरेर मन्त्री भएकाहरु पनि मैले भेटेँ। उनीहरु सबै नेपालबाट अमेरिका गएर कोही सुपर मार्केटमा काम गरिरहेका थिए भने कोही रेस्टुरेन्टमा काम गर्दा रहेछन्। कोही पेट्रोलपम्पहरुमा काम गर्दथ्ये। प्राय: नेपालीहरुले दैनिक सरदर १८ घण्टा काम गरिरहेको पाएँ।
श्रीमान्ले रातको समय काम गर्ने र श्रीमतीले दिउँसोका समयमा काम गर्ने हुनाले उनीहरुको भेटै नहुनेसम्मका परिस्थितिले श्रीमतीले अर्कैसँग विवाह गरेका पनि रहेछन्। छोराछोरीहरुलाई पनि उचित हेरचाह नपुगेर कुबाटामा लागेकाले अभिभावक सधैँ तनावमा हुँदा रहेछन्। यस्ता विविध समस्याले उनीहरुमा डिप्रेसन लगायतका गम्भीर स्वास्थ्यसमस्या पनि देखिएको तथ्याड्ढले देखायो।
कोही डिभी परेर अमेरिका आएका रहेछन् भने कोही विभिन्न गोष्ठी तथा सेमिनारमा भाग लिन आउँदा लुकेर बसेका रहेछन्। कलाकारहरु चाहिँ सांस्कृतिक कार्यक्रमको खोल ओडेर अमेरिका प्रवेश गर्ने र भोलिपल्टदेखि नै रेस्टुरेन्टमा काम गर्न थाल्दा रहेछन्।
मैले नेपाली आप्रवासीमै अनुसन्धान गर्नुको मुख्य कारण तिमी थियौ। बेइजिङबाट फर्केपछि अमेरिकामा कुनै एसियाली व्यक्ति देख्यो कि नेपालबाट हो भनेर सोध्न मन लाग्थ्यो। म नेपालीहरुसँग कुरा गरेर तिम्रो झझल्को मेट्न चाहन्थेँ। उनीहरु जब आफ्ना समस्याहरु मलाई राख्थे ती सबै समस्या तिम्रा पनि हुन् भन्ने लाग्थ्यो। ‘नेपाल सुन्दर भएर के गर्ने र त्यहाँ बिजुली पनि छैन। भ्रष्टाचार मात्र छ। न बालबच्चा पढाउन स्कुल छ न सार्वजनिक सवारी साधन।’ सबैले यसै भन्थे।
उनीहरुको कुरा सुनेपछि मैले तिमी र तिम्रो परिवारलाई लिएर अमेरिका जाने विचार गरेँ। त्यही योजना बनाएर म कागजपत्र मिलाउन नेपाल आएँ। म तिमीलाई सरप्राइज दिन चाहन्थेँ।
नेपाल आएर तिम्रा घरमा पुग्दा मभित्र भएका भ्रमहरु चिरिँदै गए। तिम्रो काठमाडौँ बसाइ छोराछोरी र साथीहरुसँगको मित्रता अनि विश्वकै अत्यन्त सुन्दर नगरी इलाममा रहेको घर र तिम्री आमा। मैले उनीहरुलाई भेट्दा लाग्यो नेपालमा जस्तो आनन्द र रमाइलो जीवनशैली कहिँ पनि छैन। नेपालमा हुने सबै सामाजिक क्रियाकलापमा त म सहभागी हुन सकिनं तर केहीमा भाग लिएँ। जसले मलाई नेपालका बारेमा आँखा उघार्न सहयोग गरे। तिम्री श्रीमती राधिकाले आफ्नो ब्युटीपार्लर चलाएर पनि बिहानबेलुकै भान्सामा आनन्दसँग खाना बनाएको देखेर मैले हप्तौँसम्म फ्रिजमा खाना कोचेर खाने र बाटो बाटोमा बर्गर र स्यान्डविच कोपर्दै दौडने अमेरिकाका आप्रवासी सम्झिएँ।
प्यारो सुरेश ! मैले तिमीलाई अमेरिका लगेर तिम्रो यति खुसी र सुखका संसारलाई तहसनहस बनाउन मन लागेन। त्यसकारण मैले नेपाल आउनाको पहिलो उद्देश्यलाई त्यागेँ। यो कुरा तिमीलाई प्रत्यक्ष रुपमा भन्न मन पनि लागेन।
अब नेपाल आउनाको अर्को उद्देश्य लेख्दै छु।
सुरेश ! तिमीले मेरो छोराको बुबासँग परिचय गर्नखोजेका थियौ। मैले उनी अमेरिकामा छन् र केही दिनपछि नेपाल बोलाउँछु भनेकी थिएँ। आज तिमीसँग मेरा छोराका बाबुको परिचय गराउँदै छु। कृपया मलाई गलत नठान अनि यो कुरा तिमी आफूमा मात्र सीमित राख है, प्लिज !
तिम्री श्रीमतीले पहिलो भेटमै भनेकी थिइन् ‘यो बाबुको अनुहार त हाम्रो छोरासँग ठ्याक्कै मिल्दो रहेछ। दाजुभाइजस्तै।’ तिमीलाई याद छ? मलाई त्यो वाक्य सधैँ याद रहन्छ। आखिर एउटी आमाको जस्तो भावना अरुमा कहाँ हुन्छ र ! तिमीले त्यतिबेला केही भनेनौ। तिमीले पनि केही भन्छौ भन्ने मैले अपेक्षा गरेकी थिएँ तर वास्तै गरेनौ।
मैले बेइजिङबाट अमेरिका फर्कँदा तिम्रो नासो पेटमा बोकेर लगेकी थिएँ। अन्यथा नसोच म तिमीसँग बिहे गर्न चाहन्थेँ तर तिमी पहिले नै विवाहित थियौ। छोराछोरी र श्रीमतीसहितको तिम्रो सुन्दर संसार म भत्काउन चाहन्नथेँ। तिमीसँग बेइजिङमा बिताएका क्षणहरु नै मेरा जीवनकै सबैभन्दा सुन्दर र सरल क्षण थिए। लीको हवाइजहाज दुर्घटनामा भएको मृत्युले म साँच्चै एक्ली र असहाय बनेकी थिएँ। मलाई त्यतिबेला बाँच्नुको कुनै अर्थ छ जस्तो लागेकै थिएन। त्यस बेला तिमीले साथ दियौ। मलाई बाच्नुपर्ने अर्थ सिकायौ। अनि संसारको मर्म पनि बुझायौ। नर्सिङ पढेकी मैले जब आफूभित्र तिम्रो नासो रहेको थाहा पाएँ तब म आकस्मिक रुपमा अमेरिका फर्किएँ। तिमीसँग भेटेर बिदा माग्ने मसँग साहस थिएन। मेरा पेटभित्रको तिम्रो उपहारका बारेमा तिमीलाई बताएर म तिम्रो स्वस्थ दिमाग प्रदूषित बनाउन चाहन्नथेँ।
अमेरिका गएर मैले जब ह्यारीलाई जन्म दिएँ। अब मेरो छोरो ह्यारी तीन वर्षको भइसक्यो। उसलाई खेल्नका लागि साथी चाहियो। हाम्रो ह्यारीलाई पनि भाइ अथवा बहिनी चाहिएको छ। मैले ह्यारीलाई भाइ अथवा बहिनी दिनका लागि तिमी साथमा थिएनौ।
यस पटक पनि मैले तिमीबाट उपहार लिएको थाहै पाएनौ। पहिलेजस्तो यसपटक लामो समय तिमीबाट लुकाउन चाहन्न। हो, म तिम्रै नासो लिएर फर्कँदै छु। अब ह्यारी दाजु बन्ने भएको छ। कृपया यो कुरा तिम्री श्रीमतीलाई नभन है ! कुनै पनि महिलाले यस्तो कुरा मन पराउँदैनन्।
प्यारो सुरेश तिमीले मलाई बेइजिङ र काठमाडौँबाट संसारकै सबैभन्दा राम्रो उपहार दिएका छौ। मलाई थाहा छ नेपाली समाजमा यस्ता कार्यलाई राम्रो मानिन्न। यी दुईवटा उपहार मेरो जीवनका सर्वोत्कृष्ट प्राप्ति हुन्। अब म बाँचुन्जेल ह्यारी र जन्मने अर्को सन्तानमा तिम्रो अनुहार नियाल्नेछु। म चाहन्छु अर्को सन्तान छोरी जन्मियोस् नीर्बिजाजस्तै। अर्को पटक नेपाल आउँदा दुबै सन्तानलाई लिएर आउनेछु। अबको भेटमा चाहिँ तिम्रो इच्छा अनुसारको उपहार लिनेछु।
सुरेश, मलाई माफ गर !
उही कार्मिन।
पत्र पढेपछि मलाई झड्का लाग्यो। मैले बेइमानी गरेँ अथवा ममाथि बेइमानी भयो? कार्मिनसँग बेइजिङमा बिताएका सुनौला क्षणसँगै लुम्बिनी, पोखरा र चितवनका सम्बन्धहरुले मलाई कोर्रा हान्न थाले। लोग्नेको अभावमा खेताला लगाउने हिजोकी कार्मिन र आजकी कार्मिनको तुलना गरेँ। फेरि भेट भएमा म कार्मिनसँग बोल्न सकूँला? आँखा जुधाउन सकूँला?
म भासिँदै थिएँ, नासिँदै थिएँ, क्रमशः टाकुराबाट गिर्दै थिएँ। म भाग्दै थिएँ समाज र परिवारबाट। म कार्मिनलाई न गाली गर्न सक्थेँ न त आभार व्यक्त गर्न नै। पश्चात्तापहरु धेरै थिए। कार्मिनभन्दा ह्यारीको झझल्कोले मलाई सताउन थाल्यो।
मकालु प्रकाशनद्वारा प्रकाशित आचार्यको कथा संग्रह‘उपहार’को पुष्तक अंश। पुस्तक शुक्रवारदेखि बजारमा आएको हो। पुस्तकको मूल्य २५० रूपैयाँ राखिएको छ।