सानो,मिठो,शान्त र अनुपम
छ भन्छन् देख्नेहरु डाक्टरको जिन्दगी
तर भोग्नेलाई थाहा छ
यहाँ आमा बुवाको हातको टिका थाप्न
दशैंमा पनि बिदा पाईँदैन।
झुलेका होलान् गैरी खेतका धानहरु
फुलेका होलान् पातीहरु
बजेका होलान् मालश्री धुनहरु
घुमेका होलान् रोटे पिङहरू
म आउने यादहरुमा
तर रहरहरुको शहर काठमाडौंमा
आफ्नै रहरलाई तिलाञ्जली दिँदै
बस्दै छु सम्झनाका फोटाहरू हेरी!!
यसपालीलाई यस्तै भयो आमा
आशाका आत्मा मलिन बनाएर
नहेरे छोरो आउने बाटोहरू,
यसपालीलाई यस्तै भयो बाबा
पत्थरको छाति पनि पगालेर
नकुरे छोरो आउने गाडीहरू।
आमा!
हजुर भन्ने गर्नुहुन्छ
‘मानव सेवा नै सर्वश्रेष्ठ धर्म हो’
हो यही हजुरको दिव्य बचनलाई दशैंको आशीर्वाद सम्झिँदै
सेतो कोटमा
घाँटीमा स्टेथेस्कोप भिर्दै
जुट्दै हुनेछु बिरामीको सेवामा
ती वार्डहरूमा
ती इमर्जेन्सी कक्षहरुमा
देशको सुरक्षामा अहोरात्र खटिने सिपाही जस्तै
हृदयमा ईश्वरको उज्यालो बोक्दै
झुल्किरहनेछु जननीभावहरुमा
मानव सेवाका संकल्पहरुमा ।
आहाँ मेरो गाउँ
मेरो जन्मभूमि भोर्लेटार
जहाँ कृत्रिमताको अवशेष पनि छैन
ती बन पहाड झरना र खोलाहरू
ती लोकसंस्कृतिहरु ती लेकबेसीहरु
गुलाफी रङका फूलहरु गालामा फुलाउने हँसिला चेहेराहरु!
ढुंगाले बनेको मेरो घर
बुट्टाले सझाइएको झ्याल
रातो माटोले लिपेको दैलो
खरले छाएको छाना
अनि छाना माथि पाकेको फर्सी
भिराला खेतहरू
बगैचा, बारीहरु
केरा ,सुन्तलाका बोटहरु
गोठका गाई भैंसी गोरु र बाख्रीहरु!
यी सबै सबै
मेरा बालसखाहरु
अमिट छाप बनेर बसेका छन् मानसपटलमा
जो जन्म जन्मान्तरसम्म मृगतृष्ण बनेर मेरो पछि लागिरहनेछन्!
तर बाध्यता
आज शहरको भुलभू़लैयामा परेर
ती स्पन्दनहरु अझै धितमरुन्जेल
पिउन पाएको छैन!
ए प्रिय बतास
पुर्याइदे मेरा
विजयदशमीका शुभकामनाहरु
सबै म बिना
रित्ता रित्ता ती अञ्जुलीहरुमा।
नरोए आमा वैराग्य भावमा
अँध्यारो नहुनु बाबा मेरो अभावमा,
बिरामी निको हुँदा पाएको मुस्कानलाई
टिका र जमरासँगै सजाउला निधारमा
यसपालीको दशैंमा आउदिन आमा आउला बरू तिहारमा।।