‘ऊ पागल बुढा
हाहाहाहा!!!
ऊ बहुला बुढो आयो
नु, नु गर नत्र लान्छ रे
छि:छि:यो पागल अब त
गति छाडेर हिँड्न थालेछ
लु...लु...ढोका बन्द गर
यो पागल त भित्र पसेर
जथाभावी गर्छ।’
अब मात्र यस्ता घृणित शब्दहरुको
उपहार पाईरहेछ त्यो नीरिह बाबुले।
कठै! साँच्चै ऊ' त पागल भएछ
छि:कस्तो नियति होला?
आफूले पीडा भोग्नु,
आफ्नो काख रित्तिनु
आफ्नै स्वच्छ ललाटमा
कलंकको धब्बा लाग्नु
अनि न्यायको भिख माग्दा
तिरष्कृत बनेर पागलपनको उपहार पाउनु
यो कस्तो सजाय हो?
यो देशको जनताको
अनि कस्तो न्याय हो?
यो देशको कानुनको।
निस्छल,निष्कलंक फूलको
यौवन लुटेर,
सरक्षणको चौघेरामा भुन्भुनाई रहेछन्
ती पापी भमराहरु,
अनि ऊसैको संरक्षणमा लागिपरेका छन्
कानुनका रखवालाहरु
त्यही पापलाई छोप्न अनेकौं
तिग्डम गरिरहेका छन्
कुर्सीका हकदारहरु
यता अन्जान बाबु भने अब
नैराश्यमय जीवनबाट बिचलित बनेर
होस् गुमाई अवचेतन अवस्थामा
भौंतारी रहेछ यता ऊता।
ऊफ! यो कस्तो प्रारब्ध हो ?
छोरी जन्माऊनुको,
यो कस्तो दुर्भाग्य भो?
लक्ष्मी भित्रिनुको
जहाँ खुशीको बदला
आँसुको वर्षा हुँदैछ
अनि...आमा, बाबुले
आफ्नै अधिकारमा
छातिमा पीडाको परेड बजार्न
बाध्य बन्नु परेको छ
हो...छोरी ‘निर्मला’
आज तिम्रो बाबु पागल बनेको छ,
दुनियाँको अगाडि तमासे बनेको छ
र यो पागलको तमासाको तमासा हेर्दै
तिम्रै देशको कानुनका रक्षकहरू
मुक दर्शक बनेर जोड ताली पिट्दै
अट्टहासमय हाँसो हाँसिरहेछन्
रेशमी रूमालले कलंकित मुहारहरुलाई
छोपेर।