तिमीले पाउने न्यायको ढिलासुस्तीसँगै
न्यायको ठेकेदारतिर औंला ठडिँदै छ
समाजका मुकुण्डोधारीहरू नांगिँदैछन्
रक्षक नै भक्षक भएको प्रस्टिदैछ
न्यायको मन्दिर उदांगिँदै छ ।
तिम्रो न्यायको आयोग गठनसँगै,
अनेक नाटक मञ्चन भयो
कहिले निर्दोषलाई थुनियो
त कहिले जिम्मेवारीले राजीनामा दियो
अब कति आयोग गठनको नाटक हुने हो कुन्नि ?
तिमीलाई एक अवला र असहाय ठान्ने गल्तीले,
गैर जिम्मेवारीहरूको जीवन धर्मराउँदैछ
बलात्कारको प्रमाण मेटाउनेहरूको अस्तित्व मेटिँदैछ
मानवतामा कलंक पोत्नेहरू कमजोर हुँदैछ
अर्कोतिर न्याय खोज्नेको सङ्ख्या बढ्दैछ
तिम्रो रोदनले असङ्ख्य न्यायप्रेमीहरूलाई एक सूत्रमा बाँध्दैछ ।
यसर्थ, तिम्रो लागि न्यायको चर्को आवाज,
गल्ली गल्लीमा गुञ्जिदैछ
सामाजिक सञ्जालमा फैलिँदैछ
यसले सरकार हडबडाउँदैछ
न्यायविरोधीहरूको पाइला लड्बडाउँदैछ
उनीहरूको निर्णय डगमगाउँदैछ ।
यहाँ, तिमीमाथिको बलात्कार एक नारीमाथि देखियो,
तर, यो हर आवाजविहीनको विवशतामाथि हो
समाजमा व्याप्त गरिबीमाथि हो
दयनीय सुरक्षा व्यवस्थामाथि हो
ढोँगी कानुन प्रणालीमाथि हो
र समस्त मानवतामाथि हो ।
अब, तिम्रा हरेक चित्कारले एटमको रूप लिँदैछ
तर, त्यसले हिरोसिमा र नागासाकीमा जस्तो
निर्दोष मानवमा प्रहार होइन
यसले बलात्कारीको पुरुषत्वमाथि हुन्छ
यस्तालाई आड दिने हरेक शक्तिमाथि हुन्छ
सम्पूर्ण बलात्कारी प्रवृत्ति वंशमाथि हुन्छ
यो बमले हर आवाजविहीनको रक्षा गर्छ
र नयाँ सुरक्षित समाज सिर्जना गर्छ ।