निरुले माइती छोड्नु एक दिनअघि आफूलाई मानसिक द्वन्द्वमा पाइन्। उनले जहिले पनि अरुका लागि सहजकर्ता भएको पाइन्। विवाहपूर्व पनि आमाबुबालाई राम्ररी नै सक्दो सहयोग गर्दै पढेको सम्झिन्। भाइसँग पनि सकभर झगडा गर्दैनथिइन्। स्कुलमा प्रथम हुँदा प्रायः परिवारको इज्जत राखेकी नै थिइन्। आज आफू किन जिन्दगीमा असफल भइन् ? आफू कहाँनिर चुकिन् ? आफूमा के कमी कमजोरीहरू थिए ? उनले आफ्ना विगतका घटनाहरू सम्झिन्। किन आज आफू असुरक्षित छिन् ? उनको कारणले उनको आमाबुबा असुरक्षित भएको महसुस गरिन्। आफूले आफ्ना आमाबुबाको जहिले पनि सेवा गर्ने कल्पना गर्थिन्। तर, आज भाग्यले जीवनको यस्तो मोडमा ल्यायो कि उनी आफूले गर्दा आमाबुबाको जीवन असुरक्षित भएको महसुस गरिन्। यसर्थ आफ्नो माइतीबाट काठमाडौँ गएर नयाँ जीवन सुरु गर्ने विचार गरिन्।
नाइट बस ठिक समयमा हिँड्यो। बाआमा दुवैजनाले उनलाई बससम्म छोड्न आउनुभएको थियो। उनी १५–१६ दिनजति धरानमा बस्दा भाइले एकपल्ट पनि उनको हालखबर सोधेन। बरु बाआमाले ५–६ पल्ट फोन गरी दिदी आएको भनेका थिए। हरेकपल्ट जवाफमा आफू व्यापारमा धेरै व्यस्त भएको कुरा गथ्र्यो। भाइले कुरा गर्दा कहिल्यै पनि दिदीको हालखबर सोधेनन्। उनीलाई भाइले हेटौँडा आउन एकपल्ट पनि भनेनन्। तर, निरुले यस्तो कुरा सम्झिनन्।
बस चलिरहेको बेला उनको मनको गति त्योभन्दा लाखौँ गुणा बढी वेगले चल्न थाल्यो। उनलाई आफ्नो आमाबुबाको चिन्तित अनुहारको झझल्को आउन थाल्यो। बुबाको जागिर सकिन अब २–३ वर्ष मात्र बाँकी थियो। त्यसपछि के गर्लान् ? कसले बुढाबुढीलाई हेर्लान् ? एउटा छोरा भनाउँदो घरज्वाइँ बसिहाल्यो। छोरीलाई घरमा राख्नै नमिल्ने। अनि अब कसले हेर्ने ? यी कुराहरू चलचित्रको पर्दामा दृश्यहरू आएजस्तै एकेक गरी आउन थाल्यो। उनलाई जिन्दगीमा केही गर्नु बेकारजस्तो लाग्यो।
अब कसरी जिउने ? कहाँ बस्ने ? के गर्ने ? पेटको बच्चालाई कसरी हुर्काउने ? निर्मलको बच्चालाई जन्म दिएर के फाइदा ? समाजमा आफूलाई कसैले पनि साथ देलान् जस्तो लागेन। आफ्नो कतै बासस्थान छैन। यो छिःछिः दुरदुर गरी बाँच्नुभन्दा बरु आत्महत्या गर्नु साह्रै उचित लाग्यो। यस्तो सोच्दासोच्दै कोसी ब्यारेक आइपुग्यो। खलासीले व्यारेकनिर एकछिन रोक्न जनाउ दियो। झिसमिसे साँझ परेको थियो। बस रोकेपछि केही यात्रुहरू बाहिर ओर्ले। कोही चिया पिउनतिर लागे भने कोही ट्वाइलेटतिर तर निरुको मनमा हुरी चलिरहको थियो। उनमा कोसी नदीमै हाम्फालेर आत्महत्या गर्ने विचार आयो। सजिलो मुक्ति पाउने उपाय आत्महत्या लाग्यो। फेरि आफ्नो पेटको निर्दोष बच्चाको कल्पना आयो। यसको दोष के छ ? यसले कसको बिगार गरेको छ ? उनले बच्चाको आवाज महसुस गर्न थालिन्। आफ्नो आत्माहत्याले नारी महानता र साहसीको कथामा पूर्णविराम लाग्ने सोचिन्। फेरि आफूले पनि कसैले आत्महत्या गरेकाप्रति सहानुभूति नराखेको सम्झिन्। एक्कासि उनको सोचमा परिर्वतन आयो। कताकताबाट आफूमा दैवी शक्ति प्रवेश गरेको भान भयो। मन दह्रो भयो। कोसी नदीलाई अन्धकारले आफ्नो अँगालोमा लिएको पत्तै भएन र उनको अगाडि चकमन्न उज्यालो देखियो। अब यस्ता कायरता र नकारात्मक सोचको सिकार नहुने सोचिन्। जिन्दगीलाई एक संघर्षको रूपमा लिने निर्णय गरिन्।’
‘कलंकी आइपुग्यो। बस अगाडि जाँदैन। सबैजना यतै ओर्लनुस्।’ खलासीको स्वर सुनियो।
बिहानको ८:३० बजेको थियो। बिहानी घामले काठमाडौँको धुलो धुँवालाई छर्लङ्यायो। आफू कहाँ जाने ? कहाँ बस्ने ? उनीसँग एउटा ब्यागमात्र थियो। कताकता एक्कासि सबभन्दा पहिला बसेको घरबेटीको याद आयो। उनीसँग घरबेटी आन्टीको नम्बर थियो। उनले घरबेटी आन्टीको नम्बर डायल गरिन्। कुराकानीबाट थाहा भयो उहाँकहाँ एउटा कोठा खाली छ। निरु उतै लागिन्। त्यो घरबेटी अंकलको नाम न्यूछे डंगोल र आन्टीको नाम सबिता डंगोल थियो। उहाँहरूको छोरा र छोरी विवाहित भएर अमेरिकामा बसोबास गर्थे। निरुले सम्झिन्, कसरी उहाँहरू दुवैजनाले उनलाई राम्रो व्यवहार गर्नुहुन्थ्यो। निरुलाई देखेर दुवैजना साह्रै खुसी भए। उनलाई जब थाहा भयो आफू पहिला बसेको कोठा खाली रहेछ, उनी झन् खुसी भइन्। उहाँहरूलाई जब निरुको विगत थाहा भयो। उहाँहरू साह्रै दुःखी हुनुभयो।
‘तिमीले राम्रो निर्णय लियौ। हामी तिमीसित छौँ।’ दुवैजनाले एक स्वरमा भन्नुभयो। दिनभरि निरु कोठालाई चाहिने सामानहरू किन्नमा व्यस्त भइन्। उनीसँग बैँकमा काम गर्ने अर्चनाले पनि उनलाई धेरै सघाइन्। उनले आफ्नो खाताबाट एकलाख झिकेकी थिइन्। बाँकी १५ लाख जति खातामै छ। उनले निर्मलको घरबाट दिएको गहना, कपडा र आफ्ना पनि कैयौँ कपडाहरू निर्मलकामै छोडिन्। तर बैँकको ५-६ लाख भन्दा बढी त्यो घरमा खर्च गरिन्। आज आफू यो मामलामा ठिक रहिछिन् जस्तो लाग्यो। तर, निर्मलले घर बनाउने कुरा भएको भए आफ्नो बैँङ्क ब्यालेन्स केही नबच्ने जस्तो पनि लाग्यो।
‘निरु कतिबेला आइपुग्यौँ ?’
‘सर म ८:३० मा आइपुगेको।’
‘लु तिमी भोलिदेखि अफिस आउनू। म पनि अहिले नारायणगढमा काजमा आएकाले अफिसमा छैन। भरे काठमाडौँ आइपुग्छु। अनि भोलि कुरा गरौँला।’
‘हस् सर।’
भोलिपल्ट अफिस पुग्दा उनलाई देखेर सबैजना खुसी भए। उनको हाकिमले उनको बिदा मिलाइदिएको रहेछ। उनले त निर्मलको घर छोडेकै दिन अफिस छोड्ने कुरा गरेकी थिइन्। तर, उनको हाकिम श्याम सर मानेनन्। आज उनलाई उनको सर साह्रै राम्रो लाग्यो। अफिसमा उनलाई इमान्दार, स्पष्टवादिता, दयालु, मेहनती, राम्री, तार्किक, स्वाभीमानी, प्रतिभाशाली र कुशल स्टाफको रूपमा लिएका रहेछन्। उनी धरानमा हुँदा पनि सरले धेरैपल्ट फोन गरी चिन्ता नलिन भनेको सम्झिन्।
बेलुकी निरुले आफ्नै कोठामा खाना पकाइन्। खाना खाने बेलामा उनलाई विगतका दिनहरूको याद आउन थाल्यो। एकातिर उनलाई केटाकेटीमा आमाले गरेको माया प्रेमको याद आउन थाल्यो भने अर्कोतिर निर्मलको परिवारले गरेको दुव्र्यवहार। उनले सम्झिन् कसरी निर्मल र उनको परिवारका अन्य सदस्यहरूको उनीप्रति नकरात्मक सोच राखेको। फेरि उनी सम्झिन्थिइन् निर्मलको घरबाहेक अन्य जहाँ पनि उनीप्रति मानिसको राम्रो व्यवहार थियो। जे हुनु भइहाल्यो। अब आफ्नो पहिचानको लडाइँ कसरी लड्ने ? समाज त अझै पिछडिएकै छ। लोग्ने मान्छेको बैशाखीबिना महिलाको पहिचान छैन भन्छन्। तर उनले कसैलाई बैशाखी नबनाई अगाडि बढ्ने अठोट गरिन्। उनको मनमा धेरै कुराहरू खेल्न थाल्यो। धार परिर्वतन गर्न नखोजे समस्या आउँदैन। समस्या नआए समाधान खोजिदैन। समाधान नखोजे पहिचान हुँदैन र पहिचान सँगै सफलताको आशा गरिन्छ। सायद जीवन यस्तै रहेछ। उनले निर्मलले जे भने नि जे गरे नि अन्याय सहेर बसेको भए आज आफ्नो पहिचानको लडाइँ सुरु हुँदैनथ्यो होला। यो पितृसत्तात्मक सोचवाट ग्रसित बिरामी मानिसकताका कैयौँ पुरुष स्त्रीलाई दास ठान्ने प्रवृतिलाई आफूले हाँक दिन सोच्न सक्दैनथ्यो होला।
समय आफ्नो गतिमा अगाडि बढिरहेको थियो। निरुको सरको हेराई, व्यवहार, बोलाई आदिबाट निरुले बुझिसकेकी थिइन् कि उनको सरले उनलाई मन पराउनुहुन्छ। उनको घर धापासी हाइटमा हो। ऊ बाआमाको एक्लो छोरो हो। अर्थशास्त्रमा एम.फिल. गरेर नेपाल इन्भेष्टमेन्टमा बैङ्क म्यानेजर भएर काम गरिरहेको थियो। मिटिङ्ग सकेर निस्कने बेला अलि ढिलो भएकाले सरले निरुलाई घरमा पुर्याइदिनुभयो। निरुले माथि जाउँ भनिनन्।
‘मलाई चिया खान नबोलाउने ?’
‘माथि जाउन त सर।’
चिया पिउँदै गर्दा निरुको सरले कुरा सुरु गर्नुभयो।
‘निरु मलाई अन्यथा नठान्। तर अब जिन्दगी यसरी चल्दैन। तिमी भर्खकी छौ। यो तिम्रो सुरुवात हो। तिमीले केही सोच्नुपर्छ।’
‘सर मैले कुरा बुझिनँ।’
‘मैले तिम्रो विवाहको बारेमा भन्न खोजेको।’
‘सर, मेरो तेस्रो महिना लागिरहेको छ। हिजो भर्खर गाइनोकोलोजिस्टलाई चेकअप गराएको।’
‘मलाई तिम्रो बारेमा सबै कुरा थाहा छ। तिम्रो केही दोष छैन। यदि तिमी तयार छौ भने म तिमीसँग जीवन बिताउन चाहन्छु।’
‘हजुर जस्तो श्रीमान् पाउनु कुनै पनि नारीको लागि अहोभाग्य हो सर। फेरि कुनै पनि नारीको यस्तो अवस्थामा हजुरजस्तो पुरुषको प्रस्ताव आउनु भगवान्को अवतार लिएर आएको भन्दा कम ठानिँदैन। म आफूलाई साह्रै भाग्यमानी र गर्वित महसुस गर्छु। हजुरले म असहाय नारीलाई साहरा दिन सोच्नुभयो। तर...’
‘के निरु ?’
‘मैले आफ्नो भविष्यको नक्सा कोरिसकेँ सर। मैले लक्ष्य फेला पारेँ। मेरो बाटो अप्ठ्यारो तर गन्तव्यमा मेरो पहिचान छ। म अब आजीवन विवाह गर्दिन सर। हजुरले अन्यथा नलिनु होला सर। हजुर मेरो सधैँ आदरणीय रहनुहुन्छ।’
खाना पकाइरहेका बेला उनको मनमा अनेक कुराहरू आउन थाल्यो। उनले एकातिर निर्मल र निर्मलको बुबालाई सम्झिइन्। न राम्रो जागिर न घर। तर अभीमान र अहङ्कारले नारीको इज्जत गर्न नजानेको तर अर्कोतिर आफ्नो सर जो धनवाला, पढेलेखेको र समाजमा इज्जतदार भएर पनि गर्भवती महिलालाई अपनाउन खोज्ने। उनलाई लाग्यो हर पुरुष गलत छैनन्। छ त, समाजमा विद्यमान कुरीतिहरू र नारीप्रतिको दृष्टिकोण। कता कता नारीप्रति कैयौँ कुरीतिहरूप्रति पुरुषको भन्दा नारीको बढी हात छ कि जस्तो पनि लाग्यो। जस्तो उनलाई भित्र्याउँदा उनका कपडाहरू र गहनाहरू आमाजु, सासु र वहाँहरूका नारी आफन्तहरूले एकेक गरी हेरेको र जान्न खोजेको उनले पाइन्। तर कुनै पुरुषले उतातिर ध्यान नदिएको उनले महसुस गरिन्। निर्मल जस्तोसुकै भए पनि उनले निरुको गहना कति छ माइतीमा पनि छ कि छैन कहिले चर्चा गरेन। तर उनलाई आमाजू र सासूले आँखा लगाएको धेरै भान भयो।
जबजब एकान्तले उनलाई सताउन थाल्थ्यो तबतब उनले किताबलाई आफ्नो साथी बनाइन्। उनी सानैदेखि जिज्ञासु र पढन्ते थिइन्। उनी उपन्यास पढ्न सोखिन थिइन्। झमक घिमिरेको “जीवन काँडा कि फूल” पढिन्। यो उपन्यासले उनमा शक्ति सञ्चार भएको भान भयो। झमक घिमिरेको अगाडि आफ्नो दुःख दुःखजस्तै लागेन। उनको अंग्रेजी साहित्यमा पनि रुचि थियो। बिस्तारै अंग्रेजी महिला लेखिकाहरू जर्ज इलियटको The Mill on the Floss स्यारलोट ब्रोन्टेको Jane Eyre पढिन्। महिला सशक्तीकरणबारे पढेर ठूलो प्रेरणा पाइन्। जति यस्ता राम्रा पुस्तकहरू पढ्दै गइन्, उनको अठोट अटल हुँदै गयो। मन दह्रो हँदै गयो। काठमाडौँ फर्केको झन्डै १५ दिनपछि उनको पदोन्नति भयो। लगभग ३० % तलबमा वृद्धि भयो। अर्को खुसीको कुरा उनलाई बैँकले ५० लाख जति घर घडेरीको लोन दिने निश्चय गर्यो। उनी र उनका ४ जना अन्य बैँकका साथीहरूले ५-५ आनाको प्लटिङ्गको २० फुटको बाटो भएको जमिन लुभुमा किनिन्। यसरी आर्थिक रूपले निरु अगाडि बढ्दै गइन्। यस्तो बेला उनलाई लाग्दथ्यो, भगवान्को घर ‘देर छ अँधेर छैन’।
तर उज्यालोमा छायाँले पछ्याएजस्तो एकान्तमा विगतका घटनाक्रमले पछ्याउन छोडेन उनलाई। किन माइतीमा पनि आफैँलाई अप्ठ्यारो भएको ? विवाहपछि ससुरालीमा माया किन नपाएको ? माइतीमा पनि जहिले उनकै कारण बाआमा किन डराउने ? उनले सोचिन्, सायद आफू नारी भएर होला। उनलाई लाग्यो यो समाजमा सायद नारी महान् भएर नै सहनशील हुँदारहेछन्। उनले प्रकृति र पृथ्वीलाई सम्झिन्। नारीलाई प्रकृति र पृथ्वीसँग तुलना गरेको कुरा बुझिन्। प्रकृतिबिना जीवजन्तुको अस्तित्व छैन। जतिसुकै मानिसहरूले प्रकृतिको विनाश गरे पनि प्रकृतिले मानवलाई आश्रय दिइराखेको हुन्छ। सायद यसैले प्रकृति वा धरतीलाई माता वा आमा भनी सम्बोधन गर्छन्। जब निरुले आफूलाई प्रकृति वा धरती मातासँग तुलना गरिन् आफूभित्र नयाँ ऊर्जा प्राप्त भएको महसुस गरिन्।
बेलाबेलामा निरुको आमाबुबाले फोन गरिरहनुहुन्थ्यो। निरुलाई थाहै नपाइ एकदिन एक्कासि आमाबुबा काठमाडौँ आउनुभयो। सानेपामा बस्ने उनको मामाको छोरा हेमन्त भाइ लिएर आमाबुबा निर्मलको घरमा जानुभयो।
‘सम्धीज्यूहरूलाई नमस्कार।’ निरुको आमाबुबाले दुई हात जोडी शिष्टाचार प्रकट गर्नुभयो।
‘अब के लिन आउनुभयो ?’ निर्मलको आमाले बस्नुस् पनि नभनी सोध्नुभयो।
‘हाम्री छोरीको अज्ञानतालाई माफ गरिदिनुहोस्। उनी अहिले दुई जिउकी छिन्।’
‘माफी त्यसलाई दिइन्छ जसले अज्ञानतावश गल्ती गर्छ। उनले त हाम्रो नाकै काटी गइन्। कसरी माफ गर्ने ?’ निर्मलको आमाले हात नचाई नचाई बोलिन्।
‘हजुरहरूको छोरी ठानी एकपल्टलाई माफ गरिदिनुस्।’
निरुको आमाले निर्मलको आमालाई झुकेर ढोगेजस्तो गरी विन्ति गरिन्।
‘तपाईंहरूमा अलिकति पनि लाजशरम छ भने गइहाल्नुस्।’ आमाजूको तीतो र कठोर स्वर सुनियो।
हेमन्त अगाडि बढेर फुपू र फुपाजुलाई समातेर त्यहाँबाट निस्कौँ भन्यो। उसले पछाडि फर्केर भन्यो ‘मेरी दिदीले घर छोड्नुको कारण तपाईहरूको व्यवहारले छर्लङ्ग्यायो।’
निरुको डेरामा पुगेर हेमन्तले सारा वृतान्त भन्यो। कुरा सुन्दै जाँदा उनलाई आफ्नै बाआमादेखि साह्रै रिस उठ्यो। उनको अनुहारको रङ्ग परिवर्तन हुँदै गयो। तर, उनले आफूलाई नियन्त्रण गरिन्। आफ्नो बाआमा आफ्नै छोरीको लागी झुकेको सुन्दा उल्टै बाआमाको माया लाग्यो र केही गुनासो गरिनन्। बरु निरुले एउटा अर्को कोठा पनि सोही फ्लाटमा भाडामा लिइन्। उनको घरबेटी अंकल आन्टी आफ्ना बाआमासँग छिट्टै नै मिलेको पाउँदा उनलाई खुसी लाग्यो। आमाबुबा बसुन्जेल उनले आफ्नो दुःख बिर्सिन्। केही दिनपछि आमाबुबा धरानमा अलि काम मिलाएर छिट्टै आउछौँ भनेर जानु भयो।
समय साह्रै चलायमान र शक्तिशाली हुँदोरहेछ। हिजो एक्लै सुत्न डराउने केटी आज एक्लै जीवनमा संघर्ष गर्दैछिन् जस्तो लाग्यो। उनर्ले बिस्तारै बिस्तारै चिया पकाउँदा होस् वा खाना पकाउँदा होस् राम्राराम्रा पुस्तकहरू पढ्न थालिन्। उनलाई खोजमूलक र संघर्षका गाथाका पुस्तकहरू खुब मन पथ्र्यो। साथै टिभी हेर्दा पनि यस्तै खालका कार्यक्रमहरू हेर्न रुचि राख्थिन् तैपनि एकान्तमा आफ्नो जीवन र अस्तित्वको बारेमा खुब सोच्थिइन्। जनावरमा घाउ देख्नेबित्तिकै झिँगाले रगत खान खोजेझै शून्यतामा विगतले पीडा दिन छोड्दैनथ्यो। यस्तै वेलामा उनी रामायण र महाभारतजस्ता धार्मिक ग्रन्थहरूको पनि अध्ययन गर्थिन्। बिस्तारै उनले लेखहरू पनि लेख्न थालिन्। बेलाबेला उनका लेखहरू पत्रिकाहरूमा छापिन्थे र उनको विचारहरूको राम्रै प्रशंसा हुन्थ्यो। उनले विद्यार्थी जीवनकालमा स्कुल र कलेजमा कैयौँपल्ट निबन्ध र कविता प्रतियोगिताहरूमा भाग लिएकी थिइन्। उनी यस्ता कार्यक्रममा प्रायः पुरस्कृत हुने गर्थिन्।
डा. विमलाको सल्लाहअनुसार नै निरुलाई पाटन अस्पताल भर्ना गरियो। आमाबुबा सँगै हुनुभएकाले उनलाई त्यति चिन्ता एवम् डर थिएन। बेलाबेलामा आफ्नो अफिसका साथीहरू र सर पनि आउनुहुन्थ्यो। घरबेटी अंकल आन्टीले पनि हामी छौँ, चिन्ता नलिनु भन्नुभएको थियो। अपरेसनबिना नै सजिलैसँग उनले बच्चा जन्माइन्। नर्सले तपार्इँको छोरा भयो भन्ने खबर दिइन्। दुई महिनाजति अगाडि डा. विमलाले उनलाई छोरा वा छोरी केमा रहर छ भनी जिस्केर सोधेकी थिइन्। यो समाजमा छोरा र छोरीबीच ठुलो खाडल भएकाले आफू एक्लो बस्नु परेकोले आफूलाई यसमा रुचि नभएको बताएकी थिइन्। यो सुनेर डाक्टर गम्भीर अनि खुसी भएकी थिइन्। बच्चालाई हेरी निरु साह्रै खुसी भइन्। एकैछिनमा दुःखी पनि भइन्। अब यसले बाउको माया नपाउने भयो। यसको नामसित बाउको नाम नगाँसिने भयो। फेरि उनले सोच्न थालिन्, के भो त? यो झन् शक्तिशाली भएर हुर्कन्छ। आफैले बाआमा दुवैको माया दिएर हुर्काउने सोचिन्। त्यही दिन उनको सरले बैँक अति फाइदामा भएकोले यो वर्ष राम्रो बोनस दिने निर्णय भयो भनी सुनाए। निरुलाई आफ्नो छोरा साह्रै भाग्यमानी भएको लाग्यो।
भनिन्छ, मानिस बाँच्नु मात्र पर्दोरहेछ। जिन्दगीमा नसोचेको, नचिताएको र नदेखेको अनेक खालको घटनाहरू घट्दा रहेछन्। उनले निर्मललाई दोस्री श्रीमतीले ५ महिनामै छाडेको सुनिन्। भाइको सासू बितेको एक वर्ष नवित्दै ससुराले अर्को विवाह गरी श्रीमती भित्र्याएछन् अनि बुहारी सौतेनी आमासँग बस्न नसकी धरान फर्केछन्। आमाबुबालाई छोराबुहारी फर्केकोमा खुसी नै लाग्नुपर्ने हो तर किन हो किन आमाले फोन गरी निरुलाई बाउ र छोरा जहिले कराउने कुरा गरिन्। निरुले यसको कारण बुझ्दा आफ्नै भाइले बुबाको सबै सञ्चयकोषको रकम हेटौडामा नै हुँदा व्यापारमा फसाएको रहेछ। उल्टै ऋण बोकेर धरान आएछ अनि घर बैँकमा धितो राखी व्यापार गर्न खोजेको कुरा भनिन्। यो बाआमालाई मन परेन र सधैँजसो भाइबुहारीको भनाभन हुँदोरहेछ। यसैताका निरुको छोरा पनि ५ वर्षमा लाग्यो। एकदिन उनी छोरालाई लिइ धरान गइन्। उनले भाइबुहारीलाई सम्झाउने प्रयास गरिन् तर, सफल भइनन्।
कार रिजर्भ गरी आमाबुबालाई काठमाडौँ ल्याइन्। उनले आमाबुबालाई आफूसँगै राख्ने विचार गरिन्। तर, भाइबुहारी र आमाबुबालाई आफ्नो विचार व्यक्त गरिनन्। उनलाई भाइको पनि माया लागेर आयो। ऊ पहिलेभन्दा दुब्लो र बूढो देखिन्थ्यो। बुहारीमा पनि त्यति आकर्षण थिएन। उनीहरूको दुइटा छोराछोरी भइसकेको थिए।
रातपछि बिहान, दुःखपछि सुख, तनावपछि मुक्ति र विछोडपछि मिलनका घटनाहरू धेरै सुनिन्छ। आफ्नो जीवनमा यस्तै घटनाहरू घटिरहेको विश्वास नै लाग्न गाह्रो भयो। आफ्नो जीवनले नाटकीय मोड लिइरहेको जस्तो लाग्यो। उनलाई आफ्नो जीवन एक चलचित्रको कथा जस्तो लाग्न थाल्यो। उनलाई सबभन्दा आश्चर्यमय रूपको खुसीको घटना तब लाग्यो जब आमाबुबालाई लिई आफ्नो कोठामा पुगिन्। झन्डै आइतवार बिहानको सात बजेको थियो। आमाबुबालाई कोठामा बसाली चियामात्र पकाउन के लागेकी थिइन्। उनको अफिसबाट सरको फोन आयो।
‘सर नमस्कार।’
‘नमस्कार निरु। कहिले पुग्यौ ?’
‘भर्खर सर।’
‘तिमीलाई एउटा दुखको खबर अनि एउटा सुखको खबर छ। कुन पहिले सुनाउ ? भन।
‘म त दुःखमा सुख पाइरहेको छु। यसर्थ पहिले दुखको खबर सुनौं सर।’
‘तिमी हामीबाट टाढा जाने भयौ। तिम्रो सरुवा बानेश्वर शाखामा भयो।’
‘अनि सुखको खबर नि सर ?’
‘तिमीलाई त्यो शाखामा शाखा प्रमुखको जिम्मेवारी दिइएको छ। चिठ्ठी आइसक्यो। आज पाउँछौ।’
‘सर, हजुरलाई धेरै धन्यवाद।’
‘अनि तिमीलाई धेरै बधाई।’
‘सर हजुरलाई पनि विशेष बधाई छ, मलाई यो खबर सुनेर असाध्यै खुसी लाग्यो कि हजुरको बिहेको कुरा पक्का भएको रहेछ।’
‘तिमीलाई धेरै धन्यवाद।’
चिठ्ठीमा बिहीवारदेखि बानेश्वर शाखामा शाखा प्रमुख भएर काम गर्नुपर्ने लेखिएको थियो। बुधवार इन्द«ेनी फुडल्यान्डमा उनको लागि बिदाई र बधाई कार्यक्रम राखियो। उनका अफिसका सबै साथीहरू सर र सि.इ.ओ. पनि आउनुभयो। कार्यक्रममा निरुलाई प्रशंसापत्र र बढुवापत्र दिएर माला लगाइदिइयो। कैयौँले दोसल्ला ओढाई सम्मान गरे। उनलाई दुई शब्द बोल्न आग्रह गर्दा उनी भावुक भई रुन थालिन्। सबै आश्चर्य चकित भए।
‘किन रोएकी निरु ?’ सी.इ.ओ.सरले सोध्नुभयो।
सर, म एक साधारण नारी तपाईंहरूको सहयोगले यहाँ यस अबस्थामा पुगेकी र हजुरहरूको यो माया पाउँदा आफूलाई थाम्न सकिनँ।’
पहिलो कुरा तिमी साधारण होइनौ। तिमी असाधारण नारी हौ। यो त तिम्रो जीवन यात्राको एक मोड वा घुम्ती मात्रै हो जहाँबाट नयाँ जीवनको सुरुवात हुनेछ।
नयाँ बानेश्वर सरुवा भएसँगै निरुले सेयर बजारमा लगानी सुरु गरिन्। यता आएको ठीक एक वर्षभित्र निरुले बैँकको कर्जा माध्यमले लुभुको घडेरीमा ५ कोठे सुन्दर घर बनाइन्। उनको अन्य दुई जना साथीहरूले सँगसँगै घर बनाए। घर भित्रिएको पूजामा धैरै जनालाई निम्तो गरिन्। सबैले उनलाई बधाई दिए।
‘यो कसको घर, ममी ?’ उनको छोराले सोध्यो।’
‘यो तिम्रो ममी निरुले बनाएको घर हो बाबू।’ हजुरआमाले भन्नुभयो।
‘होइन यो त हामी सबैको घर हो। निरु भावुक भई भनिन्।’
निरुको जीवनमा आएको यो सामाजिक रूपान्तरणले मलाई नारीलाई कमजोर ठानी हेय दृष्टिले हेर्ने मानिसप्रति दया लाग्छ। यस्ता बज्रस्वाँठहरूको कमजोर मानसिकतामा परिवर्तन आउन जरुरी देख्छु। नत्र निर्मलको जस्तो अवस्था नहोला भन्न सकिँदैन। आज म जबजब आनी छोइङ डोल्माको गीत ‘‘जागौँ नारी चिनौ हामी आफ्नो स्वाभीमान...।” सुन्छु, निरुको जीवन कथा सम्झन्छु। एक तीतो यथार्थ।
यो पनि :
निरूको घर