बहुसंख्यक जनताको हित — सत्य
सत्यको पक्षमा अडान लिने काम — सत्याग्रह
सत्यको पक्षमा कठोर अडान लिने व्यक्ति — सत्याग्रही
सत्याग्रही सदाचारी हुनुपर्छ
सत्याग्रही कर्मयोगी हुनुपर्छ
सत्याग्रही नि:स्वार्थी हुनुपर्छ,
तिमी त जागिर लिएर काम गर्ने मान्छे !
कमाएको रकम स्वेच्छाले खर्च गर्ने मान्छे !
तिमी त सरकारको अह्रौटे नोकर !
जागिरदाता मालिकसँग सिनाजोरी !
तिमी र अरू डाक्टरमा के फरक छ र ?
तिमी सरकारको नीतिको किन विरोध गर्छौ ?
समृद्धिको अभियानमा कति भाँजो हाल्छौ ?
नैतिक दृष्टिले तिमी अनशन बस्नु ठीक हो र ?
मुलुकमा अनेक मेडिकल कलेज खुल्ने छन्
त्यति नै संख्यामा थप अस्पताल चल्ने छन्
देशविदेशका अनेक मान्छे डाक्टर बन्ने छन्
उता जाने नगदका थैलाहरू यता फर्कने छन्
नयाँ डाक्टरहरूले विदेशबाट रेमिटेन्स भित्र्याउने छन्
विकासका क्रियाकलापहरू तीव्र गतिमा हुने छन्
अन्ततोगत्वा नेपाल मेडिकल हब हुनेछ,
त्यसैले, नैतिक दृष्टिले तिमी अनशन बस्नु ठीक हो र ?
गरीब नेपालीको हित सरकारले गर्छ
निमुखा जनताको बोली पार्टीहरू बोल्छन्
तिमी त फगत सरकारको कलपुर्जा !
तिमीले गरीब नेपालीको पक्षमा बोल्ने हो भने
अरू 'बेरोजगार' राजनीतिक कार्यकर्ताले के गर्ने त ?
दुईतिहाइ सांसद जिताउने जनता यही कुरा भन्छन्
चेतनशील पुस्ताको ठूलो अंशको पनि यसैमा समर्थन छ,
त्यसैले, नैतिक दृष्टिले तिमी अनशन बस्नु ठीक हो र ?
एकथरी भन्दै छन्—
तिमीलाई अनशनको संख्या बढाई 'गिनिज बुक'मा नाम लेखाउनु छ रे !
तिमीलाई अनशन तोड्न 'बहाना' चाहिएको छ रे !
तिमी एउटा सेतो कागजमा 'हस्ताक्षर' गर्न तयारी गर्दै छौ रे !
यो कुरा सुने भने टिचिङ्ग अस्पतालका सहकर्मीले के भन्लान् ?
कर्णालीका जनता तिमीमाथि कति भर पर्लान् ?
इलामका जनतामा तिम्रोबारे कस्तो छाप पर्ला ?
तिम्रो पक्षमा वातावरण नै प्रदूषित बनेको छ,
अर्को थरी भन्दै छन्—
तिम्रा सबै माग पूरा भइसके रे !
तिमी त फगत कसैका गोटी हौ रे !
अरूको लागि प्रयोग हुने सिखण्डी रे !
चेतना र विवेक नभएका मान्छे रे !
त्यसैले, नैतिक दृष्टिले तिमी अनशन बस्नु ठीक हो र ?
माघ ३, २०७५