हो
म ठूलो युद्वको तयारीमा छु
एउटा भयानक
तर, अन्तिम युद्व
तिमीले सोँच्यौं होला
चोक र गल्छेंडाहरुमा अव तिमीलाई
कहिँले "यता" कहिँले "उता" नभएको
प्रमाण मागिने छ
घर छोड्न र फर्कँनपनि
डर मान्नुपर्ने छ
गोधूलीको सूर्य
बिहानीको शीत
डराई-डराई हेर्न, टेक्नपर्ने छ
तिमीलाई डर हुँन सक्छ
गाउँ कसरी जानु?
एम्बुलेन्स चढ़नु कि नचढनु ?
उजुर गर्न चौंकी कसरी जानु?
न्याय माग्न अदालत नजानु?
स्वास्थ्य चौंकी नि?
तिमीलाई डर होला
बिनाकारण
हलिया दाई कुटिए भने?
गाउँका गुरूको सफाया भयो भने ?
पण्डितहरु मारिए भने ?
तोते बोली बोल्ने छिमेकी भतिजो टुहुँरो भयो भने ?
अनाहकमा साईली भाउजु बिधुवा भईन् भने?
एक महिनामा पेन्सन हुन्छ बा भन्ने
माईला बाको सिपाही छोरो एम्बुसमा पर्यो भने?
कलम बोक्ने हातहरुलाई ट्रिगर तान्न लगियो भने ?
नयाँ जीवनको सपना बोकेकी घर्ती ठूलीलाई
युद्वमा ढलेका साथीहरु बोक्न लगियो भने?
तिमीलाई डर हुँदो हो
बर्ष भरिलाई जोहो गरेको मेरो ढिकुटी
त्यस्तै जत्थाले एकैरातमा सक्ने त होईन?
अँ, गोठका सबै बाख्राहरु काटिए भने?
कुखुराको खोर नै रित्तियो भने?
या पसिना बगाएर कमाएको दुई पैसा
चन्दामा दिएर सक्नुपर्यो भने?
मित्रहरू, माफ गर्नुहोला
यसपटकको क्रान्ति
म आफ्नैं विरुद्ध गर्नेछु
मेरो साँघुरो सोँच
कुण्ठा, ईर्ष्या
अज्ञानता, असंगति, अधर्मको विरुद्ध गर्नेछु
म रगतको होईन मसीको युद्व लड्ने छु
बलको होईन बिबेकको युद्व लड्ने छु
बन्दुकको होईन बिचारको युद्व लड्ने छु
भत्काउँने होईन निर्माणको युद्व लड्ने छु
धर्मको राजनीति होईन राजनीतिको धर्म निभाउँने छु
यति धेरै गर्न बाँकी छ मित्रहरु
अरूलाई बदल्नु अघि
म आफैं बदलिनेछु