पढाईको
आरम्भ देखि अन्त्यसम्मको
अनेकौं स्वभाविक गतिहरूमा,
स्वछन्द प्रकृतिवश
उडानहरूलाई
एउटा पिंजडा
भित्र कैद गरेर
न्यूनता र अपूर्णताको
प्रवृति देखाएर,
मनोवैज्ञानिक कमजोर आत्मविश्वास समाएर
विचरा परीक्षार्थीमा
हरदम
चिसो त्रास भर्न
सफल हुन्छन्
एसइईका भूतहरु!
भविष्यका सपनाहरु
उम्लिरहन्छन्
सर्वोत्कृष्ट हुने मनोकाक्षांले
केन्द्र बनाइरहन्छ
नवीन उन्नतिको आशाले
छामछुम गरिरहन्छ
महाविचारीहरुका भाव-उपदेश
मनले दोहोर्याइरहन्छ
दिमागले पुस्तकालयको
भण्डार खोतलिरहन्छ
प्राचीन संस्कारले
सरस्वतीको गुणगान समेतिरहन्छ
यसरी नै
अभिभावकका मिठा भरोसामा समेत
एसइईको भूतले हमेशा तर्साइरहन्छ!
अघिल्लो दिन
निद्राले कोल्टे मात्र फेर्दछ
सिरकले थिच्दछ
अर्लामले निचोर्दछ,
जब बिहानै
कोर्स भ्याइदैन
माउसुली झै शरीर छटपटाउँछ,
परीक्षा हलमा
जब कन्सिरीका रौं तताउने
प्रश्न हात पर्छ
शिर झोक्रिन्छ
मगज भारी हुन्छ
मन चै माकुरा झै सिलिङमा झुण्डिन्छ,
संगै खेल्ने हाँस्ने रमाउने
अगाडि बेन्चको ठट्यौलो साथी पनि
रिसाहा भइदिन्छ,
एकान्तको मेसो पारी
मन फेरि
निर्झर प्रश्न पत्रमा
हाम्फाल्न त खोज्छ
तर
निरिक्षकको चिया चुस्कीले
बिथोलिन्छ,
न तरंगिनु न चलमलाउनु
न गुनगुनाउनु
नियमको भेद र
शैलीको बाँधले
शरीर लाटोकोसेरो जस्तै
टोलाइरहन्छ,
चर्पी जाने अनि
चिट चोर्ने
सकभर पासै हुने
कृत्रिम भावहरुमा
पनि
जीवनका घामछायाहरु मडारिन्छन्
र त
'म लेख्छु' भन्ने सचेत भावहरु
समेत तोडमोड भइदिन्छन्,
प्रयासहरु खै
जादू जस्तै लाग्छ
एउटा कालो बादलले
ढपक्कै छोप्छ र
अचेत अवस्थामा परीक्षार्थीलाई
लतारिरहन्छ
एसइईका भूतहरु!
आखिर
जीवनको सत्य के?
केही गर्नु
उठ्नु अनि उक्लनु हैन र?
प्राप्ति के?
अनि ध्येय के?
सफलता के?
असफलता के?
आफ्नो कर्ममा निर्भर हुन्न र?
तर
यी प्रश्नहरुलाई
जबरजस्ती सम्बोधन गर्छु भन्दै
'यो गर्न सक्छस्'
'यो गर्न सक्दैनस्'
हुकूम दिन आउने
परीक्षाफलहरु,
यस्तो सानो परीक्षाको
जूवामा
आफू टाट पल्टेको महसूस गरि
जीवन त्याग गर्ने बुद्दुहरु,
यसरी नै अदृश्य
बिना कुनै भेष आवरण
परीक्षार्थीको मनमा डेरा जमाउने
वायात एसइईका भूतहरु!!!