उषाभन्दा पनि चाँडो गरी
तर सुस्तरी
मलाई स्पर्श गर्दै आई
ऊ आई!
आँखा नजुधाई
मलाई पढी
उसले पटक पटक ।
परेलीका ओठहरू
नबगी टिलपिलाए।
थोपा थोपा बग्रेल्ती छरिन नपाउँदै
शब्द र भाव बटुलेर खण्डकाव्य लेखी।
लयमा टिपी उसले
सुरमा गुनगुनाई
ओठ खोल्न नपाउँदै
हृदयबाट सुनी र शब्द जोडेर कोरी
म मुस्कुराएँ
उसले मुस्कानमा सङ्गीत भरी
लजाएर म उसैको आँचलमा लुक्न पाएँ
उसले मेरो लज्जाको महाकाव्य कोरी ।
कोपिला फक्रिए झैं
म बदलिएँ फूलमा
शीतहरू बटुलेर लेखी।
किरण रविको पर्खिरहेको थिएँ
उसैले झलमल्ल पारी
म प्रकाशिएँ।
कोरी अनेकौं रङ्गका हरफहरू
कोरेरै म पल्लवित भएँ।
छोएर पोखाइदिई मलाई
पानाभरि लहरिन पाएँ।
किन होला ऊ मनभरि बसी
फुरेर बसी
भरिएर बसी
म रित्तिएर पोखिएँ
जब
अनि पूर्ण बनाएर बसी
बसी बिल्कुलै मेरी भएर बसी
छचल्किएर बसी
कहिले मातिएर बसी
ऊ हृदयभरि भएर बसी।
हरेक लहरमा गाँसिएर
माला मेरै भएर
अर्थहरूका डुङ्गा तैराएर
बाँध फुटाएर
बग्रेल्ती बगरभरि छरेर बसी
कसम होला
ऊ मेरो हृदय फुटाएर
छताछुल्ल पोखिएर बसी
हरेक चिन्तनको भाव भएर
कविताको लहर भएर बसी।