हरेक साल
बौद्धिक क्षमताको लेपन लाएर
देखावटी सौन्दर्यको मोल तोक्न
आइदिन्छ
मिस नेपाल!
न छ समग्र मूल्यांकन
न छ विचारहरुको प्रक्षेपण
पूँजीवादको खोल ओढेर
छालाको रंग
शरीरको जैविक उचाई
र चस्माको पावरमा
नाफा कमाउन
हरेक साल
आइदिन्छ
मिस नेपाल!
के हो सौन्दर्यको परिभाषा?
अग्लो हुनु? गोरो हुनु?
मुलायम छाला हुनु?
चस्माविहिन आखाँ हुनु?
सोह्रश्रृङ्गार युक्त हुनु?
के यी सब चिरस्थायी छन् र?
छैनन् भने,
क्षणिकतालाई सौन्दर्यको मानक मान्न मिल्छ र?
यस कै भरमा
मिस नेपाल जस्तो साझा शब्दावली प्रयोग गर्न मिल्छ र?
मेरी प्रियसी!
नजाउ तिमी
आफूमा लघुताभाष सिर्जना गरेर
यस्ता विभेदीय संस्कृतिको
जगेर्ना गर्न,
मेरी प्रियसी!
नजाउ तिमी
आफ्ना कोमल अंगहरुमा
कर्पोरेट हाउसका
विज्ञापन छपाउन,
सुगाँ रटाई गरेर
प्रशिक्षणका नाममा
मस्तिष्क एकोहोरो बनाउन,
अवश्य
धनाढय वर्गका
युवतीहरूको भीडमा
तिमी हराउनेछौ,
साच्चै प्रियसी
इन्टरनेट भोटिङ्ग मार्फत
तिमीलाई बहुमूल्य बस्तु बनाईनेछ र
बेचिनेछ सञ्चारमाध्यमहरुमा।
किंवदन्ती जस्ता व्यथा भोग्ने
विकटका नारीहरु,
स्वर्णिम झुल्केको घामलाई
घुँडा टेकी हात जोडी नमस्कार गर्ने नारीहरु,
सानै उमेरमा घाँस दाउरा गर्न सिकेका छोरीहरु,
हुर्किन पाको छैन स्कुलको सट्टा पराई घर जान विवश छोरीहरु,
समाजको रसायनमा
घुलेका बोक्सीरुपी नारीहरु,
छाती तिघ्रा गुप्तांगमा
यौनपिपासुका डामहरु सहेर
उत्पीडनमा बाचेका नारीहरु,
रोजगारका नाममा खाडी मुलुकमा
बेचिएका बेचैन नारीहरु,
बिना दोष एसिड आक्रमणमा
कुरुप अनुहार लिएर बाचेका नारीहरु,
मेरो प्रश्न आयोजकहरुलाई??
के
यिनिहरु कहिल्यै फुल्नु फैलिनु र फराकिलो नहुनू?
के
यिनीहरु कहिल्यै मिस नेपाल नहुनू?