ऊ बेला रेडियो नेपालबाट बज्ने गीत सुन्दा, नाटक सुन्दा कलाकार र गायकसँगको साक्षात्कारको चाहानाले भुतुक्क हुने म अनि म जस्तै अरू।
जसले गीतका शब्द बुन्नेको ख्याल गरेन, संगीत दिनेको वास्ता गरेन। गर्यो त केबल स्वरको। स्वर मात्रै मन पराउने संगीतलाई नचिन्ने, चिन्ह नचाहने, अनि शब्द संयोजनबाट गीतको भाकासँगै आँसु खसाल्ने र मुस्कुराउने ती सबैका लागि संगीत क्षेत्रका केही विशिष्ट व्यक्तिको एकसरो परिचय दिएको छ पुस्तक ‘आँखीझ्याल’ ले।
अनि हिजो आजको पुस्ता जो नेपालीभन्दा अंग्रेजी बोल्नुलाई गौरव ठान्ने गर्छ, नेपाली भन्दा विदेशी सृजक र सृजनाको पारखी बन्दा ठूलो ठान्छ ती सबैलाई केही मात्रै भए पनि नेपाली साधकहरुको बारेमा जानकारी दिएको छ।
विरहको गीत सुन्दा ‘कठै कस्तो विरह परेछ मलाई जस्तै’ भन्नु , जीवन र जगत प्रतिको भोगाई र अनुभवका गीतमा गायकलाई आफूसँग तुलना गर्ने वा आफूलाई गायकसँग तुलना गर्ने प्रवृति नै बसाएको पाईन्छ संगीतले।
सायद यही नै अनुपम शक्ति हो संगीतको। आफूसँगै सबैलाई बगाउनसक्नु। आफूसँगै सबैलाई पगाल्न सक्नु। अझ भनौ आफ्नै सम्झेर रुने र हास्ने बनाउनु।
गीत, संगीत जस्तै आफ्नो साहित्य श्रृजनाले धेरैलाई रुवाएका, हसाएका, जीवन र जगतको भोगाईसँगै साक्षात्कार गराएका श्रृजकको आफ्नै जीवन पनि हाँसो, खुसी, दुःख, पीडा, बेदना र आर्तनाद तथा आँसुको इन्द्रेणाीलाई आँखीझ्यालले संक्षिप्त रुपमा बाहिर ल्याएको छ।
गीत संगीत सुन्दै गर्दा, साहित्य श्रृजना पढ्दै गर्दा सर्जकप्रति पाठकले बनाएको एउटा तस्वीरलाई यस पुस्तकले चिरिदिएको छ। अन्य क्षेत्र जस्तै गीत संगीत र साहित्य क्षेत्रका सफल व्यक्तिका पछाडिका संघर्ष कम चुनौतिपूर्ण थिएनन् भन्ने कुरा पुस्तकले शालिन र मार्मिक ढंगले बाहिर ल्याएको छ।
कला पत्रकारिताबाट, गीतकार र लेखकको दरिलो छबि बनाउन सफल लेखक रमण घिमिरे आफैंमा कलासाहित्यका एक शसक्त पात्र हुन्। गीत संगीतप्रतिको रुची अनि लेखकीय शक्तिको प्रभाव पुस्तकमा प्रत्यक्ष देख्न सकिन्छ।
सामान्यतया जीवनी पढ्नका लागि रुची नलाग्नुपर्ने हो। आँखीझ्याल जीवनी नै त नभनूँ। पुस्तकमा लेखक स्वयमले पनि यसलाई जीवनी भन्न रुचाएका छैनन्। ढोका नउघारीकनै झ्यालबाट चिहाएर उनलाई मन परेका ,मन छोएका दृष्टान्तहरुलाई टपक्क टिपेर कलात्मक रुपमा बाहिर ल्याउने काम भएको छ।
ईश्वर बल्लभ, क्षेत्र प्रताप अधिकारी, अम्बर गुरुङ, कमलमणि दीक्षित, जगदीश घिमिरे, डायमनशमशेर, पेमला गुरुवाचार्य, फत्तेमान, भीम विराग, भीमबहादुर थापा, माणिकरत्न, रामशरण दर्नाल र डा. राममान तृषितका जीवनका केही महत्वपुर्ण प्रसंग जसलाई लेखक घिमिरेले महत्वपूर्ण देखे र प्राथमिकतामा राखे तिनैलाई आँखीझ्यालमा स्थान दिएका छन्।
पाठक र समान्यकृतरुपमा चयन भएका नभई लेखकका मन पराईएका व्यक्तित्वका केही विशेष प्रसंगलाई पाठकले आँखीझ्यामा नियाल्न सक्नेछन्। लेखक स्वयम्ले पनि यसलाई ‘आँखीझयाल बाहिर उभिएर भित्रको व्यक्तित्वलाई झलक्क चिहाउने मात्र कोशिस’ भनेका छन्।
फेरि पनि पुस्तकमा समावेश १३ जना पात्रको जीवनका महत्वपूर्ण क्षण सायद समावेश भएको हुनुपर्छ। प्रेम, संघर्ष अनि विधागत निरन्तरताका सबै उबडखाबड पुस्तकमा उल्लेख छन्। लेखक घिमिरेको प्रस्तुतिकरण नै यति शक्तिशाली छ त्यसले पाठकको सबै हतारोलाई बिर्साईदिन्छ र लगाम कसिरहन्छ।
समग्रतामा पुस्तक एक बसाईमा पढेर सकिन्छ। संक्षिप्त वा छोटो भन्दा पनि सामाग्री त्यत्ति कसिला छन्, रसिला छन् पाठकलाई पुस्तक छोडेर अरु काममा मन लगाउनै दिँदैन।
पकेट बुक आकारको १ सय ७० पेज थोरै भने पक्कै होइन। निबन्धात्मक शैली भनिए पनि अधिकांश स्थानमा पाठकलाई कथा पढे जस्तै महसुस गराउँछ आँखीझ्यालले।
जीवनी नभनिएको झण्डै जीवनी जस्तै नै लाग्ने आँखीझ्यालमा संगीत र साहित्य क्षेत्रका यी पात्रका जीवनका विविध पक्षलाई निकै सर्तकताका साथ प्रस्तुत गरिएको छ।
अहिलेसम्म गोप्य रहेको अम्बर गुरुङको पहिलो प्रेम प्रसंगलाई त्यसैगरी बुझ्न सकिन्छ। अद्भुत प्रेम, आदर, समर्पण अनि सम्मान। लेखकीय चार्तुयता भनेकै सायद यही होला। व्यक्ति विशेषमा जानै किन पर्यो र? आदरभावर सम्मानका साथ उनको दार्जिलिङको पहिलो प्रेम पढ्दै गर्दा पाठकलाई पनि सर्तक बनाउँछ। नौ लाख ताराको कोलकाताको रेकर्डिङ र राजा महेन्द्रको प्रशंसा लगायतका प्रसंगले उनको विधागत संघर्षलाई उजागर गरेको छ।
त्यसैगरी विद्रोही कविको रूपमा प्रस्तुत गरिएका अर्का ईश्वर बल्लभको जीवन संघर्षले पाठकलाई हृदयदेखिनै रूहाउँछ। उनकी आमाले बाबु जेल पर्दा तात्कालिन राजा श्री ३ जुद्धशमशेरसँग टुँडिखेलमा गरेको विन्तिभाउले उनको परिवारको पीडा मात्रै नभई तत्कालिन राज्यशत्ताको शासकीय प्रवृति पनि उदांगो बनाएको छ।
ईश्वर बल्लभको जीवनका उतारचढाब संग जोडिएर आएका कयौ प्रसंग र पात्रहरुबाट त्यसबेलाका अन्य ऐतिहासिक पक्ष पनि उजागर भएका छन्।
मदन पुरस्कार गुठीका अध्यक्ष, मदन पुरस्कार पुस्तकालयका प्रमुख एवम् प्रतिष्ठित साहित्यकार कमलमणि दीक्षितका बारेमा त पाठकले आँखीझ्यालबाट प्रसस्त जानकारी पाउनेछन्।
विशेष गरेर मदन पुरस्कार र जगदम्बा श्री पुरस्कारलाई दीक्षितको कोटको बलको रुपमा बुझ्ने र बुझ्दै आएकाले त्यसभित्रका केही तस्वीर पाउनेछन् जसले पाठकको पुरानो धारणालाई परिर्वतन गरिदिन्छ।
कवि गायक क्षेत्रप्रताप अधिकारीको जीवन संघर्षले पनि पाठकलाई भित्रै सम्म पुगेर पीडा दिन्छ। तस्वीरमा हेरेर र गीत सुनेर बनाएको छबि गलत सावित गरिदिन्छ।
उर्जाशील व्यक्तिको रुपमा चित्रित जगदीश घिमिरेको त कुरै नगरौं। आफ्नै मृत्युको खबरमा पनि नडगमगाएको आत्मविश्वास अनि विचार र सत्यनिष्ठामा एक्लो वृहस्पति बनेका दृष्टान्त साच्चै मननयोग्य छन्।
आख्यानकार डायमनशमशेर राणा , लेखनवृत्ति बाटै जीविकोपार्जन गर्ने नेपाली लेखकको रुपमा कसरी स्थापित भए भन्ने पाठकको जिज्ञासालाई पनि आखिझ्यालले मेटाएको छ।
पेमाला गुरुवाचार्य, सफल पुरुष पछाडिका अत्यन्तै सफल महिलाको रुपमा रहेकी छन्। सधै सफल पुरुषको मात्रै योगदानको कदर गर्ने, गुणगान गाउने यो दुनियाँमा लेखकले पर्दा पछाडिको पात्रको योगदानको चर्चा गरेर, ती पात्रलाई मन पराएर, ती पात्रका केही प्रसंगलाई सार्वजनिक गरेर आम पर्दा पछाडिका त्यस्ता महिलाको सम्मान गरेका छन्।
आँखीझ्यालमा समावेश गरिएका अन्य विशिष्ट साधकहरुका जीवनका विशेष चित्र पनि यही ढंगले कोरिएको छ। थोरै प्रसंगमा धेरै विषयहरु स्पष्ट पारिएको छ।
आँखीझ्यालमा जति पात्र समावेश छन् ती लेखकका आफ्ना रोजाई भएकाले समावेशी र सामान्यकृतको तराजुमा राख्नु आवश्यक छैन। मुख्य सवाल तीनका विशेष क्षण र दृष्टान्त जो साच्चै नै आमका लागि महत्वपुर्ण थिए ती प्रसंग बाहिर आए आएनन् भन्ने हो।
लेखकले पेशागत क्रममा ठोक्किएका , त्यहीक्रममा नजिकिएका अनि मन मराईएका पात्र र प्रसंगलाई मात्रै समावेश गरेकाले त्यस भन्दा भिन्न पक्ष पुस्तकमा खोज्दा फेला पर्दैन। तर यहा समावेश साधकका बारेमा जति विषय र प्रसंग प्रस्तुत गरिएका छन् ती आफैमा अत्यन्तै महत्वपुर्ण छन्।
कति प्रसंग त यस्ता छन् जुन अब कसैको उच्चतम महेनत र लगानीले पनि बाहिर ल्याउन सकिदैन। त्यसैले यो तात्कालिन समयका कलासंगीत र साहित्यका प्रखर व्यक्तित्वको दस्तावेज हो। ऐतिहासिक दस्तावेज। जुन नया र पुराना दुवै पुस्ताका लागि अति उपयोगी।
आँखीझ्याल
लेखकः रमण घिमिरे
प्रकाशकःमञ्जरी पब्लिकेसन
मूल्यःरू. २३५।–