सानो छँदा मलाई
छिट्टै ठूलो बन्ने रहर थियो
त्यो बेला
मैले कलमले ओठ माथि
कोरेरै जुँगा बनाएँ
अलि-अलि पलाएका
दाह्री पनि उडाएँ
मैले बाको दौरा-सुरवाल र टोपी लगाएँ
र, बा कै नक्कल गरेर
लुकी-लुकी मकैको खोस्टामा चुर बेरेर
माथि-माथिसम्म मुखैले धुवाँ उडाएँ
मैले 'ठूला'हरुकै नक्कल गरेर
'साना'लाई थर्काएँ
अव म साँच्चै 'ठुलो' (?) हुँदै थिएँ
आजकल मलाई
कलमले कोरेर जुँगा बनाउँनु पर्दैन
ऎना अगाडी उभिएर
दाह्री काटे झैं गर्न पर्दैन
बा कै जत्रा कपडा लगाउँन
बाको कपडा झिक्न पर्दैन
मन लाग्दा सोमरस पिउँन
र, धुवाँ उडाउँन बारीमा लुक्न पर्दैन
आजकल मलाई हतपति
कसैले हेप्दैन
बाटो छेकेर कसैले निमर्म पिट्दैन
अनायासै कसैले चिमोट्दैन
प्यान्टको पछाडी कागजको लुर्को बाँधेर
तँ बाँदर बँनिस् भन्दैन
मेरा कन्सिरी आजकल कसैले छुँदैन
न त कसैले कक्षाकोठामा भाले नै बनाउँछ
तर, उमेरसँगै मैले
निर्दोषपन, चंचलता
कल्पनाशीलता, ऎस आराम
बेफिक्रिपन, क्षमाशीलता गुमाएँ
मैले हाँस्दा-हाँस्दै रुने आँखाहरु गुमाएँ
रुँदा-रुँदै हास्न सक्ने ओठहरु गुमाएँ
मनको कुरा सुन्ने मेरो आफ्नै मन गुमाएँ
'ठूलो' भएको म
सानाहरुलाई औधी माया गर्छु
अहिले बुझ्दैँछु
ठूलो हुँनु भनेको त
दीप झैं जल्नु रहेछ
पानी झैं बग्नु रहेछ
हावा झैं फैलनु रहेछ
कहिँले जुनकिरी झैँ
कहिँले चन्द्रमा झैँ
कहिँले चिसो शीत
कहिँले खुल्ला आकाश
त कहिँले बिशाल सागर झैँ हुनु रहेछ
ठूलो हुनु भनेको
ठूला-ठूला (?) काम गर्नुपर्ने
ठूला-ठूला पिडा/खुसी ढाक्न सक्ने
ठूलो हृदयको हुँनु रहेछ
ठूलो हुनु भनेको
मनको कुरा दिमागले सोच्ने हुनु रहेछ
'ठूलो' भएको मलाई अहिले
फेरी 'सानो' बन्ने रहर छ