बालुवाटारमा,
करायो,
एउटा खरायो ।
दिँदैरहेछ– उपदेश,
आफ्ना सन्ततीहरूलाई ।
खोलेँ झ्याल र सुनेँ,
एकछिन टोलाएँ र मनमनमा गुनेँ
मानौं ऊ भन्दै थियो ;
लाग्छ,
यो भूगोल फ्याउराहरूको
विरासत हो ।
ओठतालु सुकाएर,
टाङ्मुनि पुच्छर लुकाएर,
जब केही,
ध्वाँसे फ्याउराहरू कुलेलम ठोके,
भोटे फ्याउराहरू वन पसे,
अनि,
बढ्यो बिगबिगी,
यी राता फ्याउराहरूको ।
आज,
अशान्त छ गाउँ शहर,
बन्दैछ– निस्पृह, हाम्रा हरेक प्रहर ।
चोकचोक र गल्लीगल्लीमा कराउँछन
राता फ्याउराहरू
र,
कोकोहोलो मचाउँछन ।
होस गरेस है,
नानी बाबुहरू !
नत्र त, आएर
तिमर्का कोमल छाति र शरीरमा,
दाह्रानङ्ग्रा नचाउँछन्।
यो भूगोललाई,
आफ्ना पुर्खाले चर्चेको
थात–थलो भन्छन्।
आँखा झिमिक्क पार्नु हुँदैन,
नानी बाबुहरू!
भएभरको सिरीखुरी सबै कब्जा गर्छन्।
र,
आफ्नै बाबुको,
बन्दव्यापार जस्तो,
बाँडीचुँडी गर्छन् र आफ्नो थैली भर्छन्।
हो,
होस गर्नु,
चनाखो रहनू!
कोखमा दाह्रा भएका
यी,
राता फ्याउराहरू खतरनाक हुन्छन्।
चारै प्रहर सजग रहनू।
जब,
निस्कन्छन शीतल गुफाबाट,
विहार गर्न,
बाटोघाटो, सडकपेटीमा कहिल्यै ननिस्कनू,
आसेपासे, हुक्के–चम्चेसित कहिल्यै नजिस्कनू।
चालचुल नगरी बस्नू,
बरु दुला पस्नू।
नत्र फेरि,
बर्दीको पछाडि लुकेर,
सालिकको आडमा ढुकेर,
झण्डाले मुख छोपेर,
झम्टिन सक्छन राता फ्याउराहरू,
र,
लिन सक्छन प्राण ।