माघ महिना थियो। पर क्षितिजमा सूर्य डाँडामाथि पुगिसकेकाले दिन ढल्कनै लागेको आभाष हुन्थ्यो।
छिमेकीहरू आउने-जाने क्रम जारी थियो। कोही वृद्धाहरू आँगनमा बसेर चु: चु:/कठै! गर्दै थिए। कसैले भाग्यलाई दोष दिन्थे।
कोही ‘आखिरी सबै जाने ठाम त्यहीँ हो, ढिलो-चाँडो मात्र हो’ भन्थे। कसैले ‘त्यस्ती कमल फूलजस्ती बालिकालाई कसरी चुँडेर लैजान सकेको हो नि, हे ईश्वर !’ भनेर भगवानलाई दोष दिइरहेका थिए।
कति ‘यस्ती बच्चीलाई लुछेर, चिथोरेर ती ब्वाँसाहरूलाई कति आत्मसन्तुष्टि भयो होला? हे दैव !’ भन्थे।
टुल्की छाप्रोको खाँबोमा अर्धचेत अडेस लगाएर बसेकी थिई। चिटचिट पसिनाले निथ्रुक्क भिजेकी थिई। उसको रोदन सकिएको थियो, बारम्बार हिक्क-हिक्क भने गरिरहेकी थिई। गालाभरि आँसुका टाटा थिए। बोल्ने तागत थिएन।
होस् पनि कसरी? नखाएकै तीन दिन भैसकेको थियो। भर्खरै आफ्नो सपना, आफ्नो सर्वस्व सेलाएर फर्केकी थिई।
गोधूली साँझ भए पनि उसले अकन्टक अँध्यारो देख्थी। टुल्कीलाई फनन्न रिँगटा लाग्यो। आँगनमा गर्ल्याम्म ढली। सबैजना आत्तिएर पानी छम्कन थाले।
***
टुल्कीको बिहे १३ वर्ष पहिले माघमै भएको थियो। लोग्ने विजय, प्रहरीमा थियो। त्यो वर्ष विजयको भाग्य चम्केको थियो। प्रहरीमा जागिर खाने वर्ष नै उसको टुल्कीसँग बिहे भएको थियो।
उनीहरुको पहिलो भेट स्थानीय हटिया महोत्सवमा भएको थियो। पहाडी क्षेत्रमा माओवादी द्वन्द्व उत्कर्षमा पुगे पनि तराईमा यसको खासै असर थिएन। तै पनि महोत्सव लगायत जमघटका कार्यक्रम बेलुका अबेरसम्म नगर्न सम्पूर्ण जिल्लामा सर्कुलर भएको थियो।
विजय महोत्सवको सुरक्षार्थ खटिएको थियो। टुल्की सँगीसँगै महोत्सव हेर्न आएकी थिई। त्यही क्रममा उनीहरुका चार आँखा भएका थिए। जसको प्रभाव साप्ताहिक महोत्सवको अन्त्यसम्म परिरह्यो। विजय टुल्की आउने बाटोमा आँखा बिछ्याउन लागिरह्यो। टुल्की पनि अनेक बहानामा महोत्सव धाइरही।
महोत्सवमा रोपिएको प्रेमको बीउ अङ्कुराउँदै गयो। आक्कल-झुक्कल भेट भैरहने हुनाले उनीहरुको प्रेम निर्वाधा अगाडि बढिरह्यो। केही समयको प्रेम सम्बन्धलाई आजीवन अमर बनाउने बाचासहित बागेश्वरीलाई साक्षी राखेर अन्तत: उनीहरूले बिहे गरे।
यस्तैमा विजयको सरुवा भयो, पहाडी जिल्लामा। तराईमा हुर्के-बढेको, भर्खरै बिहे गरेको हुँदा माओवादी द्वन्द्वले गाँजेको पहाडी भूभागमा सरुवा हुन उसको मन मानेको थिएन। टुल्कीको चाहना त्यस्तै थियो। लोग्ने आफूसँगै रहोस् भन्ने इच्छा कुन स्वास्नीको नहोला र?
तर नुनको सोझो गर्नै पर्यो। घरको कमजोर आर्थिक अवस्था, परालको छानोलाई टिनले विस्थापन गर्ने चाहना, आफूहरुले पढ्न-लेख्न नपाए पनि बालबच्चालाई शिक्षा दिने लगायत आकांक्षाका सामु विजयको जागिर निर्विकल्प थियो। बिहेको केही महिनामै टुल्कीलाई उज्यालो भविष्यका अनेक आशा र बाचाका साथ छाप्रोमा एक्लै छाडेर विजय हानियो।
औपचारिक शिक्षा नलिए पनि टुल्की अशिक्षित थिइन। समाजमा हुने छुवाछुत, भेदभाव उसलाई सह्य थिएन। समाजका केही जमिन्दारको प्रभुत्व स्वीकार्य थिएन। त्यसैले छिट्टै आफैं एक टुक्रो जमिन किन्ने, त्यसमै सानो घर बनाउने, अनि आफ्नो संसार सजाउने चाहना पालेकी थिई।
आफ्नै महल नोकर/चाकर जस्ता सुविधाकी भोकी भने थिइन ऊ। मात्र, ‘एउटा सानो घर। आफ्नो मिहिनेतको कमाइ आनन्दपूर्वक खान पाइयोस।’ यत्ति थियो उसको सपना। उसको यो सपना हुनेखानेका लागि केही थिएन। तर हुँदा खाने ऊ जस्तै लाखौं गरिबको प्रतिनिधि सपना थियो। यस्तै सपना देख्दै वर्तमान जे जस्तो भए पनि सुनौलो भविष्य कल्पना गर्दै टुल्कीको जीवन चल्थ्यो।
टुल्कीको पेटमा मायाको बिरुवा बिस्तारै हुर्किंदै थियो। यस्तोबेला लोग्ने आफूसँगै भैदिए भन्ने चाहनाले उसलाई सताइरहेको थियो। उता विजय पनि श्रीमती सुत्केरी हुँदा आफ्नै हातले मिठो-मसिनो पकाएर खुवाउन पाए भन्ने इच्छा राख्दै भगवान पुकार्थ्यो।
चाहेर मात्रै कहाँ हुन्थ्यो र? सरकारी जागिर, त्यैमाथि द्वन्द्वको समय। सुरक्षाकर्मीलाई बिदामा बस्नु असम्भवप्राय: थियो। तै पनि विजयले हाकिमसँग ‘छोटो समयकै लागि भए पनि बिदा पाऊँ’ भन्ने जाहेरी गर्यो।
विजयको कुराले हाकिमको मन पग्लियो। विजयले तीन दिन बिदा पायो।
मात्र तीन दिन, विजयलाई के गरूँ, कसो गरूँ? भयो। घर कहिले गएर कहिले आउने। जानआउन दुई दिन, एक दिनमा के गर्ने? टुल्की सुत्केरी भएपछि जाने कि नहुँदै जाने? फेरि नहुँदै गए उसलाई कसरी छोडेर आउने?’ प्रश्नहरूले उसलाई सतायो।
अन्तत: सुत्केरी भएपछि गएर बच्चाको अनुहार हेरेर फर्कने निर्णय गर्यो।
केही दिनपछि टुल्कीले छोरी जन्माई। विजयको हर्षको सीमा रहेन।
आफ्ना सहकर्मीलाई लड्डु बाँड्यो। हाकिमले विजयको खुसी देखेर भने, ‘उता श्रीमतीलाई कति गाह्रो भयो होला, तँ किन यति धेरै मच्चिएको?’
विजय झसङ्ग भयो।
सम्झ्यो, ‘हो त नि, टुल्कीलाई कति गाह्रो भयो होला। न अस्पताल न राम्रो सुसारे। बिचरी! कति आत्तिई होली?'
एकैछिन अगाडिसम्म चङ्गा भएको विजयको मन पत्थरजस्तै गह्रुङ्गो भयो। अनायासै मन अमिलो, अनुहार मलिनो भयो।
हाकिमले ‘तँ भोलि जाँदैछस् त, सबै मिलाएर आए भै गो नि! फेरि किन पीर गर्या?’ भनेपछि विजय सम्हालियो। अनि अर्को दिन टुल्कीलाई भेट्ने, छोरीको मुख हेर्ने, कल्पनामा डुब्दै भोलिको प्रतीक्षा गर्न थाल्यो।
उता टुल्कीलाई पहिलो बच्चा जन्माउन कम गाह्रो भएन। मधेसको देहात, रुढिवादी संस्कारले गाँजेको ठाउँ, अस्पताल त परेको कुरा। दुई दिन कष्टपूर्वक व्यथा सहेर घरमै छोरी जन्माई।
छोरीको नाभी आफैं काटी, सालनाल आफैं ततेरी। पल्तिरकी गुड्डीले तातो पानी खान दिई, भरसक सेवा गरी। टुल्कीलाई सुत्केरी हुँदाको पीडा भए पनि विजय आउने खबरले ऊ निकै खुसी देखिन्थी। सायद, विजयप्रतिको माया, समर्पण, अनि भरोसाले उसको दुःख भुलाइदिएको थियो।
टुल्की मिठा-मिठा कल्पना गर्दै, छोरीको भविष्य बारेमा कौतुहल हुँदै सिरानीमा टाउको राखी के-के सोचेर बसेकी थिई, गुड्डीले ‘विजय चाचा भोलि आउने रे’ भन्ने समाचार सुनाई। टुल्कीको अनुहारमा चमक भरियो।
मान्छे आफू पनि राम्री, त्यसमाथि विजयको समाचारले अनुहारमा चमक थपिएपछि ऊ झनै राम्री देखिई।
उसलाई ‘के गरूँ? कसो गरूँ?’ भयो। छोरीलाई छातीमा टाँसेर निधारमा चुप्प म्वाइँ खाई। निदाएकी छोरी टुल्कीको झाँगलझुँगलले बिउँझिई, अनि ‘च्या-च्या’ गर्न लागी। टुल्कीले ‘च्व-च्व, मेरो बाबा’ भन्दै छोरीलाई फुल्याउन लागी। लोग्नेसँग भेटहुने आशामा सम्पूर्ण व्यथा टुल्कीले भुलेर विजयको बाटो हेर्न थाली।
त्यो रात विजयको जीवनमै सबभन्दा लामो रात हुन गयो। यता कोल्टे फेर्यो, उता पल्टियो। अहँ, निद्रा परेन। टुल्कीसँग हटियामा भेट भएको दिनदेखिका हरेक पल उसको आँखा वरिपरि नाच्न थाले। कस्ती राम्री थिई टुल्की! त्यो गँहुगोरो वर्ण, ती ठूला-ठूला आँखा, त्यो लामो कपाल, ती चाँदीजस्ता दन्तलहर, त्यो मिलेको जिउडाल।
दन्त्यकथाकी परीभन्दा कम राम्री थिइन ऊ। कुनै राजकुमारीकै प्रतिबिम्ब जस्ती लाग्थी ऊ। यो सबै सम्झेर विजय अनायासै मुस्कुरायो। टुल्कीको राजकुमार हुन पाएकोमा आफूलाई भाग्यमानी सम्झ्यो।
अनि ‘छोरी झन् कस्ती होली ?’ उसलाई अझ धेरै कौतुहलता जागेर आयो। ‘भोलि बेलुका त देखिहाल्छु नि मेरी छोरीलाई !’ विजयले मन बुझायो।
फेरि भोलिको घरतर्फको यात्राको बारेमा सोचमग्न भयो। अचानक, बाटोभरी हुने सुरक्षाकर्मीको चेकजाँच सम्झेर दिक्क भयो। उसलाई आफ्नै दाजुभाइ आपसमा लडेर देशमा भैरहेको जनधनको क्षतिले दु:खित तुल्यायो। देशको लागि जुट्नुपर्नेमा ‘हामी किन एकआपसमा लडेर मरिरहेछौँ?’ उसले आफैंलाई प्रश्न गर्यो, तर निरुत्तर भयो।
मनमा अनेक विचार/कुविचार आए, तर निद्रा आएन। सबै संसार मस्त छ। निद्रादेवीले उसलाई मात्र अन्याय गरिन्। विजयले आँखा झिमिक्क नगरी कन रात काट्यो। झिसमिसेमै झोला बोकेर घरतिर प्रस्थान गर्यो।
टुल्कीलाई पनि त्यो रात वर्षसमान लामो भयो। त्यो रात निद्रादेवीले ठगेकी अर्की पात्र थिई, टुल्की। उसले पनि बडो कष्टपूर्वक रात बिताई। बिहे भएपछि पनि सरकारी जागिरेको श्रीमतीको नाताले लामो समय लोग्नेको साथ नपाएकी एक्ली टुल्कीलाई लोग्नेको आगमन कम उत्साहको विषय थिएन।
जसोतसो उज्यालो भयो। आलो सुत्केरी भएकीले ऊ आफैं सबै काम गर्न सक्थिन। सहयोगी गुड्डीबाहेक अरु कोही थिएन। गुड्डीले पनि आफ्नो घरको सबै काम सकेपछि मात्र टुल्कीलाई सहयोग गर्न सक्थी। बिहान आफ्नो घरको काम सकेर गुड्डी टुल्कीकोमा आई। खाना तयार गरी, अनि टुल्कीलाई खाना खान अनुरोध गरी।
तै पनि किन हो टुल्कीलाई खाना खान मन लागेन। सायद, उसलाई विजयको प्रतीक्षा थियो। गुड्डीलाई अहिले खाना नखाने जानकारी गराई।
टुल्कीलाई ‘समयमा खाना खानुपर्छ, पहिलो बच्चालाई पर्याप्त दूध पुर्याउन पनि आमाले पोषिलो खानेकुरा साबिकमा भन्दा बढी खानुपर्छ’ भनेर कर गर्ने कोही थिएन। धन्न गुड्डीले बिहान-बेलुका जसोतसो खाना बनाएर खुवाएकी थिई। अरु त ‘कस्तो छ?’ भनेर सोध्नेसम्म पनि थिएनन्।
रात त कष्टपूर्वक बितेको थियो नै, दिन बिताउन झन् गाह्रो भो टुल्कीलाई। यसो बाहिर केही खस्रयाकखुस्रुक गरे पनि विजय आए झैं मान्दै कुर्दै गरी। मध्यान्न भो, साँझ पर्न लाग्यो। अहँ, विजय आएन। साँझ ढल्क्यो, रात पर्यो। अहँ, विजय आएन। टुल्कीका आँखा पाट्टिए, मनमा चिसो पस्यो।
‘के भयो? किन लोग्ने आएन? सबै ठिकै त छ?’ अनेक शंका-आशंकाले टुल्कीलाई घेर्न थाले।
‘आज त विजय चाचा आइहाल्छन्’ भन्ठानेर गुड्डी पनि आइन। टुल्कीको पीडा सुनिदिने कोही भएन। टुल्कीले ‘टाढाको बाटो आधारातसम्म त लोग्ने कसो नआउला ?’ भन्ठानेर निर्विकल्प विजयको बाटो हेरिरही, तर उसको प्रतीक्षाले पूर्णता पाएन। ऊ आत्तिन थाली, ढोकासम्म आएर चारैतिर हेरी। अकन्टक कालो रात्री बाहेक केही थिएन।
टुल्कीलाई उकुसमुकुस भयो। कति धेरै आशाका साथ उसले विजयको बाटो कुरिरहेकी थिई, ती सबै सपना चकनाचुर भए। बिहान भयो, विजय आएन। टुल्की सुँक्कसुँक्क रुन थाली। हिजो बिहानदेखिकी भोकी, अस्ति रातीदेखिकी अनिद्री। असहाय, बिचरी! रुनु सिवाय ऊसँग अन्य विकल्प भएन। सुँक्कसुँक्कबाट उसको रुवाइ घ्वाँघ्वाँमा परिणत भयो। वरिपरिकाले सुन्ने गरी ऊ चिच्याएर रुन लागी। प्रसव वेदनामा नदेखिएको उसको रोदन लोग्ने नआउँदा छताछुल्ल भयो।
एकाबिहानै टुल्कीको रोदन सुनेर छिमेकीहरू भेला हुन थाले। सबैले पहिलो पटक टुल्की रोएको देखेका थिए। त्यसैले सबैले अचम्म माने। कसैले ‘नाबालिका छोरीलाई केही भयो कि?’ भनेर सोधे। कसैले ‘टुल्की आफैंलाई सन्चो भएन कि?’ भनेर सोधे।
त्यही बेला गुड्डीले ‘विजय चाचा आउने कुरा थियो, नआएर पो टुल्की चाची रोएकी हुन् कि?’ भनी। विजयको नाम सुन्ने बित्तिकै टुल्की झन् ठूलो स्वरले चिच्याएर रुन थाली। टुल्कीको त्यस्तो हविगत देखेर सबैले टुल्की रुनुको कारण चाल पाए।
गाउँका महाजन बोले ‘कालबेला ठिक छैन, कतै गाडी हर्ताल भएर पो हो कि नआएको? कि उतैबाट छुट्टी नपाएर हिन्दै हिनेन? रोएर मात्र हुन्छ? के भएको हो? पहिले त्यो पो पत्ता लगाउनुपर्छ त! आइमाई न हो, केही भयो कि रोयो, सक्कियो।’
महाजनको कुरोले टुल्कीको छातीमै छुरा रोपिएजस्तो भयो, तर ऊ नाजवाफ भई। सबैले ‘विजय कार्यालयबाट हिँडे-नहिँडेको, कतै बन्द भएर समयमा घर नपुगेको हो कि?’ भनेर पहिले पत्ता लगाउन पर्यो भन्दै आआफ्नो घरतर्फ हिँडे।
१० बजेपछि टुल्कीले गुड्डीलाई भनेर विजय कार्यालयबाट घर हिँडे-नहिँडेको पत्ता लगाउन अर्हाइ।
‘बरु नहिँडेको भए नै राम्रो हुन्थ्यो, बाटोमा केही नभएको होस्’ भनेर भगवानसँग प्रार्थना गर्न लागी। दु:खीको प्रार्थना भगवानले पनि नसुन्ने रहेछन्, विजय हिजै कार्यालयबाट घरतर्फ हिँडेको भन्ने खबर आयो।
महाजनको छोरोले ‘हिजो कतै बन्द पनि नभएको’ सुनायो। अनि त के चाहियो र? टुल्कीलाई असह्य पीडा भयो। गाउँलेले ‘आज भरेसम्म त विजय कसो नआउला र चिन्ता नगर’ भन्ने आश्वासन दिएर घरतर्फ लागे, तर गुड्डीले टुल्कीलाई एकछिन छाडिन। छोरीको लागि भए पनि केही खानुपर्ने सुझाई। कर गरेरै भए पनि खाना खान प्रेरित गरी।
दुवैले विजयको बाटो हेरिरहे। दिन बित्यो, साँझ ढल्क्यो, रात पर्यो। विजय आएन। २/३ रातको अनिदो र अविराम रोदनले टुल्कीका आँखा सुन्निए। अनुहार फुल्यो, गालाभरि आँसुका टाटा भरिए, जिउ भारी भयो, छाती गह्रुङ्गो भयो। रात छिप्पियो, अर्को दिन आयो, तर विजय आएन।
३ दिनको बिदा लिएर हिँडेको विजय चौथो दिन पनि नफर्केपछि प्रहरीले व्यापक खोजी गर्न थाल्यो। कार्यरत कार्यालयदेखि विजयको घरसम्म जतिसुकै खोजे पनि विजयको पत्तो लागेन। त्यो समयमा त्यसरी नौजवान मानिस हराउनु र नभेटिनु कुनै नौलो विषय थिएन। धेरै मानिस हराइरहेका थिए। त्यसैले एउटा विजय हराउनु कुन ठूलो कुरो थियो र?
तर प्रहरीलाई सर्वसाधारण खोज्नुभन्दा आफ्नै सहकर्मी खोज्नु धेरै दवाव थियो। त्यसैले पनि यो घटनालाई बढी नै चासो दिएर अनुसन्धान गरियो, तर विजयको अत्तोपत्तो लागेन। अन्ततः विजय अपहरणमा परेको निष्कर्ष निकालियो।
दिनहुँ हत्या-हिंसा, अपहरणको समाचार आइरहेको समयमा एउटो पुलिस हवल्दार हराउनु धेरैका लागि कुनै ठूलो समाचार थिएन, तर टुल्कीको लागि त विजय सर्वस्व थियो। उसैको कमाइमा टुल्कीको जीवन धानिएको थियो। टुल्की र विजयले कति मिठा सपना साँचेका थिए। विजयको विलयसँगै यी सपना पनि तत्काललाई विलाएका थिए। कसैलाई थाहा थिएन, यी सपनाहरु सधैँका लागि विलाएका पनि हुन सक्थे।
सुत्केरी अवस्थामै टुल्कीलाई ठूलो बज्रपात आइलाग्यो। विजयको केही पत्तो नलागेकोले सरकारी स्तरबाट पाइने सामान्य सहयोग समेत उसलाई प्राप्त भएन। विजयका सहकर्मीहरुले आफ्नो तलबबाट केही रकम कटाएर टुल्कीलाई सहयोग गरे। बलिन्द्र आँसुका धारा बगाएर टुल्की उक्त रकम लिन बाध्य भई।
समय बित्दै गयो। बिस्तारै सबैले विजयलाई बिर्संदै गए, तर टुल्कीलाई विजयले उसको नासो छोडेर गएको थियो। उसले त चाहेर पनि विजयलाई बिर्सन सक्थिन। बिहे भएको वर्ष दिनमै छोरी जन्मेकी थिई। विजयले प्रहरीमा जागिर खाएको २ वर्ष पनि पुगेको थिएन। उनीहरुले भविष्यको लागि केही चाँजोपाँजो मिलाउन सकेकै थिएनन्।
टुल्की र विजयले जे-जे सपना देखेका थिए, ती सबै काँचजस्तै झर्याम्म फुटेका थिए। विजयसँगको सम्बन्ध टुल्कीलाई न समाउने हाँगो न टेक्ने डालोजस्तै भएको थियो। तैपनि कता-कता ‘विजय टुप्लुक्क आईपुगी पो हाल्छ कि’ भन्ने झिनो आशा बाँकी नै थियो।
यही भविष्यप्रतिको आशा छ र त मानिसले आफ्नो जीवनको रथ दौडाउन सकेको छ। टुल्की पनि फरक थिइन। बिहेपछिको केही समय अत्यन्त सुखद भए पनि त्यसपछिका हरेक पल दु:ख र आँशुमा गुजारेकी थिई टुल्कीले।
मानिसले भगवानमा विश्वाश गर्छ। कर्म नगरे पनि सदा असल फलको आशा राखिरहन्छ। भगवानसँग केही न केही मागिरहन्छ। तर टुल्कीलाई भगवानमा विश्वाश हुन छाडिसकेको थियो। उसले भगवानसँग माग्न छोडिसकेकी थिई। किनकि, उसका हरेकजसो इच्छा भगवानले टुक्राइदिएका थिए।
टुल्कीकी छोरी ताते-ताते गर्दै हिँड्न थालेकी थिई। गोला चम्किला आँखा, बाटुलो अनुहार, पुक्क परेका गाला, औधी राम्री थिई टुल्कीकी छोरी। जो आए पनि उसलाई काखमा राख्थे, म्वाइँ खान्थे। साथै उसको सुन्दरताको वर्णन गर्न पछि पर्थेनन्। सबैले माया गर्थे।
तर समाजमा सबै त्यस्ता थिएनन्। कोहीले ‘कठै !’ भन्थे, कतिले त मुखै फोरेर ‘बाबुको मुखै नदेखी टुहुरी भई’ भन्नसम्म भ्याउँथे। यस्तो सुन्दा टुल्कीको मन कटक्क हुन्थ्यो, तर ऊ नाजवाफ थिई। छोरी हाँस्दाखेल्दा पनि टुल्की कहिल्यै खुसी हुन सकिन। सबैले माया नै गरे पनि आखिर छोरीकै बाउमा लगेर कुरो टुङ्ग्याउँथे, जसले टुल्कीको मुटुमा थप गाँठो पार्थ्यो। हरेक पटक छोरीलाई काखमा राख्दा टुल्कीलाई विजयको झल्को आउँथ्यो, तर टुल्कीले सम्झेर मात्र के नै हुन्थ्यो र?
व्यवस्था परिवर्तन भयो, सरकार फेरिए। हिजो सर्वहाराका लागि आन्दोलन गर्नेहरू मन्त्री भए, तर विजयहरू फर्केर आएनन्। टुल्कीहरुको दैनिकी फेरिएन। टुल्कीहरु मात्र होइन, तत्कालीन व्यवस्थासँग रुस्ट भएर जनताको व्यवस्था ल्याउने भनेर लड्नेहरु पनि उस्तै भए। केवल तिनका अगुवाहरु मात्र सम्पन्न भए।
छोरी बढ्दै जाँदा फेरि टुल्कीले छोरीको लागि सपना देख्न थाली। उसले आफ्ना लागि देखेका सपना कहिल्यै पूरा भएनन्। आफूले मजदुरी गरेरै भए पनि छोरीलाई पढाउने र समाजमा प्रभाव पार्नसक्ने असल मानिस बनाउने अठोट गरी। हराएर जानेलाई सम्झेर उसकै यादमा जीवन बर्बाद गर्नुभन्दा बाँकी जीवन छोरीको खुसी र उसकै भविष्यको लागि बिताउने प्रण गरी।
टुल्कीले छोरीलाई सरकारी स्कुल भर्ना गरिदिई। आफू ज्याला-मजदुरी गर्थी। दिनभरको कमाइले बेलुका आमाछोरीको पेट पूजाका लागि मात्र ठिक्क हुन्थ्यो। सबैले काम गरे अनुसार ज्याला दिन्थेनन्। कतिले जवान टुल्कीमाथि नै कुदृष्टि लगाउँथे। कतिले छोरीलाई छाडेर पोइल जान सुझाउँथे, तर सबैका कुरा सुन्यानसुन्यै गरेर टुल्कीले छोरीको स्याहार नै एक मात्र लक्ष्य बनाएर अघि बढी। कहिलेकाहीँ विजयको सम्झनाले उसलाई अधैर्य बनाउँथ्यो। यावत समस्याका वावजुत टुल्कीले जीवनको एकपाङ्ग्रे रथलाई घचेटिरही।
टुल्कीकी छोरी १२ वर्षकी पुगी। ७ कक्षा पढ्थी। पढाइका साथसाथै अतिरिक्त क्रियाकलापमा पनि अगाडि थिई। समाजका हरेक नराम्रा व्यवस्था विरुद्ध बोल्न डराउन्नथी। छोरीको प्रगति देखेर टुल्कीले सबै दु:ख भुलेकी थिई।
दु:खपछि सुख आउँछ भन्ने उक्तिलाई आत्मसात गर्दै जीवन गुजारेकी थिई। छोरी पनि आफ्नी आमाको दु:ख राम्रोसँग बुझ्थी। बाबाको अभावमा आमाले गरेको संघर्षको बारेमा ऊ पूर्ण जानकार थिई। त्यसैले हरसम्भव मेहनत गरेर विद्यालयमा सबै शिक्षक/शिक्षिकाको आँखामा बस्न सफल थिई।
लगनशील र अनुशासित विद्यार्थीकी अनुपम उदाहरण थिई टुल्कीकी छोरी। बिहान खाना बनाएर खाइवरी छोरीलाई स्कुल पठाउनु, आफू दिनभर ज्याला-मजदुरी गर्नु, बेलुका अबेर घर पुग्नु, छोरीले पकाएर राखेको मिठो-मसिनु खाएर सुत्नु, अनि छोरीलाई काखमा राखेर निदाउनु टुल्कीको दैनिकी थियो।
घर कच्ची, सानो छाप्रो थियो। वर्षातको झरी थेग्न सक्थेनन्, त के भो? सबै गुणले परिपूर्ण छोरी थिई। आमालाई छोरीको साथ थियो, छोरीलाई आमाको काख थियो। खुसी हुने हो भने स-साना कुरामा पनि खुसी हुन सकिन्छ भन्ने गतिलो उदाहरण थिए टुल्कीका आमाछोरी।
शुक्रबार थियो। टुल्की सदा झैं कामबाट अबेर घर फर्की। ढोकामा ताल्चा देखी। यताउति हेरी। छोरीलाई बोलाई, छोरी बोलिन। टुल्कीको मन झसङ्ग भयो। आज शुक्रबार, स्कुल आधा दिन मात्र हुन्थ्यो। अतिरिक्त क्रियाकलाप नै भए पनि यति साँझसम्म त छोरी घर आइसक्नु पर्ने।
टुल्की दगुर्दै छोरीको स्कुल पुगी। सुनसान थियो। टुल्की अनायासै ठूलो-ठूलो स्वरमा ‘छोरीSSSS, छोरीSSSS’ भन्दै रुन-कराउन लागी। खाना खाएर सुत्ने तरखरमा लागेका धेरै मानिस अचानक रोदन, चिच्चाहट सुनेर बाहिर निस्के। टुल्की एकोहोरो रोइकराइ गरिरहेकी थिई।
सबै मिलेर यताउता खोजे, तर छोरी भेटिइन। एकछिन खोजेपछि सबैले टुल्कीलाई ‘कहीँ गैहोली, भोलि आइहल्छे नि। घर गएर सुत’ भन्दै आआफ्ना घर लागे।
टुल्कीले फेरि एकपटक विद्यालयदेखि घरसम्मको बाटोमा एक्लै छोरीलाई खोजी। भेट्न सकिन। टुल्की घर पुगी, घर अघि जस्तै चकमन्न थियो। ऊ भित्र जाने आँट गरिन। आगनमै ढली। आधारातमा बिउँझिई। आफूलाई आँगनमै पाएर ऊ एकछिन त अचम्ममा परी। बेलुकाको घटना उसको दिमागमा पुनरावृत्ति भयो। फेरि ऊ छोरी सम्झेर रुन लागी। बिचरी टुल्की! त्यस्तो मध्यरातमा के नै गर्न सक्थी र?
टुल्कीकी एकमात्र आधार थिई छोरी। त्यस्ती सर्वगुण सम्पन्न, कसैको आँखामा राख्दा पनि नबिझाउने खालकी सुकोमल छोरी, जो आज ऊसँग थिइन। त्यसैले त अर्धचेत भएकी थिई टुल्की। टुल्कीको साथ कोही थिएन। घटना जब आफूमाथि आइपर्छ, तबमात्र मान्छेले घटनाको मर्म पत्तो पाउँछ।
विजय हरायो, सबै हराइरहेका थिए, मरिरहेका थिए। एउटो विजय हराएर के भयो? टुल्कीकी छोरी हराएकी छे। एउटी बच्ची हराएर के भयो? संसार मस्त सुतेको छ। उठेकी छे त केवल टुल्की। जसकी मुटुकी ढुकढुकी हराएकी छ। जसको बाँच्ने आधार हराएको छ। जसको अनुहार हेरेर टुल्कीले सारा दु:ख भुलेकी थिई, त्यही अनुहार आज उसको सामु छैन।
झिसमिसे उज्यालो भयो। टुल्कीले रोएरै रात बिताई। उसलाई सान्त्वना दिनेसम्म कोही भएन। पहिले पो गुड्डी थिई। जे भए पनि उसको हात समाउन आइपुग्थी। ‘नआत्तिनु चाची’ भन्थी। परारै उसको पनि बिहे भयो। त्यसपछि छोरी नै टुल्कीकी सबै दु:खसुखकी साथी बनेकी थिई। आज त्यै छोरी हराएकी छे।
भगवानले पनि दया गरेर हो या आरिस गरेर हो, दु:खजति सबै टुल्कीलाई नै दिएका छन्। ऊ एकदम निसास्सिएकी छे। एक्ली छे।
‘छोरी कहाँ गई होली? के खाई होली? रातभरि के गरेर बसी होली?’ मान्छेको मन न हो। टुल्कीको मनले पनि छोरीका बारेमा धेरै सोच्यो। राम्रो पनि सोच्यो, पाप पनि सोच्यो। रातभरको रुवाइले उसको आँशुसँगै स्वर पनि सुकेको थियो। विश्वाश नभए पनि टुल्की ‘हे भगवान! छोरीलाई केही नहोस्, सकुशल फर्केर आओस्’ भन्दै प्रार्थना गर्न लागी।
आखिर दु:खका अन्तिम विकल्प भनेका ईश्वर नै रहेछन्। उसले ईश्वर पुकार्न थाली। बिहान भयो, टुल्की एक्लै यताउता दगुर्न थाली।
बालिका हराएकोले ठूलै होहल्ला भयो। सबैले खोज्न थाले। स्थानीय प्रहरीलाई रिपोर्ट गरियो। प्रहरीले चारैतिर खोज्न थाल्यो। दिनभर खोजियो।
अहँ, केही पत्तो लागेन। साँझपख गाउँ नजिकैको खोलामा केटीमान्छेको एउटा शव भेटियो भन्ने हल्ला चल्यो। प्रहरी गयो। लासको मुचुल्का उठायो। बालिकाको अनुहार रक्ताम्मे भएको, कपाल भुत्ल्याइएको, जताततै चिथोरिएको, कपडा च्यातिएको, रगत र हिलो लत्पतिएको, शरीरभर घाउ नै घाउ लागेको, चिन्नै नसकिने अवस्थामा शव भेटिएको थियो।
टुल्कीकी छोरी हराएकीले ‘कतै उही त होइन’ भन्ने शंका भयो। टुल्कीलाई घटनास्थल बोलाइयो।
छोरीको त्यस्तो मृत्यु टुल्कीको कल्पना बाहिरको कुरो थियो। त्यसैले उसले पहिले त जानै मानिन, तर प्रहरी लगायत सबैले कर गरेपछि घटनास्थलतर्फ भई।
‘हे भगवान! त्यो शव मेरी छोरीको नहोस्, यही बेला छोरी कतैबाट झ्याप्पै आएर मलाई अँगालो हाले हुन्थ्यो नि’ यावत कल्पना गर्दै टुल्की घटनास्थल पुगी।
शव चिन्न सकिने अवस्थामा त थिएन, तर टुल्की त आमा हो नि। हजारौंको भिडमा पनि आमाले आफ्नो बच्चाको आवाज ठम्याउँछे, चिन्छे। टुल्कीले पनि अन्तत: छोरीलाई चिनी। आफूले किनिदिएको काँटा छोरीको भुत्लिएको कपालको एक छेउमा झुण्डिरहेको थियो।
छोरीको घाँटीमा उसको भाग्योदयका निम्ति बाँधिदिएको बागेश्वरीको धजो पनि लत्रिरहेको थियो।
‘छोरीSSSSSS!’ यत्ति आवाज निस्कियो। टुल्की बेहोस भएर ढली। प्रहरीले झटपट शव र टुल्कीलाई अस्पताल पुर्यायो। टुल्कीको उपचार थालियो, बालिकाको पोस्टमार्टम। प्रहरी हत्यारा खोज्न थाल्यो।
पोस्टमार्टम रिपोर्टले बालिकाको बलात्कारपछि हत्या भएको पुष्टि गर्यो। २४ घण्टापछि मात्र टुल्कीको होस् खुल्यो। आफूलाई अचानक अस्पतालको बेडमा पाएर ऊ एकछिन त अचम्म्मित भई। सम्पूर्ण घटना उसको दिमागमा पुनरावृत्ति भयो। उसको आँसु पहिल्यै सकिइसकेको थियो। रुँदारुँदै स्वर पनि सुकिसकेको थियो। त्यसैलेघ्यार घ्यार घुरेजस्तो स्वर निस्केको थियो।
अस्पतालको बाहिर गाउँले भेला भएका थिए। उनीहरु टुल्कीको छोरीको दाहसंस्कारको तयारीमा जुटिसकेका थिए। दुई जना महिलाले टुल्कीलाई समात्दै बाहिर निकाले। टुल्की उभिन सकेकी थिइन, सकोस् पनि कसरी? सायदै कसैको जीवनमा घट्ने घटना उसमाथि आइलागेको थियो।
अर्धचेत अवस्थामै टुल्कीले छोरीलाई दागबत्ती दिई।
शवमा दनदन आगो बल्न थाल्यो। छेउको ढुङ्गोमा अडेस लगाएर बसेकी टुल्कीले एकटकले छोरीको शव जलेको हेरिरही।
मनले के-के सोची कुन्नि?
कति खुसी भएकी थिई ऊ जब छोरीले पहिलो पटक मुस्कुराएकी थिई, ‘मम्मा’ भनेकी थिई। टुल्कीले आफू नखाएरै भए पनि छोरी हुर्काएकी थिई।छोरीले दूध माग्दा चौलानी दिएर भुलाएकी थिई। छोरीलाई थोरै मात्र विसन्चो हुँदा टुल्कीका नौनाडी गल्थे। हारगुहार गरेरै उपचार गराउँथी।
छोरी पनि कति ज्ञानी थिई। अभावमा हुर्केकी बच्ची। पछि आफैंले कमाएर आमाको मुहारमा मुस्कान भर्ने कुरा गर्थी, जुन उसले सायदै देखेकी थिई। ‘म छु नि’ भन्दै आमालाई सान्त्वना दिन्थी। कसैसँग झगडा गर्थिन, नम्र थिई। सधैँ खाना बनाएर नखाइकन अबेरसम्म आमालाई कुर्थी। छोरीलाई काखमा लुट्पुट्याएर सुत्दा क्या स्वर्णिम आनन्द अनुभूत हुन्थ्यो टुल्कीलाई। अब त्यो रहेन।
पहिले लोग्ने हरायो।
‘कहीँ कतै टुप्लुक्क आइपुग्ला कि’ भन्ने झिनो आशा अझै मारेकी थिइन टुल्कीले। लोग्नेको अनुहार समेत टुल्कीको कल्पनामा धूमिल चित्रजस्तो भैसकेको थियो। लोग्नेको साथ हरायो, जोसँग टुल्कीले सायद आफ्नो जीवनकै सबैभन्दा लामो समय बिताएकी थिई, अब त्यो साथ रहिन।
टुल्कीकी छोरीलाई पापीहरूले किञ्चित दया नराखी चिथोरे। ब्वाँसाहरुले बिचरीलाई कोपिलामै निमोठे। मान्छे पतित हुन सक्छ। यतिसम्म गिर्न पनि सक्ने रहेछ। पशुले पनि यस्तो दुर्दशा बनाउँदैन, जुन टुल्कीकी छोरीको भएको थियो। टुल्कीका सपना सबै छोरीको शवबाट निस्केको धुवाँसँगै उडेर कता गयो?
टुल्की टोलाउँदा टोलाउँदै शव खरानी भयो। सँगै खरानी भए टुल्कीका सपनाहरु।
दाहसंस्कारको काम सकिएपछि सबै आफ्नो बाटो लागे। केही महिलाले टुल्कीलाई डोर्याएर घर लगे।
काख रित्तिएकी, आशा सकिएकी, भाग्यमा बारम्बार ठगिएकी, अभागी आमा टुल्की पिँढीमा थचक्क बसी।