जन्मदिने आमा भन्दा ठूलो हुन्न कोही
हँसाइदिन्छिन् सन्तानलाई आफू रोई रोई
पूज्य हुन्छिन् जन्मभूमि, जन्मदिने माता
जोडी साइनो रगतले बसाउछिन् नाता।
ताते ताते डोर्याउछिन् जिन्दगीको बाटो
देशप्रेम सिकाउँछिन् धरतीको माटो
मान्नुपर्छ आमालाई पुज्ने भगवान
बाडिदिने गुणहरु सर्व विद्वान।
मिठो चोखो खुवाउछिन् आफू भोकै बसि
निर्मल निश्छल माया उनको किन लाउनु कसी
पाउँदा सन्तान काखभरी साह्रै ठूली हुन्छिन्
पीडा दर्द व्यथाहरु सारा भुली दिन्छन्।
रुन्चे मुख लाए मैले खुशी पार्नलाई
खेल खेल्छिन् झेल गर्छिन् आफैं हार्नलाई
घोट्छिन् आफ्ना हड्डीहरु छाक जोर्नलाई
उनको मेरो सम्बन्धको नाता कोर्नलाई ।
सधैं मेरै सुसारमा दिन बित्छ उनको
हँसिलो त्यो मुहारमा चमक छ जुनको
आफू लाउँछिन् टालटुल कठै आमा मेरी
मलाई भने सुहाउने नाना फेरि फेरि।
मेरै लागि बाच्छिन् आमा मेरै लागि हाँस्छिन्
थुगाँ थुगाँ मातृत्वको अनि माला गाँस्छिन्
फूल फुल्छ फुलबारीमा मन जाग्दैन
पिटे पनि आमा देखि मन भाग्दैन।
हुर्काइन् मलाई करेसामा गोडमेल गरि
समय सारा खर्चि म मा आफू ओझेल परि
यो अटुट नातादेखि कस्को डाहा लाग्छ?
छुटाउन खोजेदेखि झन् चाहा जाग्छ।
हुर्काइ बढाई सर्वथाले देखाइन् मलाई सृष्टि
सत् असत् छुट्याइदिने उनै मेरी दृष्टि
कल्पिएरै रुन्छिन् मलाई चोट लाग्दा खेरी
ढुकढुकी मै राख्छिन् मलाई अंगालोमा बेरी।
दिई उपहार एकताको तिम्रो मुख हेर्छु
गहभरि आँसु झार्ने तिम्रो दुःख फेर्छु
बिसाई आफ्ना दुःखहरु दियौ अभिभारा
स्वप्न तिम्रा विपना माझ जोड्नेछु म सारा।
सेवा गरौं जननीको भव सागर तर्न
शास्त्र भन्छ पर्दैन रे चारधाम गर्न
नमन गरे जननीको लाग्छ ठूलो गुन
बजिराख्छ हृदयमा कोमलताको धुन।।