छिमेकी राष्ट्र भारतमा
चुनावी सरगर्मी बढिराख्दा खेरी
जताततै मोदी कै गुणगान
बजिराख्दा खेरी,
म त्यो नवजवान हुँ
जो हरेक तिम्रा भाषणहरू
सुनेर अतिरञ्जित हुने गर्थें,
तिमी जित्ने आशाका
फूलहरू
नेपालमा बसेर नै सही
तन मनमा फुलाइरहन्थे,
तर आज तिम्रो परिणाम सुन्दा
दिल खोलेर लेख्न
मन लागेको छ
एउटा कम्युनिस्ट विचारक र
तिम्रो शुभचिन्तक भएको नाताले,
यो चोटीलाई यस्तै भो कमरेड
अर्को चोटी यही जुनून र उत्साह लिएर
तिमी मैदानमा जरूर आउनेछौ
र हरेक बेगुसरायको धड़कनमा धड्किरहनेछौ!!
कन्हैयाकुमार
यो हार कदापी तिम्रो होइन
बरु तिनीहरूको हो
जो तिमी र तिम्रा बुलन्द आवाजहरूमा दुष्प्रचार फैलाइरहेका थिए,
जस्तो कि
तिमी अफजल प्रेमी हौ
तिमी पाकिस्तान प्रेमी हौ
तिमी हिन्दू विरोधी हौ
तिमी देशद्रोही हौ
अनि तिम्रो सुनौलो मोर्चा टुकडे टुकडे गैगं हो,
यी तमाम दुष्प्रचारका बाबजुत
किसान मजदूर अल्पसंख्यक दलित गरिबको आवाज उठाउने तिमी
अनि शिक्षा रोजगार आम तमाम सुविधामा जनताको पहुँचको प्रश्न उठाउने तिमी
अनि यो हार तिम्रो कसरी हुन सक्छ?
तिम्ले उठाएको मुद्दा कसरी हार्न सक्छ?
कन्हैयाकुमार
घिस्रिएर बस्ने मान्छेका अघि
तिमी पङ्ख हौ,
तिम्रो हृदयमा अपार झिल्का छ
जस्को दर्शन मात्र पाउँदा समेत
कापेका छन् हजारौं भ्रष्टाचारीहरू,
तिमीमा विश्वासको जादू छ
सच्चा विकासको टुना छ,
तिमी उठ्नु मात्र पनि
जनताले
गरिबीको विशाल जञ्जिरबाट मुक्त पाउनु हो,
एक इसारामा तिमी त्यहीँ मैदानमा उफ्रियौ
यताउति हेरेनौ
पछाडि फर्किएनौ
सत्यको ध्वजा फर्फराइरह्यौ,
कन्हैयाकुमार
तिमीले हारेका छैनौ
हार त तिनीहरूको भएको छ
जो तिमीलाई हरपल हारको माला पहिर्याउन तम्तयार थिए!!
तिम्रो माटो
तिम्रो बेगुसराय
जहाँ आशाको किरण झर्यो
बीउ रोपियो
सुगन्ध फुल्यो
अब
जनजीविकामा गुलाबी लाली पोख्न बाँकी छ
त्यही बास्नालाई हावाले दूरदूरसम्म पुर्याएर
देशका आम नवजवानहरूलाई
फुल्नको निम्ति प्रेरणा दिन बाँकी छ!
कन्हैया कुमार
तिमीले हारेका छैनौ
हरेकको मन जित्ने तिमी
कसरी अंक गण्डितमा समाहित हुन मिल्छ?
र हरेक युवाको राजनीतिक आस्था बन्ने तिमी
यति सजिलै हार्ने पनि छैनौ,
बेगुसरायको पटकथा लेख्न अझै बाँकी छ,
आगामी दिनका निम्ति
हृदयदेखि नै शुभकामना तिमीलाई !!!