प्रिय मोदी!
पृथ्वीको सानो प्यारो टुक्रा
शान्तिका दूत भगवान बुद्ध र सगरमाथाको देशबाट
म एउटा नेपाली नागरिक
भारतको लोकसभा चुनावबाट
स्पष्ट बहुमतसहित
तिमी फेरि प्रधानमन्त्री चुनिन लागेकोमा
हार्दिक बधाई तथा शुभकामना
व्यक्त गर्न चाहन्छु
तर फेरि नाकाबन्दी नगर्ने सर्तमा!
प्रिय मोदी!
तिमी र तिम्रो दल भाजपाका
चुनावी मुद्दाहरूको अनुमोदन गर्दै
यति ठूलो जनसमर्थनका बीच
तिमीले उठाएका महत्वाकांक्षा र
आम जनताका चासोहरू
कसरी सम्बोधन हुँदै जानेछन्
आखिर हेर्न बाँकी नै छ!
व्यापक हिन्दुत्वको एजेण्डामा निर्णायक बनेर
कसरी मुसलमानहरूको
सामाजिक आर्थिक र शैक्षिक रुपान्तरणमा
अभिभावकत्व ग्रहण गर्छौ
यो पनि हेर्न बाँकी नै छ!
साथसाथै
राष्ट्रिय अन्तर्राष्ट्रिय सम्बन्ध
दुई अंके आर्थिक वृद्धिदर
बेरोजगारी गरिबी र किसान मजदूरका आम समस्या
बिद्रोही शक्तिसँगको व्यवहार
काश्मिरी नीति
कानुनी व्यवस्था र राष्ट्रिय सुरक्षा
सबै सबै हेर्न बाँकी नै छ!
यो भन्दा ठूलो कुरा
तिम्रो दक्षिण एसियाली छिमेक राष्ट्रसँगको सम्बन्ध
अझ नेपालसँगको
कूटनीतिक र भाईचाराको सम्बन्ध
कस्तो हुन्छ भन्नेमा
आम चासो र विश्लेषणका साथ
हामी नेपालीहरू प्रतीक्षारत छौं!
विश्व मानचित्रमा
कतै बुँद सागरमा बिलाए जस्तो
तर आफैंमा दिव्यमणि
विश्वको केन्द्र भए पनि
आज मेरो देश नेपाल
अनेकौं व्यवस्थाहरूसँग लुकामारी खेलिरहेथ्यौ
अब विकास र समृद्धिको
सुनौलो प्रभात देख्न चाहन्छ!
यसै क्रममा विगतमा
नाकाबन्दी र हस्तक्षेपकर्ताका रूपमा
तिमी चित्रित भएर आयौ,
त्यस अभाव र उत्पीडनले
विश्व बन्धुत्व सिकाउने नेपालीहरू
दुःखी भए!
तर केही छैन
तिम्रो जितको खबरले
सर्वोच्च शिखरको काखमा
सुशोभित यी मनहरू फेरि प्रफुल्लित भएका छन्!
अब नेपालको
राजनीति स्थायित्व
लोकतान्त्रिक सुदृढीकरण
र आर्थिक प्रगतिमा प्रोत्साहित
गर्ने जोस र उमंग बोकेर
तिमी जरुर नेपाल भ्रमणमा आउनु!
तिमीलाई स्वागत गर्न
नेपाली मनमुटुहरू शिरमा राष्ट्र स्वाभिमान र अञ्जुलीभरि
लालीगुराँस लिएर पर्खिबस्नेछन्!
पशुपतिनाथले तिम्रो र तिम्रो देशको
रक्षा गरून्!
हार्दिक शुभकामना!!