तिम्रो उग्ररूपको आज किन दियौ नि खै दर्शन
सौन्दर्यमाथि बज्रपात भयो आतिन्छ मेरो मन
अलंकार दिव्यमणिले यो मुहार थियो सुशोभित
तातो पोल्ने अम्ल हुत्याइ ममाथि गरेनौ तिम्ले हित।
नेत्र बाहु मुख पद गहना देहमा थिए प्रशस्त
तिम्रो घमण्ड चातुर्य खेल यो लाग्छ आश्चर्ययुक्त
कुसंस्कार प्रवृत्ति घिनको लौ टिक्दैन यो लोकमा
धिक्कार छ तिमी जन्म लियौ नेपाल आमाको कोखमा।
दाइजोमाथि रियाल चुहाइ नारीलाई दिन दहाडै जलाइन्छ
बलात्कारी पुरुषलाई खै कहाँ कडा मुद्दा चलाइन्छ??
यौनदुराभाव राखी नारीमाथि घरेलु हिंसा गर्दछन्
राखी समभाव एकताको खै !कुन पुरुष अघि सर्दछन्??
रसाएर आँखा यो मेरो आँसु भरिएछ टलपल
हँसिलो यो अधरमा छायो कोइलीको झै व्याकुल
जाउ कता,चालू पाइला कहाँ? केही पनि जान्दिनँ
अधर्मीमाथि विजय देउ मलाई,हे दुर्गा विचारीकन।
जिन्दगीका जीवन हुन् नारी,हुन् प्रकाश चेतना
सृष्टिको यो सुगन्धले किन भोगिरहेछ यातना??
साक्षात् ईश्वर झै माया भवमा नारी अलौकिक हुँदा
निन्दा गर्दछन् मूर्खहरू,अज्ञानले ढाकिँदा।
सकूँ बदल्न समाजमा जे छ व्याप्त दुर्भावना
म एउटा अबला नारी आफैंमा तयार छु,गर्न साधना
नारीमाथि हिंसा गर्ने अपराधी, जो जहाँ छन् जति
कामना यही फैलियोस् तिनीहरूमा चाँडै नै सद्मति।।