विकासको ओरालो युगहरूमा
उकालो लागिरहेछन् भ्रष्टाचारीहरु
दुब्ला पातला भए जनअपेक्षाहरू
अनि खिया लागे पुराना आशाहरू!
लाग्छ
हिजो आन्दोलनको साइत हेर्ने पण्डितहरू
आज श्रीपेच भिर्दै भलादमीपनमा
भिआइपी सोच पालिराख्या छन्!
हिजो सडकमा टायर बाल्नेहरू
आज आफ्नो शरीरमा
माफियाको विज्ञापन छाप्न लाग्या छन्!
हिजो जंगलमा क्रान्ति गर्नेहरू
आज काठमाडौंका गल्लीहरूमा
दलाल पूँजीवादको खुश्बू उडाउन थाल्याछन्!
खै समाजवाद?
खै लोकतन्त्र?
खै वर्ग उत्थान?
हाड नभाको जिब्रोले
जे बोले पनि हुन्छ र?
नारायणहिटीलाई संग्रहालय र
शितलनिवासलाई देवालय
मान्दैमा हुन्छ र?
यो गणतन्त्र खै! के गणतन्त्र?
जनताको शासन पाए जस्तै भा छैन!
अझै पनि गणतन्त्र आए जस्तै भा छैन!
विद्याको सर्टिफिकेट बाकसमा कोचेर
अस्ट्रेलिया पलायन भएको
लक्का जवानलाई सोध
कहाँ आयो गणतन्त्र?
चालीस कटेसी रमाउला
भन्दै खाडी मुलुक हिँडेको
विवाहित पुरुषलाई सोध
कहाँ आयो गणतन्त्र?
जमनाको रंग बद्लियो
र त पसिनाको मोल सस्तियो!
अब उर्लिंदैन सायद
बागमती सेलाइसक्यो,
आखिर
यहाँ विशिष्टताको
हिँडाइ बोलाइ
लच्काइ र हाउभाउसहित
कपालको छाँट र
जुंगाको कटाइले समेत
हामी नेपालीलाई सान्त्वना दिँदैन त
यो गणतन्त्र खै के गणतन्त्र?
तुषाराको विशाल शासनहरुमा,
धूलोमा उम्रिने जीवनहरूमा,
खोस्रिएर मिल्ने शान्तिहरूमा,
घाम र न्यानो हावाको
खोजमा डुलिरहने
जनताहरूको नाममा,
कहिल्यै आएन
कञ्जुस गणतन्त्र!
आयो होला
सायद
हरेक साल,
भविष्य निर्माणको पात्र बोक्ने उपन्यास बनेर आयो,
टुहुरा मरञ्च्याँसेहरूको नारा बोक्ने
भाषण बनेर आयो,
टुँडिखेलको चौघेरामा
अनेकौं तामझाम रमिता बनेर आयो,
सपनाहरूको भारी बोकेर
सिहंदरबारबाट सवारी बनेर आयो,
अनि धर्मराउँदो विकासलाई
सत्ताको सिरानी बनायो,
आसेपासे भ्रष्टाचारीकै
कच्चा हाँगो समायो,
हैट
कञ्जुस गणतन्त्र त
राजधानी मै हरायो!
दुःख प्रवाहका
छन्द टिप्ने सारंगीका धूनमा आएन गणतन्त्र,
गृहस्थी बन्धन र परदेशी मन
बाँचिरहेका कठिन चेहेराहरूमा
आएन गणतन्त्र,
मैनबत्तीमा भूगोल देखाउने सत्यहरूमा
पहाडका रुन्चे कथा बोल्ने
अनि
भँगेरा अक्षरहरूमा
आएन गणतन्त्र,
साँच्चै अँध्यारो झुपडीको
रित्तो भित्तेपात्रोमा
जेठ १५ त वर्षै पिच्छे
आयो ,
तर
गरिबको दैलौ टेक्न
कहिल्यै आएन
कञ्जुस गणतन्त्र!!!