उसले सिम्रिकको रातो रङ देखाउँदै
मेरो जीवन पनि रंगीन बनाउँने भनेथ्यो
त्यसरी नै जसरी
सूर्यको पहिलो किरणले
हिमाललाई रंगीन बनाउँछ
सुन्दर, मनमोहक
ऊ यसरी बोल्थ्यो
मानौं ऊ टाउकोमा रातो रुमाल बाँधेर
हावामा जोर-जोरसँग कसिलो मुठ्ठी उचाल्ने
एक स्वप्नशील युवा हो
उसको त्यो जादूमय आवाजले
मेरो विश्वास जितेर लियो
त्यसपछि उसले मेरो मन लग्यो
अनि विस्तारै लिँदै गयो
मेरो
गोत्र र गर्भ
ओठ र मुस्कान
बक्षस्थल र गुप्तांग
साहस र अठोट
सपना र संकल्प
यहाँसम्म कि
उसले मेरो हातको इशारा
र, गोडाको चालसम्म लियो
ऊ चाहन्थ्यो मेरो मन
उसको इशारामा मात्रै चलोस्
उसले भनेको थियो
मेरा फुङ्ग उडेका आँखाहरूमा
ऊ सपनाहरू भर्ने छ
ओठमा मुस्कान
र, मुटुमा प्रेमील धड्कन दिने छ
ऊ मेरो नाममा उसको नाम
जबर्जस्ती दर्ज गर्ने छैन
मेरो पेट मैसँग छिन्ने छैन
ऊ मेरो छाती गिजोल्ने छैन
र, गुप्ताङ्ग जबर्जस्ती भोग्ने छैन
ऊ मेरो अस्मिताको रक्षक हुनेछ
दूर्भाग्य,
ऊ त कञ्चटमा नाल राखेर
उसकै इशारामा संसार चलाउन खोज्ने
एक तानाशाह पो रहेछ
म झँल्यास्स भएँ
ओहो
म मजस्तै नभएको कति भयो हँ?
खै किन हो कुन्नि
आजकल मलाई 'सिम्रिक'हरू
'रंगहीन' लाग्छन्
Twitter: @tdahal1