फोटो राखे फेसबुकमा ‘कमेन्ट’को आश,
आशै गर्ने मान्छ्या जात हुँदासम्म सास ।
हेर्दैन भो आज भनी अर्कै काम थाल्छु,
के के न भो छटपटीले अनि फेरि खोल्छु ।
जब चल्न थाल्छ अनि ‘कमेन्ट’को वर्षा,
जति जति ‘कमेन्ट’ बढ्यो मनमा बढ्छ हर्ष ।
केही चिज पाउनलाई गुमाउनु नि पर्छ,
जसको गर्छौ ‘कमेन्ट’ तिम्ले उसको त्यसै झर्छ ।
चाउरी गाला लुकाई दिने कालोलाई सेतो,
हात हात क्यामेरा छ चिन्ता गर्छौ के को ?
भित्र पिडा लुकाएर सेल्फी खिच्नु पर्ने,
खुट्टा अलि तन्काएर पेट थिच्नु पर्ने ।
अनि मात्र स्लिम राम्रो देखिन्छ रे रेन्ते,
अस्ति फोटो खिच्ने बेला साथी त्यसै भन्थे ।
कस्तो आयो फेसबुकमा फोटो राख्ने चलन,
राम्रो राम्रो देख्दाखेरि मनमा बढ्ने जलन ।
घुम्न गा’को फोटो देख्दा आफू जाउँ जाउँ लाग्ने,
मिठो खा’को पनि देख्दा आफैं खाउँ खाउँ लाग्ने ।
गहना र साडी हेर्न फेसबुकमै आउँछु,
लोग्नेलाई थाहै नदिई बजारतिर धाउँछु ।
भए भरका गरगहना ती देखाउन राख्छु,
मौका छोपी बस्या चोरलाई आफैंले नै डाक्छु ।
फेसबुकैले गर्दा खेरि बिग्र्यो मेरो लत,
कहिले जल्या तरकारी छ कहिले काँचो भात ।
कति गर्थें घरको काम घरकै हुन्थ्यो टन्टो,
आजभोलि जे गर्दा नि फेसबुकमै मुन्टो ।
केटो माग्न आ’को कुरा जब चल्छ घरमा,
कुरो छिन्न सजिलो छ फेसबुकैको भरमा ।
हात हात मोबाइल छ फुर्सद छैन बोल्ने,
डन्डी बियो, चारी अब कसले होला खेल्ने ?
चारजनाको परिवार चार कुनामा बस्छन्,
के देखाउँछ मोबाइलले एक्लै एक्लै हाँस्छन् ।
लोरी, कथा सुनाउने आमा कता गइन् ?
हिजोसम्म गुनुगुनाउथिन् आज कता गइन् ?
बालदेखि बुढोसम्म कस्तो लत बस्यो,
उम्कनलाई गाह्रो छ है अब मान्छे फस्यो ।
सुत्दा पनि आँखा त्यहीँ छ उठ्दा पनि त्यहीँ,
हे भगवान! के भो यस्तो बुद्धि देऊ न केही ।