मलाई सपनाहरू फसलझैं लाग्छन्
मेरा बाले मुठ्ठी फालेर
मुरी उब्जाउन फालेका अन्नका दानाझैं
मेरा बा फाँटमा अन्न फाल्नुअघि
कोल्टीले बाँझो फुटाउँथे
डठेल्लोले डल्ला फुटाउँथे
माटोमा मलजलसँगै
मिसाउँथे पसिनाका थोपाहरू
र, कल्पिन्थे लहलह झुल्ने भाग्य
उनी अन्न भित्र्याउन
पोहोरको भन्दा ठूलो भकारी किन्थे
तर,
उनले रोपेका सबै बीज कहिल्यै अंकुराएनन्
अंकुराएकाहरू पनि साना, मझौला, ठूला
आकार-आकारमा उम्रिए
केही हर्लक्क बढे
मानौं ती भर्खरै क्रान्ति (?) सकेर निस्किएका
भर्भराउँदा नेताहरू हुन्
केही माया लाग्दा देखिन्थे
मानौं ऊ कर्णालीको पखाला पीडित
उपेक्षित जनता हो
तर,
मेरा बाले
साना, ठूला, मझौलालाई
उत्तिकै माया गरे
उत्तिकै गोडे
उत्तिकै मल र पानी हाले
तै पनि सबै बिरुवा फुल्न सकेनन्
फूलेकाहरू सबै फल्न सकेनन्
फलेकाहरू बराबर फलेनन्
हर्लक्क बढेकाहरू पनि पोथ्रिए
पोथ्रिएलाझैं लागेकाहरू मज्जाले फले
पोहोर पनि बाले सोचे जस्तो अन्न भएन
र, भन्थे अर्को साल म खेत बाँझै राख्ने छु
फसल उम्रिन नसक्नु
जमिनको मात्रै दोष थिएन
झन् फुल्न -फल्न नसक्नु त
मेरा बाको दोष हुँदै होइन
अङ्कुराउन, फुल्न र फल्न त
फसलमा पनि तागत चाँहिदो रहेछ
मेरा धेरै सपनाहरू
उम्रिन नसकेका फसलझैं लाग्छन्
अहिले वैशाखको अन्तिम हो
मेरा बूढा बा गोरुको पछि-पछि
अनौं समाएर बाँझो फुटाउँदै छन्
र, तल्लिन छन् ब्याड बनाउन
मेरा बालाई हेरेरै म अहिले फेरि
नयाँ सपनाहरू कोरल्दै छु।