कविता:
तिमीलाई पढाउँदा पढाउँदा मेरो घाँटी सुक्थ्यो
तिमीलाई पढाउँदा पढाउँदा मेरो छाती दुख्थ्यो
तर पनि खोकी रहन्थे
तिमीलाई पढाउन घोकिरहन्थे!
तिमीलाई पढाएँ
तिमीले पढ्यौ
अघि बढ्यौ
डाक्टर बन्यौ!
तिमीभन्दा खुसी म भए हुँला।
दुख्ने छाती गर्वले फुलेको थियो
दु:ख पिर सबै भुलेको थियो
यो सेतै फुलेको बूढो मनुष्यले।
तर आज यही मानिसको पेशासँग
तिम्रो बेतन तुलना गर्दै अपमान गर्दै छौ तिमी?
एकपटक तिम्रो विगत फर्केर हेर
तिमीलाई "क क न न" गराउने को हो?
तिमीले शिशुमा पढ्दा तिम्रो नाकमा बग्ने
सिंगान सफा गरिदिने को हो?
आज तिनै मान्छेहरूलाई अपमान गर्दछौ है?
उमेरमा तिमीभन्दा म बूढो भए पनि
डाक्टर साब नमस्कार भनेकै छु,
तिमीलाई भन्दा पनि
तिम्रो पेशा र ओहोदा मानेकै छु।
बरु वरिपरिका बिरामीहरू अचम्म मान्दछन्
किन यति सेतै कपाल फुलेको बूढो मान्छेले
यति साह्रै निहुरिएर नमस्कार गर्दछ,
यो फुच्चे केटालाई?
तर तिमीले आफ्नो पृष्ठभूमि बिर्सिएछौ क्यार!
त्यही मान्छे जसले तिमीलाई
अबोध बालकबाट चिकित्सक बनायो
ट्याक्टरको पछि कुद्ने केटोलाई डाक्टर बनायो
त्यही मान्छे संलग्न भनेको पेशालाई
अपमान गर्दछौ?
थाहा छ तिमीलाई आजको यो तलब बुझ्ने हुन
कति वर्ष निरन्तर प्रतीक्षा गरेको हो?
तिमी सानो छँदा मैले सुनाउने,
भोकमरीको बेलामा एक आमाले आफ्नो,
बच्चाहरूलाई ढुङ्गा पकाउँदै पर्खन भनेको कथा जस्तै!
बूढो मान्छे पसिना पुछ्दै उकाली निक्ले जस्तै
दुई सिढी माथि उक्लिएपछि बल्ल भएको हो।
मलाई या भनौं मेरो पेशालाई त सबै सँग तुलना गर्दछ्न्
कहिलेकाहीँ "मास्टर " भन्दै लुगा सिलाउने दाइसँग दाज्छन्,
हो मलाई त खुसी लाग्दछ,
सोच्दछु मैले पनि त बालबालिकाको रङ्गीन सपना बुन्छु, सिलाउँछु
उनले कपडा सिलाएजस्तै।
कहिलेकाहीँ माझी दाइसँग तुलना गर्दछन्
खुसी लाग्दछ,
सोच्दछु मैले पनि त विद्यार्थीलाई तराउँछु
अघि बढाउँछु
माझी दाइले नदी तराए जस्तै।
मैन बत्ती, गोठालो, ड्राइभर...
के के सँग तुलना गर्दछ्न् भनी साध्य छैन
तै पनि त खुसी छु।
तर किन तिमी शिक्षक सँग दाज्दै
अपमान गर्दछौ?
तिम्रो बेतन यत्ति होस् म भन्दिनँ
हुनत मैले भनेको पनि त हुँदैन!
सक्छौ संसारको सबभन्दा बढी कमाउ
तिमी नै रमाउ!
म केही भन्दिनँ,
झुक्किएर पनि आँखा लाउँदिनँ!
तर मेरो पेशासँग तुलना नगर,
यसलाई अपमान नगर!