कविता
सरकार
तिमी प्रलोभनशील र कच्चा हुनु हुँदैन,
जन्मजन्मान्तरसम्म
सेवामुखी मृगतृष्णामा बाँचिरहेछौं हामी,
सरकार तिमी पैसा र शक्तिको
भुलभुलैयामा चक्कर मार्नु हुँदैन,
मिथ्याहरू एक पछि
अर्को जन्मिँदै जानेछन्,
हामी शून्य न्यायकै
भूमरीमा अल्मलाइरहनेछौं,
सरकार
तिमी आफ्नै क्रियाका
असत्य जालहरूमा
लर्बराउँदै
धर्मराउँदै जानेछौ,
पुलिस प्रशासन लगाएर
हामी माथि ज्यादती
नगर सरकार,
माफियाका महत्वाकांक्षालाई
काखी च्यापेर
हाम्रा मागहरूमा लात्ती भकुण्डो
नखेल सरकार,
याद राख
जब कोही
च्याँठ्ठिन्छ
छटपटिन्छ
रुन्छ
त्यो घाँटीमा नाम्लो बोक्ने होस् वा
त्यो घाँटीमा इस्थेत बोक्ने होस्,
त्यसको आवाज
हरेक
गल्लीका कानहरूले सुन्नेछन्
र त्यस बखत
तिमी अझै पनि बहिरो भएको नाटक गर्न कदापी सुहाउने छैन!
लगभग महिना बित्यो
चितवन मेडिकल कलेज
सुनसान छ,
विद्यार्थीहरू आन्दोलित छन्,
डाक्टर बन्ने सपनाहरू स्खलित छन्,
अभिभावकहरू दिग्भ्रमित छन्,
अब लुट्न नपाउने हो कि!भन्दै माफियाहरू सशंकित छन्,
अनि
सरकार!तिमी मौन छौ,
लाग्छ
तिमी पनि माफियाकै अन्धभक्त हौ,
नत्र
यो शान्त आन्दोलनको
फाइदा उठाइ,
कसरी प्रहरी प्रशासन लगाएर
ताला खोल्न सक्थ्यौ र???
के देश बिरामी हुँदा
हामी चाहिँदैन र???
के जाजरकोटको
बिरामीमा तिम्रो रूप झल्किँदैन र???
के माफियाको मनपरितन्त्र
सिंहदरबारबाट चिहाउँदैमा पुग्छ र???
चेतना होस्,
सरकार
हामी महमा टाँसिने माखाहरू होइनौ,
अन्यायको अत्याचार
विरूद्ध संघर्ष गर्दै,
देशलाई निको पार्न
हौसिएका
भविष्यका कर्णधारहरू हौं,
यो सेतो एप्रोनको गरिमा
र पेशाको इमानलाई
माफियाको टुनामुनाले बहकाउन सक्दैन,
हेर्दै जाउ
सरकार
आज हजार छौं
भोलि लाखौं हुनेछौं,
नियमविपरीत अतिरिक्त
शुल्क लिनेविरूद्ध लडिरहनेछौं,
हामी अघि बढिरहनेछौं,
अवश्य एकदिन
तिम्लाई
माफियासँग सम्बन्ध विच्छेद गरेर
हाम्रा आवाज सुन्न कर लाग्छ,
हाम्रा दृश्य हेर्न कर लाग्छ,
हाम्रा लागि
बोल्न कर लाग्छ!!!!