लोभको जालो बुन्दाबुन्दै, देश बिग्रियो हाम्रो,
त्यै जालोमा अल्झिएर, नेता छैन राम्रो।
न्यायालय, प्रशासन त्यै जालोले तान्यो,
स्वास्थ्य शिक्षा क्षेत्र पनि नराम्ररी हान्यो ।।
बोल्न खोज्छौ अन्यायमा, देख्दै चुप लाग्छौ,
जब पर्छ गोजीभित्र, अनि टाढा भाग्छौ।
स्वास फेर्न गाह्रो भयो, गुहार्ने हो कस्लाई ?
कानै चिर्या जोगी भेट्छु, खोज्न थाल्यो जस्लाई ।।
भोट माग्दा बिरालो थ्यौ, सिंह भयौ आज,
लाज पचाइ फेरि जान्छौ, जनताको माझ ।
बेरोजगारी हाहाकारी, फैलियो महामारी,
हिँडे युवा देश छोडी, आँसु गह भरि ।।
बुवाआमा, प्यारी अनि, छोड्नु पर्यो देशै,
मौका पाए स्वदेशमा, को जान्थ्यो र त्यसै ?
मन मुटु देशमै छोडी, उडे आकाशैमा,
कोही अझै पत्तो छैन, कोही बाकसैमा ।।
ऋणमा डुबी गाउँ छोडे, तिर्न अझै बाँकी,
छोरो भन्दै प्राण त्यागिन्, पल्ला घरकी काकी ।
खुन पसिना बगाएर, जम्मा गर्या जति,
धन सबै कुम्ल्याएर, खोजिन् अर्कै पति ।।
उर्लंदो त्यो बैंश, त्यसै खेर फाल्नु भन्दा,
कति कुर्नु वर्षौं बित्यो, दिन गन्दा गन्दा।
भन्दै प्रिय छोडी गइन्, एक्लो पारी आज,
न त सके ऋण तिर्न, न परिवार माझ ।।
कालो धन कमाउनेको, मनै पनि कालो,
सबै मिली च्यातौं अब, भ्रष्टाचारको जालो।
जनतालाई भिडाइदिने, लक्ष्य आफ्नो एउटै,
भुमरीमा पसेपछि, असुर बन्छन् देउतै।।
कर जति उठे पनि, पुग्ने होइन देशमा,
रित्याइसके ढुकुटी त, सेवकको भेषमा ।
बलात्कार र हत्याकाण्ड, साह्रै मौलाउँदै छ,
नेता बहुला परेपछि, देशै बहुलाउँदै छ ।।