प्रिय हाकिम,
तिम्रो छातीभित्र पनि धड्किन्छ मुटु
र, तिम्रा शिराहरूमा पनि बग्छ रगत।
एकै साथ
मेरो छातीभित्र पनि धड्किन्छ मुटु
र, मेरा शिराहरूमा पनि बग्छ रगत।
तर, तिम्रो मुटु र मेरो मुटुमा
अनि तिम्रो रगत र मेरो रगतमा
आकाश –धर्तीको भिन्नता छ।
किनकि, तिमीभित्र हाकिमको मुटु छ
र हाकिमकै रगत पनि।
जो मेरो मानवीय मुटु र रगतभन्दा
उच्चकोटीमा राख्ने गर्छ तिमीलाई।
हरेक पुर्णेमा आकाशमा आउँछ सौदामिनी
चमचम चम्किन्छे र नाच्छे चाँदनी माया।
प्रिय हाकिम,
तिमी तिम्रो छतबाट नियाल्छौ जुन
र, म मेरो छतबाट नियाल्छु एकोहोरो
उही धर्ती हो र उही आकाश
तिमीलाई छुने शितलता
मेरो समिपमा पनि आउँछ।
तर, तिमीले देख्ने जुनमा
र, मैले देख्ने जुनमा
हजार माइलको अन्तर छ।
किनकी, तिमी तिम्रो घरको छत अग्लो देख्छौ
र, जुन तारालाई छिमेकी ठान्छौ।
म मान्छेलाई छिमेकी गन्छु
तिमी छिमेकी बिर्सेर जुन तारा गन्छौ।
फरक यही त हो नि
म मान्छे अनि तिमी हाकिम।
बिदा, घुमघाम, रमाइलो र सेवा सुविधा
सबै आफ्नै दाइजो ठान्ने तिम्रो बानीले
मेरा कति दसैं तिहार र नयाँ वर्ष
तिमीलाई नमस्कार गरेरै बिते।
प्रिय हाकिम,
तिम्रो घरमा पनि जमरा छरेको हुन्छ
र, आँगनमा मखमली झुलेको हुन्छ।
एकै साथ,
मेरो घरमा पनि जमरा छरेको हुन्छ
मेरो आँगनीमा पनि मखमली सुवास छर्छ।
तर, तिम्रो घरको जमरा र मखमलीमा
अनि मेरो घरको जमरा र मखमलीमा
तिमी अनुवांशिक अन्तर देख्छौ र भन्छौ,
मेरो घरको जमरा पो जमरा
तिम्रो घरमा त जौं पो उम्रेको।
र थप्छौ, मेरो घरको मखमली न मखमली
तिम्रो आँगनमा त झार भरिएछ।
फेसबुकमा देख्छु दसैंको दिन तिम्रो फोटो
निधारमा रातो टीका
अनि चोलीको तुनामा पहेंलो जमरा।
आहा ! कति राम्रो सुहाएको तिमीलाई
मानौं सुन्दरता जति त्यही मुस्कानमा लुके जस्तो।
प्रिय हाकिम
तिम्रो जस्तै निधार मेरो पनि छ
दाउराको तुना मेरा पनि छन्।
मलाई पनि बाबा आमा र मान्यजनको आशिष
पटक्कै तीतो र नमीठो लाग्दैन।
तर मलाई सुन्दर लाग्ने तिम्रो
लाल निधारले
मेरो लाल निधार कहिल्यै देख्न सकेन ।
किनकी, भाविनीले तिमीलाई
हाकिमको निधार दिएर गइन
र मलाई मान्छेको निधार।
नढाटिकन भनि देऊ न प्रिय हाकिम
तिमी तिम्रो घर भरि मान्छे भएको बेला
तिमी तिम्रो घरमा एक्लो भाको बेला
भान्सामा मीठो पाकेको बेला
बजारमा राम्रो नाना देखेको बेला,
तिमी तिम्रो छोरा सम्झिदैनौ र ?
पहाडको फेदमा
घाँस, दाउरा मेलापात जाने मेरी आमाले पनि
मेरो यादमा टोलाउँदा
दर्जनचोटि घाँस काट्दा हात काटेकी छिन्।
पानी पँधेरोमा मेरो यादले झस्क्याउँदा
कम्मरको गाग्री भुइँमा फालेकी छिन्।
तर, तिमीले सम्झिने छोराको अगाडि
मेरी आमाको यादमा आउने छोरा
तिमीलाई छोरा जस्तो नै लाग्दैन।
किनकी तिमीलाई हाकिम हुनुमा गर्व छ
त मेरी आमालाई महतारी हुनुमा।
प्रिय हाकिम
तिमीले यसपालिको दसैंमा
बिदा दिएछौ भने नवमीको राति
म मेरो गाँउको दुर्गा भवानीको थापनामा
रातभरि जाग्रम र चण्डी आरधाना गर्दै
एउटा मात्रै बर माग्ने धोको छ।
त्यही एउटा धोको
तिमी हाकिमबाट मान्छे भएको हेर्ने धोको।
आटेको पुग्ने भए, मागेको पुग्ने भए
एउटै कुरा माग्न मन छ
‘भगवानले तिमीलाई हाकिमबाट मान्छे बन्ने शक्ति दिउन्।’
प्रिय हाकिम
वडा दसैंको लाखौं लाख शुभ-कामना तिमीलाई ।