कविता
भैगो
चिसो शीत नझरोस्
पारिजात नफुलोस्
दूबो नमौलाओस्
आँगनमा ढकमक्क सयपत्री नफुलून्
कसैले आँगन सफा नगरोस्
घरमा रंग-रोगन पनि कसैले नगरून्
बार्दलीमा दीप पनि कसैले नबालोस्
धानका बाला पनि आजभोलि नै
लहलह नझुलून्
गाउँमा रोटे पिङ नहालियोस्
रातो माटो बोक्नेहरू मेरो घरको बाटो नहिँडून्
परदेशीहरू मेरै घरको बाटो गाउँ नफर्किउँन्
सितार र बाँसुरीका मंगल धून पनि नबजून्
कसैका आँगनमा पनि देउसे भैंले नजाउँन्
छिमेकी मेरै घरको आँगनमा टेकेर
आफ्नो छोरो घर फर्केको, छोरी आउँदै गरेको
मेरा बा-आमालाई नसुनाओस्
स-साना नाति-नातिना उसकै काखमा लुट्पुटिएको
उसैका गाला मुसारेको
कलिला हातहरूले गरेको
कसिलो प्रेमील आलिङ्गन त झन् भन्दै नभनोस्
ती निर्दोष कलिला खुट्टाहरू
बाख्राको पछि-पछि दौडेको
पानीकिरो समात्न उसले पूरै साँझ खर्चेको
केही पनि नसुनाओस्
बाछोले माउको दूध खाँदा
अचम्म मानेर हेर्ने पल्ला घरे नातिनी देखेर
मेरी आमाले डोको बिसाएर
मलाई दूध खुवाएको पनि नसम्झूँन्
भैंसीलाई पछ्याउँदै हिँड्ने पाडोसँगै
रमाएको तल्ला घरे नाति देखेर
मेरा बाले मेरो दाजुलाई स्कुल लगेको पनि नसम्झूँन्
गीत बजेको सुन्नासाथ नाच्ने
साम्ने घरका चिचिला देखेर
बा-आमालाई दिदी-बहिनीहरू नाचेको
झल्झल्ती सम्झना नहोस्
मेरो घरको आँगनमा आएरै
कसैले उसको आँगनभरि छोरा-छोरी
अंगालोभरि नाति-नातिना भएको
सुनाउँदै नसुनाओस्
किनकी
मेरा डाँडाका जूनहरूलाई
हाम्रैको पैताला डोब भएको
पुरानो घर अगाडिको सुनसान आँगन मनै पर्दैन।
Twitter: @tdahal1