ए अँ तिमीले कसरी बिर्सन सकेको?
हामी त नेता पो हौं नि
हामीलाई त जे गर्न पनि छुट छ नि
किनकी हामी जनताको लागि जेल बसेका छौं
संघर्ष गरेका छौं कम्ती दु:ख पाएका छौं
त्यसैले हामीले जे गर्न पनि पाउनुपर्छ
हाम्रा कार्यमा प्रश्न उठाउने नाथेहरू को ?
के हाम्ले जोगी बन्न राजनीति गरेका हौं र ?
हो हामीले भ्रष्टाचार गर्न पाउनुपर्छ
हत्या हिंसा, बलात्कारमा हामीलाई छुट दिइनुपर्छ
कानुन र नियम त नाथे जनतालाई पो हो त
हामीलाई त के कानुन ? के नियम ?
जनताहरूको त कामै हामीलाई प्रश्न गर्ने हो
तिनीहरू जति खाए पनि नअघाउने घुन जस्तै हुन्
ती नाथेले विरोध गरेर हाम्रो रौं हल्लन हुँदैन
हामीले टेकेको धर्ती डगमगाउन हुँदैन
किनकी हामी त नेता पो हौं नि
एसो विगत फर्केर सोच त
हामीले यी नाथे जनताका लागि के सम्म गरेनौं?
खाली खुट्टा ज्यान हत्केलामा राखेर लड्यौं
ऊ बेलाका नेताले हामीलाई कति दु:ख दिए
बल्ल हामीले भनेजस्तै हुने भयो
चुनाव हुन लाग्यो
तर हामीलाई कहाँ सजिलो थियो र चुनाव जित्न?
यी नाथे जनतालाई नमस्कार गर्यौं खुट्टै ढोग्यौं
कम साना दु:खले नेता भएका हौं हामी?
चप्पल पड्काउँदै खाली खुट्टा सिंहदरबार छिर्यौं
अनि? यत्रो दु:ख गरेर बल्ल बल्ल नेता भएपछि
हामीले अलिकति भ्रष्टाचार गर्न नपाउनु ?
सहरमा जाबो १/२ ओटा दरबार बनाउन नपाउनु?
अलिकति सरकारी जग्गा सस्तोमा किन्न नपाउनु?
ठूला आयोजनामा अलिकति रकम आफ्नो खातामा हाल्न नपाउनु?
जनताकै लागि रातोदिन लागिरहेका छौं
हामीले आफ्नो शासन चलाउन जनताबाट कर उठाउन नपाउनु?
हरेक पल जनताकै लागि लडेका हामीले बदलामा के पायौं ?
खाली विरोध खाली विरोध! तरिका हो?
हामी त नेता पो हौं नि
हो हामीले जनताका लागि धेरै सोच्यौं
यसरी अरुका लागि सोच्ने यो कलियुगमा को छ?
बल्ल आफ्नो लागि सोच्न थालेका मात्र के थियौं
आफ्नो लागि थोरै सम्पत्ति जोडेका मात्र के थियौं
आफन्तलाई सरकारी जागिर खुवाएका मात्र के थियौं
यी नाथे जनताहरू सल्बलाउन थालिसके
हामीलाई नानाथरी भन्न थालिसके
आफैंले चुनेर पठाएको नेतालाई जे पायो भन्ने?
यस्तो पनि लोकतन्त्र हुन्छ?
तरिका हो? जे मा पनि विरोध गर्ने?
हामीलाई चिनेर पनि नचिने झैं गर्ने?
हामी त नेता पो हौं नि
एसो गम्भीर भएर सोच त
खाली खुट्टा हिँडेको के को लागि हो?
जेलनेल भोगेको केको लागि हो?
प्रजातन्त्र लोकतन्त्र यी नानाथरी तन्त्र ल्याएको केको लागि हो?
त्यत्रो आन्दोलन त्यत्रो संघर्ष केको लागि हो?
जोगी बन्नको लागि हो र?
हामीले त्यस्तो दुख गर्यौं
अनि अहिले ठाउँमा हुँदा एसो छिस्स केही गर्न नपाउनु?
हो जनतालाई सुविधा दिन्छौं भनेकै छौं त
अनि पहिले आफूले सुविधा नपाई अरुलाई कसरी दिने ?
अरुलाई दिन पहिले आफू सम्पन्न हुन परेन?
यी नाथे जनताले खै बुझेको?
अरुलाई दिन त पहिले आफूलाई पुग्ने भन्दा धेरै भए न दिने हो
हामीलाई पुगेकै छैन
हामी त नेता पो हौं नि
जनताहरू बुझ्दैनन् र बुझ्न पनि खोज्दैनन्
नत्र त्यत्रो दु:ख पाएका हामीले केही गर्यो कि यसरी विरोध गर्थे?
इत्ति सुन पचायो विरोधै गर्या छ
इत्ति सरकारी जग्गा पचायो विरोधै गर्या छ
कसैका छोरीचेलीमाथि आँखा लायो विरोधै गर्या छ
सानातिना काण्ड हुन्छन् विरोधै गर्या छ
आफ्नो लागि थोरै भत्ता बढायो विरोधै गर्या छ
केही गर्यो विरोधै नगर्यो विरोधै
तरिका हो? हामी त नेता पो हौं नि
ए मुर्ख जनता हो
तिमीलाई पनि नेतालाई झैं सुविधा चाहियो होइन?
तिमी पनि नेता जस्तै कानुनभन्दा माथि हुनुपर्यो होइन?
तिमीले पनि नेताले झैं छुट पाउनु पर्यो होइन?
भ्रष्टाचार बलात्कार गर्न पाउनु पर्यो होइन?
सुन-नुन सबै पचाउन पाउनु पर्यो होइन?
त्यही होइन तिमीहरूको माग?
त्यत्ति होइन तिमीहरूले खोजेको?
तर तिमी आफू को हौ भन्ने सोचेका छौ?
आफ्नो धरातल छामेका छौ?
जनता र नेताको फरक थाहा छ?
जनतालाई पनि नेतालाई जस्तै सुविधा दियो भने के हुन्छ थाहा छ?
जनतालाई पनि नेतालाई जस्तो सुविधा भयो भने
कि जनता जनता हुन्छ कि नेता नेता हुन्छ
अनि नेताले को माथि शासन गर्ने सोच्या छ?
त्यसैले
हो हामी नेता हो, नेता भनेको नेतै हो, नाथे जनतासँग तुलना गर्ने?
त्यसैले नेताले जे गर्न पनि छुट पाउनु पर्छ