कविता:
चारैतिर हल्ला आज नेता महराको,
देशकै सभामुख हरे कस्तो व्यहोराको ?
सहमति हुँदासम्म सबै कुरो मिल्यो,
माग पूरा नहुँदामा बारुलोले चिल्यो ।।
ओली बाको उखान टुक्का देउवाको बोली,
सुन्न बुझ्न गाह्रो भयो के के हुन्छ भोलि।
कस्का लागि ओली बाले कमाउनु र धन ?
बाँकी जीवन देशलाई देऊ बढ्छ तिम्रो शान।।
देउवाको सर्कसमा चटके को राज,
त्यसैले त पाखा बसी हेर्नु पर्यो आज।
मौका छोपी मात्र तिमी नबसेकै वेश,
भाइ भाइ भिड्न थाले रहँदैन देश।।
चतुर नेता प्रचण्डमा के छ टुना मुना?
बाँदर त्यसै नचाइदिन्छन् डमरु नै बिना।
रगतको खोलो बग्यो नेता चाहिँ पुलमा,
हजारौंको ज्यान गयो यिनको एउटा भूलमा।।
बाबुरामको पीएचडी त धमिराले खायो,
सिमापारी छिमेकीले नागरिकता पायो।
देशलाई टुक्र्याउन संघीयता रोजे,
भोट पाउने आशा राखी भारतीय खोजे।।
सुन काण्ड, हत्या काण्ड सबै काण्डै काण्ड,
एनसेलको घूस जति लाग्यो भागबन्डा।
न्यायालय किनी सके जानु छैन जेल,
जादुगरको जादु जस्तो यी नेताको खेल।।
भागबन्डा मिलेपछि लाग्नै पर्यो तिर,
देशको लागि गरौं भन्ने कस्लाई के को पिर?
कोही भन्छन् गणतन्त्र कोही लोकतन्त्र,
यो चालले कैले बढ्ला देशको अर्थतन्त्र?