समय एकनासको हुँदैन
रोटेपिङ चै
घुमिरहन्छ,
र स्मरणमा रहिरहन्छ
ती दिनहरू
जस्का लागि दसैं एउटा चाड
मात्र होइन
सबै इष्टमित्र भेटघाट हुने
अवसर बनेर आउँथ्यो।
घटस्थापनादेखि नै
स्कुल बिदा हुन्थे,
घर पोत्न रातो माटो
खोज्न गइन्थ्यो,
चुनाले घर रंग्याउन
सबैलाई हतार हुन्थ्यो,
लाहुर गएकाहरू धमाधम
घर फर्किन्थे
सहर पढ्न हिँडेका दौतरीहरू
गाँउ फर्किन्थे
कस्को घर कत्रो खसी काट्न लाए
भन्दै हेर्दै हिँडिन्थ्यो
नयाँ लुगा र सिंगार पटारले
शरीर सजिन्थ्यो
टीकाको दिन रातैभरि
टुकी बालेर दक्षिण बटुल्न हिँडिन्थ्यो,
कस्ले कति पायो भनेर
खाम उप्काई उप्काई हेर्न हतार हुन्थ्यो,
प्रसादमा घरमा फलेका केरा
खाँदा खाँदा उत्पात अघाइन्थ्यो!!
आजकल दसैं
फरक र भिन्न हुँदै गयो,
फेसबुकले नै
जमरा र टीका थाप्दै गयो
र युट्युबले आशिष दिँदै गयो,
समय यति परिवर्तन भयो कि
दसैंमा घर फर्किन
ऊ बहाना फेर्दै गयो
गाँउदेखि ऊ अघायो र
सहरमा नै रमायो,
गाउँ फर्किहाले पनि
उस्ले चौतारा भुल्यो
पधेँरो भुल्यो
मामाघर भुल्यो
आखिर ऊ फेरि
'एट माइ स्वीट होम' भन्दै
फेसबुकमा नै रमायो!
न पिङ न तास न त केही खास
भएन
आयो गयो
कसैले पत्तो पाएन,
ऊ सम्पन्न भयो
तर उस्ले सामूहिक्ता गुमायो
ऊ परिपक्व भयो
तर उस्ले बालापन गुमायो,
ऊ धनी भयो
तर उस्ले संस्कृतिमा गरिबी
भित्र्यायो!!