बादलको घुम्टो खोली, आकाशमा लुक्न खोज्दा,
पानी बनी झरिदिन्छ, केही क्षण रुक्न खोज्दा।
कर्कलाको पात माथि, पानी बनी बसेको त,
हल्लिएर झरिगयो, खित्का छोडी हाँसेको त।।
सुख्खा थियो बगर त, उर्लिएर भेल बन्यो,
ढुंगाजस्तै बन्न गएँ, ठोक्किएर उल्टै हान्यो।
हिमपात हुँदै थियो, जम्मा गरी साँच्न लाग्दा,
पग्लिएर साथै छोड्यो, प्रित गाँसी बाँच्न लाग्दा।।
न्यानो काख खोज्दै जाँदा, सूर्य निच पुग्ने इच्छा,
रात बनी डुबिदियो, इच्छा बन्यो त्यसै मिथ्या।।
उजेलीको रात भरि, प्रतिबिम्ब थियो मेरै,
दौडिएर भेट्न खोज्दा, रात त्यसै गयो खेरै।।
कथा जस्तो ‘डल्लो-पत्री’, मित्रता त गाँसेकै हो,
हावा पानी एकै चोटी, दु:ख दिन आँटेकै हो।
बसन्तमा पलाएका, कलिला ती पातहरू,
हुरी आई उडाएर, तोडिदियो साथहरू।।
खाँदा पनि पछुतो रे, नखाँदा त झनै कस्तो,
जिन्दगी नै बनिदियो, बनारसको लड्डु जस्तो।
गन्दै थिएँ ताराहरू, सूर्य आई झेल ग-यो,
कठै! मेरो जीवनमा, कस्ले यस्तो खेल ग-यो?
जिन्दगीको परिभाषा, संघर्ष मै टुंगी गयो,
सिधा थियो बाटो तर, मोड लिइ बाङ्गी गयो।
जता सुकै पुगे पनि, पछ्याउँछ छाया जस्तै,
सोच थियो अर्कै तर, पलट भो काया जस्तै।।
आभारी छु सेतोपाटी, भाव पोख्ने ठाउँ पाएँ,
साहित्यमा पस्नलाई, अर्को एउटा नाउ पाए।
लजाउँदै अघि बढें, अब कैले लुक्ने छैन,
पाठकको साथ पाए, कलम यो रुक्ने छैन।।