पोखरीबाट फुत्केर माछा, बाहिर गए झैं,
के-कस्तो हुन्छ छट्पटी थियो, माछामा भए झैं।
सर्पको माला बेरेर घाँटी, बसे झैं अचल,
डस्छ कि कतै लिएमा गती,भएमा चंचल।।
घुंघट भित्र लाग्दथ्यो भान, पहाड थापे झैं,
विचलित् मन काँप्दथ्यो त्यसै, धर्ती नै काँपे झैं।
सम्झेर अलि हिम्मत बढ्यो, कथाकी द्रौपदी,
पाँच छन् पति,पत्नीमा एक, के होला दुर्गति?
चिनेको छैन गाँसेर नाता, जीवन धान्नु छ,
जितेर मन मुटुमा बसी, धड्कन बन्नु छ।
गलामा पोते हातमा चुरा, शिरमा सिन्दुर,
सृंगार भित्र लुकेको थियो, प्रेमको जन्जिर।।
नजिक तान्न खोजे झैं लाग्यो, प्रेमको भाषामा,
टुना र मुना लागेछ कतै, परेछु पासामा।
जमर्को गर्ने आँट नै छैन, हेर्न त सुटुक्क,
सबैको दृष्टि मै माथि पर्दा, लाजले भुतुक्क।।
निस्कनु पर्यो छोडेर सबै, गरेर साइत,
हिजो त थियो त्यो आफ्नो घर, अब त माइत।
सम्झँदा त्यसै भक्कानो फुट्यो, धरधरी रोएछु,
देखिन राम्री गरेको सृंगार, आँसुले धोएछु।।
सफा यो पाना कोरिन थाल्यो,अनेकौं रंगमा,
अर्कैको नाम लेखिन थाल्यो,यो अंगअंगमा।
बगेको माया संगाली राख्दा,बनेछ सागर,
त्यसैमा आज पौडिन पाउँदा,खुसी छ संसार।।
मिलेमा ध्रुव चुम्बक पनि, टाँसेरै बस्दछ,
नमिले ताल चुम्बक त्यही,छुट्टेर खस्दछ।
कल्पना गरे कहानी बन्छ, भोगेमा जीवन,
ख्याल ठट्टा हैन सोचेर बाँध,विवाह बन्धन।।