हरेक दिन
पूर्वमा देखिने सूर्य सँगसँगै
तिम्रो जस्तै
मेरो पनि बिहान हुन्छ।
उही चराहरूको चिरबीर र घुर्रघुर्र
उस्तै फूलहरूका मुस्कान
एउटै हावाको सास
चामलको भात, रायोको साग, गोलभेंडाको अचार
सुँघ्ने, सुन्ने, चाख्ने उही
मिठास उही तृप्ती उही
उही डर, उस्तै भरोसा
क्रोध उही, माया उही
भोक, लोभ, डाह उही
सोध उही, खोज उही
हिउँद, वर्षा, शरद उही
निद्रा उही, आलस्य उही
आराम, व्यायाम, थकाइ उही
उही साँझ, उस्तै भाव गोधुली संसार उही
उस्तै पाइला र पुग्नुपर्ने गन्तव्य उही
तर पनि
तिम्रो र मेरो सोच फरक, आवश्यकताहरू फरक
छालाको रङले सृर्जेको साँध सीमा फरक
पर्खालले छुट्याइएका परिवारहरू फरक
दसगजा वारिपारिका देश फरक
सम्प्रदाय अनुसार ईश्वर फरक
ईश्वर अनुसार स्वर्ग फरक, नर्क फरक
यो फरक खोज्ने तिमी सही
र समान खोज्ने म गलत।