सप्तरंगहरू मिलेर बन्छ
एक सफेद रङ
पानी झैं सफेद
पहिले-पहिले
पानीबाटै टुक्रिएर बनेको
सप्तरंगी इन्द्रेणी झैं
टलक्क टल्कन्थ्यो निधार
तर, आज-भोलि
निधारका सप्तरंगहरू मिसिएर बन्छ
एक सफेद रङ
र, तप्किन्छ आँखाहरूबाट
सियोले उनेर बन्छन्
सुन्दर मालाहरू
मखमली, सयपत्रीका मालाहरू
पहिले पहिले छातीसम्मै लरक्क लर्कँन्थे
सयपत्री र मखमलीका मालाहरू
तर, अहिले तिनै मालाहरू सम्झेर
चसक्क चस्किन्छ छाती
मानौं माला उन्ने त्यो सियो नै
मेरै छातीमा गडेको छ
पृथ्वी घुम्छ र हुन्छन् दिन-रात
पहिले-पहिले ब्यग्र प्रतीक्षा हुन्थ्यो
त्यो सुन्दर दिनको
जुन दिन मेरो निधारमा इन्द्रेणी लर्कंथ्यो
तर, अहिले पर्खंन्छु
औंसीको त्यो कालो रात
र, वर्षिन्छु सिरानी भरि
ए दिदी के तिमी पनि
रातकै प्रतीक्षा गर्दै छ्यौ र?