कविता
पुगेछु राति माइती घर, सपनी बतायो,
बाबा र आमा वर र पर, सबै ती देखायो।
सम्झना आज बनायो ताजा, दशकौं अघिको,
ब्युँझेर फेरि समात्न खोजें, तर त्यो भागि’गो।।
देखेको आज सपनी मैले, विपना बनि दे,
नमिल्ने भए रातमै गई, बाबालाई भनि दे।
धेरै भो छोरी आएकी छैन, नभन्नु बिर्सिगै,
पाए त जान नाघ्दथें बुटा, उफ्रेर वर्षीकै।।
सम्झँदै आज पोख्दैछु मैले, कहानी गाउँको,
खोला र नाला त्यो हरियाली, सुन्दर ठाउँको।
उडेर जाऊँ कि पखेटा हाली, जन्मेको त्यो घर,
थाकिन कहिले दौडदा खेरि, खोला र बगर।।
आमालाई कै’ले म भन्ने गर्थें, मिठो त पकाऊ है,
मिठो छ आज मै खान्छु सबै, तिमीले नखाऊ है।
त्यो बाल हर्कत सम्झेर आज, हाँस्ने भो बहाना,
सन्तान भन्दा देख्दैन ठूलो, आमाको गहना।।
डन्डी र बियो, गुच्चा र चारी, त्यसैमा रमाउँथ्यौं,
त्यो लुकामारी लुकेर पछि, डुमलाई समाउँथ्यौं।
ती साथी संगी कहाँ छन् कुन्नि, भेट्नलाई गाह्रो छ,
थपिए नयाँ तर खै कुन्नि, बाल सखा प्यारो छ।।
गाउँका चेली बाँधेर हुल, नुहाउन गएको,
ताप्दै र घाम खोलामा त्यहीँ, निबुवा खाएको।
नुहाउनु पर्थ्यो लुकाई शरीर, लुगाले बेरेर,
फेर्नु थ्यो लुगा यता र उता, कोही छन् हेरेर।।
भुटेको भटमास, चाम्रा ती मकै, दिउँसो अर्नीमा,
लिएर स्कुल एक घण्टा हिँड्थ्यौं, टन्टला गर्मीमा।
पानीको तिर्खा मेटाउनु परे, खोज्दथ्यौं जरुवा,
दौडेमा छिटो हुन्थ्यो त्यो राजा, हारेमा हरुवा।।
संसार अब उल्टो पो भयो, जमाना नेटको,
पासवर्ड पैले मागेर बोल्छन्, जब ती भेट भो।
टाला र टुली, बटुली आज खेल्ने, को खै कहाँ?
कम्प्युटर पाए बिताउँछन् घन्टौं, बसेका छन् जहाँ।।