एक साँझ
म बसिरहेथेँ।
कुन समय
कुन मिति
पत्तै नपाइ,
कुन स्थान
कुन अवस्था
ख्यालै नगरी।
बस्दा बस्दै
म को हुँ ? बिर्सिएछु
के हुँ ? सोचिनछु।
जे भैरहेथ्यो
आफैं भैरहेथ्यो
मैले कुनै बलजफ्ती गरिनँ
म खुला रहेँ, आफूलाई रोकिनँ ।
मैले स्वासलाई हेरेँ
स्वास आइरहेथ्यो
गइरहेथ्यो...
ढुकढुकी आइरहेथ्यो
गइरहेथ्यो...
विचार आइरहेथ्यो
गइरहेथ्यो...
मैले पानीको मुहान हेरेँ
जमिन मुनिबाट
भुर्लुक्क भुर्लुक्क
पानी आफैं उम्रिँदैथ्यो।
मैले हावालाई महशुस गरेँ
हावा आफैं चलिरहेथ्यो।
आकाश आकाशमै थ्यो
घाम जुन र ताराहरू
आफैं उदाउँथे, अस्ताउँथे।
युगौंदेखि यही रीत चलिरहेको रहेछ
जल, वायु, आकाश, पृथ्वी, तेज सँगसँगै
म पनि युगौंदेखि त्यहीँ रहेछु
आफ–से–आफ प्रकट भएजसरी।
अनि मैले विचारेँ
सायद “सत्य” यही हुनुपर्छ
जो आफैं प्रकट भएको होस्
आफ–से–आफ
स्वास आफैं प्रकट भएजस्तै
ढुकढुकी, प्रेम,जीवन...
अस्तित्व आफैं प्रकट भएजस्तै।