जीवन मीठो रचना गर, आफैंले कोरेर,
नबस त्यसै कोरेको रेखा, हातमा हेरेर।
चलाऊ गाडी अवस्था हेरी, तिमी नै चालक,
सक्दैनन् हेर्न यी धर्ती माता, तिम्रो यो हालत।।
जिन्दगी हाँक्ने सबभन्दा ठूलो, आफैंमा आँट हो,
सन्तोष लिनु, त्यसैमा रम्नु, सुखको पाटो हो।
बिग्रेमा काम टुंग्याइदिन्छौ, भाग्यको दोषमा,
डोकोमा दूध नखोज दुहुन, अडिने आशामा।।
अँध्यारो भित्र आफ्नै त छाया, हुँदैन साथमा,
सपना पनि हुँदैन पूरा, देखेर रातमा।
बढाऊ गति समय सँगै, मितेरी गाँसेर,
हेरे त देख्छौ उज्यालो संसार, ऐनामा हाँसेर।।
भीमको बल देखाऊ यहाँ, नबन काँतर,
कृष्णको कथा पढेर अनि, बनिदेऊ चतुर।
कसैमा भर नपर तिमी, यो कलियुगमा,
गरेर ध्यान बर्सन्थ्यो धन, त्यो सत्य जुगमा।।
बग्दैछ तिम्रो शरीर भित्र, गोर्खाली रगत,
नाला र पानी सम्झेर अनि, देखाइदेऊ तागत।
प्रकृति पनि बस्दैन कै’ले, एउटै आसन,
दिनमा सूर्य रातमा फेरि, चन्द्रको शासन।।
जसरी शिशु लडेर पनि, दौडन छोड्दैन,
संघर्ष यहाँ नगरी कोही, अगाडि बढ्दैन।
सुनको मृग देखेर सीता, परे झैं जालमा,
नदौड त्यसै नबुझिकन, रामको तालमा।।
‘गरेमा सेवा पाइन्छ मेवा’, मीठो छ कथन,
सत्कर्म सँगै नभूल तिमी, बोली र वचन।
लिएर लक्ष्य अगाडि बढ, अवश्य पुगिन्छ,
जिन्दगी के हो भोगेर हेर, आफैंले बुझिन्छ।।