‘मामु एउटा कथा सुनाउनुस् न के,कति दिन भयो भनेको खाली भोलि भोलि मात्र भन्नुहुन्छ। नाइँ आज त सुनाउनैपर्छ’, आठ वर्षे छोराले उसँग जिद्दी गर्न थाल्यो।
केही समय अनेक बहाना बनाएर टार्न खोजे पनि उसले भने आफ्नो ढिपी छोडेन।
‘आज यसले यसै मान्लाजस्तो छैन तर कथा पो के सुनाउने होला खोइ………’ एकछिन सोचमग्न भएपछि उसले भनि ‘ठीकै छ, म आज तिमीलाई पक्का सुनाउँछु ल सुन है त।’
‘एकादेशमा एउटा काग थियो। उसलाई धेरै तिर्खा लागेर पानीको खोजीमा ……..’अगाडि छोरो हतपत बोल्न थाल्यो ‘ह्य़ा मामु यो त (थ्रस्टी क्रो) मैले पहिले नै सुनिसकेको।’
‘ए हो र ल त्यसो भए अर्को सुनाउँछु है त?’
‘एकादेशमा एउटा गाउँमा कालु नाम गरेको केटो बस्थ्यो। ऊ बाख्रा चराउन दिनहुँ जंगल जान्थ्यो।’
‘यो नि पहिले नै पढिसकेको बुकमा (कालु एण्ड सेफर्ड)’
‘लौ यो नि सुनिसकेको ओहो, ल ठिकै छ अर्को झन् नयाँ र राम्रो सुनाउँछु त्यसोभए।’
‘एकादेशमा एउटा ठूलो जंगल थियो। त्यहाँ धेरै जनावर बस्थे। त्यहाँ एउटा खरायो नि बस्थ्यो अनि जंगलको बीचमा एउटा ठूलो पोखरी थियो जहाँ कछुवा बस्थ्यो।’
यो नि भूमिका बान्न नपाउँदै फ्याट्ट भनिहाल्यो ‘मामु यो नि नयाँ रे यो त झन् कति चोटि सुनेको, बुकमा नि पढेको ( खरायो एण्ड के भन्छ कछुवा कछुवा)’।
उसले यस्तै यस्तै धेरै कथा सुनाउने प्रयास गरी तर छोराको प्रतिक्रिया एउटै हुन्थ्यो।
‘मामु केही ( इन्ट्रेस्टिङ) नयाँवाला सुनाउनुस् न के। यी त सबै कस्ता बोरिङ मैले पहिले नै थाहा पाइसकें।’
आफूले जाने जतिका त यसले पहिले नै सुनिसकेछ अब यसलाई नयाँ के सुनाउने होला त खोई? एकछिनको अलमल पछि उसले नयाँ कथा सुरू गर्छे यसरी।
एकादेशमा एउटा सुन्दर गाउँ थियो। त्यो गाउँमा बस, मोटर बिजुलीबत्ती केही पनि थिएन। त्यहाँका मान्छेहरू एकआपसमा मिलेर बस्ने साह्रै असल र सहयोगी थिए। त्यहाँका घरहरू सफा र चिटिक्क परेका थिए। घरको अगाडि ठूला- ठूला बारीका पाटा थिए। त्यहाँ मानिसहरूले मौसम अनुसारका खेतीबाली लगाउँथे। घरबाट केही पर गोठ बनाइएका थिए। त्यो गोठमा बस्तुभाउ पाल्ने गर्थे। बस्तुभाउ मिन्स …..उसले प्रश्न गर्छ।
यसको मतलब छोरालाई कथा मन परेछ भन्ने बुझेर उसले सम्झाउने प्रयास गर्छे। (गाई ,भैंसी भेडा बाख्रा यस्तै यस्तै जनावर अनि यो -यो प्रयोजनको लागि मान्छेले घरमा पाल्ने गर्छन्)।
‘ओ; बुझ्यो बुझ्यो लाइक फार्म एनिमल। अँ अरु भन्नुस्’ उसले चाख मान्दै सुन्न थाल्यो।
घरबाट अलि पर पँधेरो थियो। त्यो पँधेरोको पानी असाध्यै चिसो, मीठो र सफा थियो। त्यहाँ मान्छेहरूले आफ्नो सरसफाइ गर्थे, नुहाउँथे, लुगा धुन्थे अनि गाग्री, घैलामा पानी भरेर डोकोमा बोकेर मीठा- मीठा कुराकानी गर्दै सँगै घर फर्किन्थ्ये।
नयाँ शब्द आउने बित्तिकै उसले प्रश्न गरिहाल्थ्यो (चौर, चौतारी, घैला, गाग्री डोको यस्तै यस्तै…… त्यसलाई बुझाउन कि त अंग्रेजीमा सम्झाउँथी या त चित्र देखाउथी।
अनि त्यो पँधेरोमा बाथरूम पनि थियो त फेरि प्रश्न गर्छ? होइन थिएन त्यो गाउँका मान्छेले खुला ठाउँमा नै नुहाउने गर्थे।
बाहिरै नुहाउने…….झनै अचम्मित हुन्छ।
गाउँको बीचमा ठूला- साना चौर र चौतारा थिए त्यहाँ मान्छेहरूले बेला बेलामा भेला भएर गफगाफ गर्थे भने केटाकेटीहरू पनि आफ्ना साथीहरूसँग विभिन्न खेलहरू खेलेर रमाइलो गर्थे।
त्यो गाउँमा एउटी परी पनि थिई।
परी …सिन्ड्रेला भनेको हो फेरि प्रश्न गर्छ?
हो तर त्यो परी तिमीले तिम्रो किताबमा पढेको जस्तो जादुवाला परीभन्दा धेरै भिन्न।
त्यो परीलाई उसकी आमाले जंगलमा घाँस काट्न जाँदा त्यहीं जन्माएकी रे।
हँ जंगलमा पनि हस्पिटल हुन्छ र झनै अचम्म मान्दै प्रश्न गर्छ?
हुँदैन पहिला पहिला त्यो गाउँमा मानिसहरूले त्यसरी नै बच्चा जन्माउँथे।
घरमा, गोठमा,खेतबारीमा काम गर्दागर्दै ,जंगलमा यस्तै यस्तै ।
अनि -अनि के भयो भन्नुस न झनै उत्सुकता थपिन्छ उसमा।
त्यो परी बिस्तारै ठूली हुँदै गई। परीले आफूजस्तै धेरै साथी पनि बनाई। ऊ पाँच वर्ष पूरा भएपछि उसका साथीहरूसँग स्कुल पढ्न जान थाली। त्यो स्कुल उसको घरभन्दा अलि टाढा थियो उकाली र ओराली गरेर निकैबेर हिँडेपछि मात्र उनीहरू आफ्नो स्कुलमा पुग्थे।
परीले स्कूल गएपछि धेरै कुरा सिकी। अंक गन्न सिकी, अक्षर चिनी पढ्न सिकी अनि बिस्तारै ऊ माथिल्लो कक्षामा पनि पुगी।
परी र उसका साथीहरुले स्कूलमा धेरै रमाइलो नि गर्नथाले। परी र उसका साथीहरू स्कुलको हाफछुट्टीमा ( टिफिन खाने ब्रेक के त फेरि सम्झाउँछे)कहिले पुराना कपडालाई धागोको डल्लोमा बेरेर अनि पुरानो मोजामा पोको पारी सिलाएर बल बनाएर खेल्थे। कहिले बाँसका सुपलाको फिरफिरे बनाएर खेल्थे।
कहिले काठको मोटरगाडी बनाएर खेल्थे। तिजु (खल्टु)चिलाउने जस्ता फलबाट भुरुंग बनाएर खेल्थे। अनि कहिले ढुंगा बटुलेर चारी (गट्टा) खेल्थे भने कहिले डण्डीबियो, कपर्दी,घुना, गुच्चा घुच्ची, लुकामारी यस्तै यस्तै थुप्रै खेलहरू खेल्थे (वाओ! गुड आइडिया, इन्ट्रेस्टिंङ्, नाइस गेम ) झनै मक्ख पर्छ।
अनि कहिले त साथीहरू मिलेर हाफछुट्टीमा स्कुलदेखि नजिकैको जंगलमा ऐसेंलु, बयर, चुत्रो, चौतारी, तिजु आदि फलफूल खान जान्थे त कहिले कसैका बारीमा आँप, आरु, अम्बा चोर्न। चोर्न ……परी नि चोर….. कस्तो अचम्म!
अनि स्कुलको पाले दाइले परी र उसका साथीहरूलाई गेटबाट बाहिर जान दिन्थ्यो त? (फेरि जिज्ञासा राख्छ) अहँ उनीहरूले पढ्ने स्कुलमा त्यस्तो पर्खाल अनि गेट नै थिएन, सबैतिर खुला –खुला।
हँ गेट नै नभएको स्कुल आहा! क्या मज्जा थियो होला है लोभिन्छ ऊ।
अनि मामुले पठाइदेको टिफिन कहिले खान्थे त?( फेरि प्रश्न गर्छ)
उनीहरूले घरबाट कहिले पनि टिफिन लैजादैंनथे किनकि
त्यो बेला टिफिन लैजाने सुविधा नै थिएन।
स्कुलबाट घर फर्केपछि मात्र उनीहरूले खाजा खान्थे अनि उनीहरूले खाने खाजामा भुटेको मकै, भटमास, रोटी, बिहानको बाँकी रहेको खाना यस्तै यस्तै हुन्थ्यो।
अनि उनीहरूले बिस्कुट, चाउचाउ, कुरकुरे , चिप्स ,बर्गर, पिज्जा, म:म यस्तो खाजा किन खाँदैनथे फेरि प्रश्न गर्छ?
त्यतिबेला त्यो गाउँमा यस्तो केही पनि पाउथेन।
परी र उसका साथीहरूले बिहान, बेलुकी अनि स्कुलको छुट्टी हुँदा धेरै काम गरेर आफ्ना बाबा- आमालाई सघाउँथे।
घरमा खाना पकाउथे,घाँस काट्थे, खेतीपातीको काम गर्थे अनि छुट्टीको बेला गाइबस्तु चराउन जंगल जान्थे।
अनि यस्तै यस्तै रमाइलो गर्दै परी र उसका साथीहरूले त्यो सुन्दर गाउँको स्कुलबाट पढाइ पूरा गरेपछि परीका कोही साथी त्यो गाउँलाई छोडेर टाढा- टाढा लागेछन् भने कोही त्यहीँ गाउँमा बसेर काम गर्न थालेछन्।
अनि परी नि उसले के गरी त कथा सक्यो उसले प्रश्न गर्छ?
छोराको प्रश्नको उत्तर दिन नपाउँदै आमा छोराको कथा अप्रत्यक्ष रूपमा सुनिरहेकी उसकी १६ वर्षीया छोरीको अचानक आवाज आउछ, कहाँ सकिनु धेरै बाँकी छ, अब बाँकी कथा म पूरा गरूँ त मामु?
तिमी……..तिमीले यो कथा पूरा गर्ने …अलि झस्किन्छे ऊ अनि त्यहीँ कथालाई उसकी छोरीले यसरी अगाडि बढाउछे।
स्कुलको पढाइ सकेपछि परी पनि आफ्नो बाँकी पढाइ पूरा गर्न त्यो सुन्दर गाउँलाई छोडेर धेरै टाढा गइछ।
त्यो ठाउँ अहिले हामी बसेको जस्तै थियो। ठूला- ठूला घर, फराकिलो बाटो, ठूला - साना धेरै गाडी, धेरै पसल, झिलिमिली बत्ती अनि धेरै मान्छेको भिड।
त्यो ठाउँ पनि राम्रो र रमाइलो नै थियो तर परीको गाउँजस्तो साथीहरूसँग खेल्न ठूला - ठूला चौर -चौतारा, पौडी खेल्ने सफा खोलानाला, परी र उसका साथीहरूले घुमफिर गर्ने र फलफूल टिपेर खाने जंगल त्यस्तो केही पनि थिएन।
परीले त्यो ठाउँमा बसेर आफ्नो पढाइ पूरा गरेपछि बिहे गरिछ अनि केही समयपछि बच्चा जन्माइछ। अनि त्यो बच्चालाई ३ वर्ष पनि पूरा हुन नपाउँदै नर्सरी स्कुलमा भर्ना पनि गरिदिइछ। त्यो बच्चाले त्यति सानोमा स्कुल नजाने भनेर धेरै रोइकराइ गरेछ तर पनि उसले बच्चालाई दिनहुँ स्कुल पठाइछ। अनि राम्ररी बोल्न पनि नसक्ने बच्चा आफ्नोभन्दा धेरै तौल भएको झोला बोकेर स्कुल जान थालेछ।
त्यो बच्चाले स्याउको ठाउँमा ( एप्पल) पानीलाई वाटर यस्तै -यस्तै अंग्रेजी शव्द सिकेको देखेर मख्ख परिछ।
आफूले सानोमा खाने गरेको खाजा मकै, भटमास, रोटीको ठाउँमा चाउचाउ, कुरकुरे, चिप्स, बिस्कुटको खाजा खान सिकाइछ।
आफू खुला ठाउँमा हुर्के पनि बच्चालाई भने साँगुरो कोठामा राखेर (बाहिर नजाउ है गाडीले हान्छ….. बच्चा चोरले लान्छ….)भनेर दिनहुँ सम्झाउन थालिछ।
ठूलो चौरमा डन्डीबियो, कबड्डी जस्ता खेल खेलेकी उसले आफ्ना बच्चाको हातमा भने मोबाइल, ट्याब्लेट थम्याइदिइछ।
परी आफू धेरै ब्यस्त भएपछि उसको बच्चाले मोबाइल र ट्याबलेटलाई साथी बनाएर राम्रा- नराम्रा धेरै गेम खेल्न सिकेछ तर बाहिरको खाना (जंक फुड) खायो अनि मोबाइलसँग खेल्दा आँखा बिगार्यो भनेर बेला बेलामा गाली गर्न बाहेक परीले आफ्नो बच्चालाई कहिले समय दिन सकिनछ।
उसको बच्चालाई परीको सुन्दर गाउँमा जान, नयाँ नयाँ कुरा सिक्न हेर्न मन लाग्दोरहेछ तर आफूले गाउँमा धेरै काम गरेर हुर्केकी परीले आफ्ना बच्चालाई छुट्टीमा आफ्नो गाउँ लगेर सानोमा आफूले गरेको काम गर्न पनि कहिले सिकाइनछ।
अनि आफ्नो बच्चालाई १० कक्षा पास गर्दासम्म ५/६ वटा स्कुल, बस्नेठाउँ पनि पटक, पटक फेरिछ। विचरा! त्यो बच्चालाई स्कुल, बस्नेठाँउ, टोल, सहर फेरिदा नयाँ- नयाँ ठाउँमा घुलमिल हुन र नयाँ साथी बनाउन धेरै नै गाह्रो परेछ।
यसरी दिनहरु बित्दै गएछन्। ऊ पनि बिस्तारै ठूलो हुँदै गएछ। त्यो बच्चाले १० कक्षामा टेकेपछि राम्रो ग्रेड ल्याउनुपर्छ भनेर ठूलो
मानसिक दबाब खेप्नु परेछ। यसरी परीको बच्चाले दस कक्षामा राम्रो अंक ल्याएर ११ कक्षा पढ्न थालेछ।
एकदिन परीले उसका कोही आफन्त र साथीहरूका बच्चा पढ्न भनेर बिदेसिएको कुरा थाहा पाइछ।
अनि एकदिन फेरि आफ्नो बच्चालाई बोलाएर भनिछ हेर त फलाना -फलानाका छोरा /छोरी त युरोप, अमेरिका, अस्ट्रेलिया गैसकेछन्। अब तिमीले पनि राम्ररी अंग्रेजी सिक है, १२ सकेपछि त तिमीले नि केही सोच्नुपर्छ नि फेरि।
अहिले परीलाई आफ्नो बच्चा बाहिर पढ्न नगए त आफ्नो इज्जत र प्रतिष्ठा गुम्ला कि भन्ने भ्रम परेर उसलाई कसरी बाहिर पठाउने भन्ने चिन्ताले आफैं पिरोलिन थालेकी छ तै पनि फेरि बेला बेलामा आफ्नो बाल्यकालको रमाइलो क्षणलाई कथा बनाएर आफ्ना छोराछोरीलाई सुनाउन भने छोडेकी छैन।
ऊ भन्छे आफू र उसका साथीभन्दा अहिलेका बच्चा धेरै… भाग्यमानी रे … साँच्चै मामु परीले भनेजस्तो अहिलेका बच्चा भाग्यमानी नै हुन् त? परीले आज आफ्ना सन्तानलाई सुनाएको जस्तो आफ्नो बाल्यकालको रोचक कथा उसका सन्तानको बन्ला त? ऊ उत्तरविहीन हुन्छे भने छोरो जिल्ल परेर आमा- छोरीलाई हेरिरहन्छ।