फ्याट्ट-फ्याट्ट उट्टपट्याङ प्रश्न सोध्न मेरी प्रेमिका साह्रै नै माहिर छिन्। म उनका उट्टीपट्याङ प्रश्नहरूले धेरै पटक हायल-कायल भएको छु।
‘तिमी मलाई के-के दिन सक्छौ?’ कफी पिउँदा-पिउँदै उनले मेरो प्रेम-परीक्षणको प्रश्न पत्र तयार पारिन् र मेरो परीक्षा सुरू गरिन्।
‘तिमी मागेर त हेर’, मैले झारा टार्न खोजें।
‘चाबी दिन्छौ, चाबी?’
‘बिहे अगाडि त दिन सक्दिनँ, बिहे पछाडि आमाले तिमीलाई नदिएर कसलाई दिनुहोला र? म जो घरको एक्लो छोरा परें।’
‘तिम्रो घरको चाबी होइन, मनको चाबी भनेको बुद्धु।’
मेरा आँखा एकनासले कफीको कपमा छन्। बिहे अगाडि नै उनको साइनो बुद्धुमा झरीसक्यो, बिहे पछि के-के हुने हो, मैले मन-मनै गमे। फेरि उनको इच्छा पनि कस्तो अनौठो! बरु एटिएम कार्ड लिनु र त्यसको पिनकोड माग्नु, बैंक खातामा भएको पैसा माग्नु, नयाँ-नयाँ आइफोन माग्नु, स्कुटी भन्नु, देश-विदेश घुम्न जाऊँ भन्नु, रेस्टुरेन्टमा मीठो-मसिनो खाउँ भन्नु। मुटुभरिको माया देऊ भन्नु। यो कस्तो अनौठो माग हो उनको? म एकोहोरिरहें, एउटा मनले अर्को मनसँग तर्कना गरिरह्यो।
‘मलाई थाहा थियो तिमीलाई यो प्रश्नले संकटमा पार्नेछ। तिमीले आजै यसको उत्तर दिनु पर्दैन, भोलिसम्म तिम्रो समय सीमा छ। समय लिएर सोच तर, मलाई चित्त बुझ्दो जवाफ देऊ।’
उनले थोरै प्रेम आदेश ज्यादा झल्कने भाषा बोलिन्।
अलमलमा पर्दै मैले कफीको पैसा तिरें, झोला बोकें र घरतिर लागें। भोलि के जवाफ दिने होला, म सोच्नै सकिरहेको थिइनँ।
मेरो घर जाने बाटो अझै पनि सहज भइसकेको छैन। धेरै अघिदेखि व्यवस्थित, वैज्ञानिक सुन्दर बस्तीको परिकल्पना गरिएका भाषण सुन्दा सुन्दा कान पाकिसकेका छन्। तर, आज पनि बाटो अस्तव्यस्त र धुलाम्ये छ। र, बाटोको एक छेउमा साना भाइ-बहिनीहरू अर्धनग्न सिन्को लुकाई खेल्दैछन्।
म अनायासै मुसुक्क मुस्कुराएँ। अस्तिजस्तै लाग्छ मेरा साथीहरूसँग म यसैगरी सिन्को लुकाई खेल्थेँ। डण्डी-बियो खेल्दा मुटु नै फुट्ने गरी चूँ कुदेको, दुई खुट्टा थाक्ने गरी चुंगी खेलेको, मोजाभित्र परालका टुक्रा-टुक्री फाटेका कपडा हालेर गोल बनाई खेलेको, आसपास र डुममा रमाएको, चोर-पुलिस, बेहुला-बेहुली बनेको, ओठमाथि कलमले कोरेर जुँगा बनाएको, गाई-भैसी बगरमा छोडेर पौडीमा रमाएको, बाँसको हाँगोलाई धागोले बाँधेर पांग्रा बनाएर दौडाएको, साइकलको पुरानो टायरलाई गाडी झैं मानेर कुदाएको, दुई खुट्टाका बीचमा बाँसको झिक्रो हालेर मोटरसाइकलको आवाज निकाल्दै कुदेको, सुपारीको सुकेको पातमा कहिले इँट्टाढुंगा त कहिले आफ्नै साथीलाई राखेर तानेको।
कति पटक त मैले दिदीहरूको फ्रक लगाएको छु। ओठमा लिपिस्टिक लगाएर ऎना हेर्दैं मस्किएको छु। दिदीहरूकै कुर्था लगाएर स्तनको आकारझैं देखिने गरी छातीमा रुमाल कोचेर घर वरिपरि बेफिक्री कुदेको छु। अहो कस्तो रोमाञ्चक थियो त्यो बालापन।
बालापनको त्यो रोमाञ्चक सम्झनामा एकाएक अधिकारी काइलो दाइ आए।
उनको वास्तविक नाम के हो मलाई आज पनि थाहा छैन। मात्र यति थाहा छ कि मान्छेहरू हेपेर उनलाई लठेप्रो भन्थें, लाटो भन्थें। सुष्त मनस्थितिका काइला दाइको आवाज कहिलेकाहिँ केटीको झैं हुन्थ्यो।
सम्झन्छु फरक शारीरिक र मानसिक क्षमता भएका मानिसहरूप्रति अहिलेपनि हाम्रो समाज कति अनुदार छ, त्यो समयमा काइला दाइजस्ताहरूले कति धेरै पीडा बोकेर बाँचे होलान्?
हिँड्दा-हिँड्दै मलाई अर्को घटनाको याद आयो।
‘ओई ड्याङ्ग्रा के गर्दैछस्?’ ऋतिकाले ठाडो भाषामा सोधेकी थिई।
ऋतिका गाउँकै छिमेकी दिदी हो। ड्याङ्ग्रो सुन्ने बित्तिकै मेरो पारो तातेर आउँथ्यो। म उनलाई कुट्न झम्टिएँ।
‘मलाई छुन नआइज है, म पर सरेकी छु।’ ऋतिकाले भाग्दै भनेकी थिई। किशोर अवस्थामा महिलाहरूमा सुरू हुने महिनावारीको चक्रभरि महिलाहरूलाई घरका मान्छेहरूसँग उठबस गर्ने, भान्साघरमा गएर खाना पकाउने, सधैंको बिछ्यौनमा सुत्न आज कतिपय ठाउँमा दिइँदैन। पहिलो पटक महिनावारी हुँदा दाजुभाइको अनुहार हेर्न हुन्न भनेर दिदीहरूलाई आमाले मावल या सानीआमाको घरतिर पठाएको हिजो जस्तै लाग्छ।
शरीरमा आउने हर्मोनको परिवर्तनसँगै असह्य पीडा खप्नुपर्ने त्यो बेलामा आमासँगै दिदीहरू बसेको भए के पहाडै खस्थ्यो होला र? पुरुषहरूले कहिल्यै नभोग्ने महिलाहरूको त्यो पीडामा महिलाहरू आफैं चाहिँ किन एकअर्काको साथी हुन नसकेका होलान्?
सोच्दा सोच्दै म घर जाने दोबाटोमा आइपुगें। बाटैभरि गाई-भैंसीको गोबर, कुखुराको शुली, मान्छे र कुकुरले पसारेका लिड, यत्रतत्र छरिएका चकलेटका बोक्रा, रुखबाट झरेका सुख्खा पात, ओइलाएर झरेका फूलहरू, असरल्ल कागजका टुक्राहरू देखिन्छन्। हाम्रो गाउँ सोचेजस्तो सुध्रेकै छैन। आज पनि दिउँसो अरुलाई सडक सफा गर्नुपर्छ है भनेर अर्ती दिने मान्छेहरू रात परेपछि बाटोमा विष्ट्याउन आउँछन्।
हिजोजस्तै आज पनि मानिस कम्तीमा दुइटा अनुहार एकैसाथ लिएर बाँचेको छ।
बाटोको एक छेउमा हात्तीको चित्र भएको किताबको एक पन्ना असरल्ल परेको देखें। हात्तीको चित्र देखेपछि रेडियो नेपालबाट बज्ने हात्तीछाप चप्पलको विज्ञापन याद आयो, हात्ती बलियो कि हात्ती छाप चप्पल बलियो।
उबेला गरिबले लगाउने भनेर चिनिएको त्यो चप्पल मेरो खुट्टाले अलि ठूलो कक्षा नपुग्दासम्म पनि देख्न पाएको थिएन।
यी यावत सम्झनाहरू मेरो मानसपटलमा आइरहेका छन्।
बाटोको अर्को कुनामा रणवीरको च्यातिएको पेपरकटिंग देखियो। च्यातिएको पोस्टकार्ड देखेंसँगै मन एकाएक रमायो। आठ कक्षा पढ्दै मैले नयाँ वर्षको मौका छोपेर माधुरीको पोस्टकार्ड पछाडि आफ्नै क्लासमा पढने सहपाठीलाई प्रेम प्रस्ताव पठाएको थिएँ। पत्र पाएको लामो समयसम्म उनी मसँग एकै शब्द पनि बोलिनन्। पछि थाहा भयो उनी त त्यही स्कुलमा पढाउने शिक्षककी बहिनी रहिछन्।
उनले दाइलाई मेरो कर्तुत सुनाएकी भए मेरो करङ त धुलो-पिठो हुने थियो, कसो बाँचिएछ। अहिले सोँच्दछु त्यो निस्वार्थ-निष्कपट प्रेम थियो कि कुरकुरे वैंशको तमास? त्यसपछि पनि कसै-कसैलाई मनमनै मन पराउने त कतिपयलाई एकोहोरो माया गर्ने क्रम रोकिएन।
गाउँमा कान्छी बज्यैको परिवार बस्थ्यो। गाउँघरमा त्यो घरको अर्कै फूर्ती थियो। जहिले पनि नयाँ-नयाँ सामान भित्र्याउन एक नम्बरमा हुन्थ्यो त्यो घर। श्यामस्वेत टेलिभिजन ल्याएपछि गाउँमा उनीहरूको भाउ ह्वात्तै बढेको थियो।
टिभी हेर्न पाउने लोभमा कतिपय चै चाकडी स्वरूप बज्यैलाई काम सघाउँथे। मैले पनि बज्यैको जेठो छोरासँग अस्वभाविक हिमचिम बढाएको थिएँ।
एसएलसीको परीक्षापछि जेठो कम्प्युटर सिक्न लाग्यो। आफूलाई भने टाइपराइटर सिक्न पनि धेरै समय कुर्नुपर्यो।
‘धुर्मे मसँग कम्प्युटर हेर्न जान्छस्?’, जेठोले हेपाहा शैलीमा सोध्यो।
कम्प्युटर भनेपछि थोरै हेपाइको हिसाब नै गरिएन।
‘हाम्रो कम्प्युटर टिचर कडा छ नि, जे-जे भन्छ खुरू-खुरु मान्नु नि। तैले पनि भोलिदेखि कम्प्युटर क्लासमा आउँछु भन्नु नि, नत्र भित्र छिर्न पनि पाइँदैन’, जेठोले बाटोमा ट्युसन पढाउँदै लग्यो।
‘ए केटाहरू हो, जुत्ता नखोली किन कम्प्युटर रूममा किन छिरेका हँ? भाइरसले कम्प्युटर पूरै खत्तम गर्ने भयो’, मास्टर कड्कदै कोठा भित्र छिरे।
धेरै पछि मात्रै थाहा भयो कम्प्युटरको भाइरस त जुत्ताबाट सर्ने होइन रहेछ। मास्टर आफैंलाई कम्प्युटरसम्बन्धी कति ज्ञान थियो थाहा भएन, तर तिनले कम्प्युटर देखाएर पैसो टन्नै कमाए।
त्यो घटना सम्झेर म फेरि मुस्कुराएँ, अनायासै।
‘ओइ भाइ ‘लाटो’ जस्तो के एक्लै हाँस्दै हिँडेको?’ तल्लाघरे अन्तरी दिदीको आवाजले म झस्किएँ। आजकल अन्तरीहरू दुर्लभ नै भइसके।
अन्तरी दिदीको असली नाम चाहिँ दीपा हो। दीपा दिदीहरू तराई मूल रैथाने बासिन्दा हुन्। गाउँघरमा उनलाई हेपेर बोलाइने नाम थियो दीपे। तिनै दीपाको आवाजले म झस्किएको थिएँ।
पोहोर सालमात्रै तराईतिर बिहे गरेर दिएका थिए दिनानाथले दीपा दिदीको।
सुरू-सुरूमा राम्रै चलेको उनको वैवाहिक सम्बन्ध एक वर्षको अन्त्यसम्म पुग्दा खटपटिएको थियो, दाइजोको निहुँमा। घरमा दाइजोकै कारणले सिर्जित मानसिक -शारीरिक यातना सहन नसकेरै उनी माइत आएर बसेकी थिइन्।
आजकलका विवाहहरू हेर्दा लाग्छ यो पारिवारिक रिवाज कम मान्छेको मोलतोल र हैसियतको प्रदर्शन बढी हो। दाइजो कम भएको निहुँमा नै देह जल्नेहरू देख्दा-सुन्दा पनि मन नदुख्ने मान्छेहरू प्रशस्त छन्।
‘त्यस्तो केही होइन दिदी।' म उनको अर्को प्रश्न आउनुभन्दा अघि नै उनीबाट टाढा पुगिसकेको थिएँ।
बाटोमा मोहन दाइ भेट भए।
उनी एउटा औषधि पसलको मालिक हुन्। दबाइ लाइनको पढाइ पढेका थिए रे। तिनै मोहन दाइको मेडिकल पसलमा एक जनाले इन्डियातिरको फर्जी सर्टिफिकेट देखाएर प्याथोलोजी विभागमा काम गर्थे रे।
दिशा-पिसाब, रगत, खकार परीक्षणमा लगभग शून्य जानकारी भएका ती कारिन्दाले एकपटक दिशा जाँचको रिपोर्टमा बिरामीको दिशा गन्हाउँने रहेछ लेखेका थिए भन्ने हल्ला बजारभरि फैलिएको थियो। त्यसपछि ती फर्जीवाला मोहन दाइको औषधि पसलमा कहिल्यै देखिएनन्।
पैसाको भरमा फर्जी योग्यता देखाउने चलन हिजोजस्तै आज पनि कायमै छ।
मनमा कुरा खेलाउँदा खेलाउँदै म घर पुगेँ। साझँ झमक्क परेको थियो।
आमाले पकाएको खाना खाएर म आफ्नो कोठामा उक्लें, ओछ्यानमा ढल्कें। प्रेमिकासँग छुट्टिएर घर आउँदाको त्यो आधा घण्टाको समयमा कति धेरै कुराहरू आए मनमा।
र, अहिले आइरहेको उनैको अजीवको प्रस्ताव।
सोचें मैले मेरो मनको चाबी उनलाई दिएको भए यी सारा यादहरूको सन्दुक खोल्न उनकै स्वीकृति चाहिन्थ्यो। मैले उनको प्रस्ताव अस्वीकृत गर्ने निर्णय गरेँ।
म्यासेन्जरमा उनलाई सन्देश लेखें। प्रिया यदि मैले मेरो मनको चाबी तिमीलाई दिएँ भने तिमीलाई सम्झन पनि तिम्रै स्वीकृत चाहिन्छ।
तिमीलाई सम्झन पनि तिम्रै स्वीकृति लिनु के यो तिमीप्रति मेरो प्रेमको मजाक होइन? माफ गर प्रिया, म तिमीलाई मेरो मनको चाबी दिन सक्दिनँ।
सन्देश पठाएर मैले तुरुन्तै ल्यापटप बन्द गरेँ। म विश्वस्त छु मेरो सन्देशले हाम्रो प्रेमको अन्त्य गर्ने छैन।