कहन्छु एक कहानी,सुनिदिनु है भनी,
पक्षपाती समाज, कस्तो हरे! बैगुनी।
पत्नी र घर छोडेर, हराएछ युवक,
रुन थालिन् ती पत्नी, गर्दै निकै विलाप।।
खोज्न थालिन् बेसरी, दत्त चित्त राखेर,
फूलको गुच्छा चढाइन्,देवलाई भाकेर।
पाएको मौका छोपेर, समाज धेरै बकेछ।
‘पत्नीले गर्दा हो कि त?’ अनेक तर्क राखेछ।।
पीडामाथि पीडामा, अर्को पीडा थपियो,
कठै! भन्ने बेलामा, लान्छना पो लादियो।
पीडाकै भारी बोकेर, डुलाउँदै नजर,
हिम्मत लिई हिँडिछिन्, पाउने आशा राखेर।।
केही दिनको खोजीमा, भेटिएछन् ती पति,
आफ्नै लोग्ने अंगाल्दा,अरुमा के आपत्ति?
हर्षको आँसु बगाइन्, अंगालेर श्रीमान,
हाँस्दै अनि भनिछिन्, पाएँ नयाँ जीवन।।
झ्वाट्ट मेरो ख्यालमा, रामको कथा बल्झियो,
पतिव्रता सीताको, वेदनामा अल्झियो।
पत्नी त्यसै हराए, माहोल अर्कै बन्दछ,
शंकै शंकाको घेरामा, अपाच्य वाण हान्दछ।।