कथा:
‘तल सीमाको घरमाकाम गर्ने मान्छे राखेछन् नि अस्तिदेखि, दिनको तिन घण्टा काम गर्ने रे।कोठा सफा गर्ने, भाडा माझ्ने अनि कहिलेकाहीँ लुगा पनि धुने। मलाई त राम्रो लाग्यो।हामीले पनि राख्ने कि दिनको एक दुई घन्टाको लागि?’ एकदिन सुत्नु अगाडि सुमित्राले लोग्नेलाई सोधी।
उसको लोग्ने बरुण सुत्ने खाटमा अडेस लागेर एउटा एउटा पुस्तक हातमा लिएरपढेको जस्तो गर्दै थियो। अनि ‘कतिमा हो र?’भन्दैत्यति ध्यान नदिएर आफ्नो आँखा किताबबाट नहटाई सोध्यो।
‘महिनाको पाँच हजार रे।’
‘अलि महँगो भएन र तिन हजार त?’ उसका आँखा अझैं पुस्तकमै थिए।
‘आज भोलि सस्तोमा कहाँ पाइन्छन् र मान्छे? मान्छे पाउनु नै ठूलो कुरो भैसक्यो’ सुमित्राले टिप्पणी गरी।
‘सीमाको घरमा पो त्यति धेरै मान्छे छन् र काम गर्ने मान्छे चाहिन्छ,हाम्रो घरमा के नै छ र काम? दुई जना बच्चा अनि हामी दुई जना त हो। त्यत्रो काम हुन्छ र?’ बरुणले आफ्नो सोचाई राख्यो।
‘तिमीले त के देख्छौ र घरको काम? मैले त बसी बसी खाएको मात्र देख्या छौ’ठुस्स पर्दै सुमित्राले भनी।
‘हैन त्यसो भन्या होइन,राख न त राख्ने भए, तर आफ्नो आवश्यकता अनुसार राख्ने कि भनेको। फेरि मान्छे राखे पछि अनि दिनभरि तिमीलाई काम हुँदैन। झन् पछि झन् अल्छि भइन्छ अनि अल्छि भए पछि मोटो लाग्छ नाना थरि रोग लाग्छन् अनिझन् समस्या हुन्छ, घरको काम आफै गर्न सक्ने हुँदा सम्म त आफैले गरेको राम्रो नि, हैन र?’
‘मलाई थाहा थियो तिमीले यही भन्छौ भन्ने।मलाई अलकति सुख भएको तकहाँ देख्न सक्छौ र?’रिसाएको स्वाङ पार्दै सुमित्राले भनी।
‘हैन,राख। तर आफू पनि त्यत्तिकै नबस भनेको। फेरि म पनि तछँदैछु नि काममा सघाउने। हरेक दिन जसोसांझखाना पकाउने र भाँडा माझ्ने म नै हो क्यारे।शनिवार पनि लुगा धोएकै छु।तिम्रो काम त्यही कोठा सफा गर्ने र बिहानको खाना पकाउने र भाँडा माझ्ने त हो नि त्यसमा पनि शनिबारको खाना पकाउन पनि तमैले सघाएकै छु।दुवै मिलेर काम गर्दारमाइलो पनि हुने,माया पनि गाढा हुने अनि व्यायाम पनि हुने। त्यही पनि तिमीलाई गाह्रो भएको छ भने राख।’
‘मलाई त किन गाह्रो हुने? म तनोकर्नीहुँनि यो घरको। मलाई गाह्रो भयो भन्ने अधिकार नै कहाँ छ र?’सुमित्राले आफ्नो असन्तुष्टि जनाई।
‘फेरि त्यही कुरा, नचाहिने कुरा नगर न।’ सुमित्राले सधै आफ्नो अत्याचार भएको भनेर घुर्की लगाउने आफ्नो काम पुरा गर्ने कुरातर्फ संकेत गर्दै बरुणले भन्यो।
‘नत्र के त? मलाईत तिमीले किनेर ल्याएको जस्तो त गरेका छौ नि। ‘पैसा कमाउने को?’ भन्दा सबैले ‘तिमी’ भन्छन्, तर मैले घरको काम नगरेको भएर र छोराछोरीनस्याहारेकोभए तिम्रो समय हुन्थ्यो पैसा कमाउने?तिमीले कमाएको पैसामा तिम्रो भन्दा मेरो धेरै योगदान छ।’ सधै झैं उसले फेरि त्यही पारामा घुर्काई।
‘ल ल तिमीले नै कमाएको भयो सबै। राख जे राख्ने हो।म हुँ यो घरको नोकर, बिहानै उठ्यो,छोराछोरीलाई तयार गर्यो। अफिस गयो।साँझ आयो खाना पकायो,भाँडा माझ्यो, हरेक शनिवार कोठा सफा गर्यो, लुगा धोयो। तिमी महारानी हौ। केही काम गर्न पर्दैन, सबै म गर्छु भएन?’ बरुण पनि किन कम हुन्थ्यो र?
‘घरमा कति काम हुन्छ तिमीलाई के थाहा? कहिले राम्ररी काम गरेकोभए पो थाहा हुन्छ? मैले त बसी बसी खाएको भन्ने मानेका छौ हैन?’
‘ल भन त के काम हुन्छ?हामी पनि सुनौ। दिनभरि टिभीमा सिरियलहेर्ने र मोबाइलमा फेसबुक चलाउने बाहेक के नै काम छ र तिम्रो?जहिले हेर्यो फेसबुकमा अनलाईन देखिन्छ्यौ।’
‘अनि तिम्रो घरकोदिनहुँको किन मेल,छोराछोरीको खाजा,छोराछोरीको होमवर्क,घरको र बगैचाको सरसफाई।हरेक दिनको लुगा धुने, कसले गरिरा’छ? एक एक लेखेर राखेर हेर्यौभनेअनि थाहा पाउँछौ कति हुन्छ घरको काम। बरु मलाई अफिस जान देऊ, अनि आफू एक हप्ता घरमा बसेर हेर अनि थाहा हुन्छ।आइमाइले त कामै नगरेर खाएको जस्तोगरी दवाएर राखेका छन् यो समाजका मान्छेले।’ सुमित्राले पनि आफ्नो रिस पोखी।
उनीहरू त्यो विषयमा प्राय: बहस गरिरहन्छन्। सुमित्रालाई आफू महिला भएकोमा निकै पीडा छ। उसको स्वभाव भाले बन्ने जस्तो छ। बरुण पनि आइमाईलाई अलि दोस्रो दर्जाको जस्तै व्यवहार गर्छ त्यसैले उनीहरूको त्यो विषयमा समय समयमा बहस भै रहन्छ तरनतिजा चाहिँ जहिले पनि शून्य।
सुमित्राको त्यो कुरो सुनेर बरुण पनि चुप लाग्ने वाला थिएन। अघि पछि जस्तै उसले पनि भन्यो, ‘कसले कसलाई दवाएको छ भन्दाकि दविनेलाई थाहा होला कि भगवानलाई नै। अहिले तमहिलाहैन पुरुषहरु दबेका छन् हाम्रो समाजमा। जहाँ गयो आइमाईलाई सुविधा, पुरुष तदोस्रो पनि हैन तेस्रो दर्जाको मान्छे जस्तो गरेर हेर्छन्। जागिर खान जाऊँ महिला आरक्षण, बस टेम्पो चढ्न जाऊँ महिलालाई छुट्टै सिट,राजनीतिमामहिला आरक्षण। काम गर्न जानुन् यानजानुन् स्थानिय निकायको प्रमुख या उप प्रमुख एउटा महिला नै हुने पर्ने रे।कहीं नभएको जात्र हाँडी गाउँमा।कहाँको नियम हो? यस्तै कारणले हो देश विकास नभएको।जान्नु नबुझ्नुको मान्छेलाई आरक्षणकोनाममा जथाभावी पद दानमा दिए जस्तो गरेर दिएर हुन्छ काम? पदमा त आफ्नो दक्षताको आधारमा जानु पर्छ अनि पो हुन्छ काम। पद मात्रै ओगटेर हुन्छ? काम पनि गर्न सक्नु पर्यो नि।’
‘देशविकास महिलालाई दवाएर राखेको बेला भएको थियो कि अहिले भएको छ देख्दैनौ? आँखा फुटेको छ कि क्या हो तिम्रो? महिला सधैंभरि दबेर मात्र बस्नु पर्ने हो?महिलालाई हैन पुरुषलाई छ आरक्षण- महिलाले नौ महिनाआफ्नोगर्भमा राखेर दु:ख गरी बच्चा जन्माउने, आफ्नो दुध चुसाएर तिनलाई हुर्काउने अनि कसको छोरो या छोरी भनेर सोध्दा चाहिँ बाबुको रे, थर पनि बाबुको लेख्ने रे। छोरीले बाबुको घरकोअंश पाउन दुनिया थरि सर्त पुरा गर्नु पर्ने रे तर छोरोचाहिँजन्मनासाथघरको सम्पत्तिको मालिक।आमा सत्य हो, बाबु विश्वाश मात्रै हो भन्ने थाहा हुँदाहुँदै पनि आमाको नामबाट नागरिकता लिन दुनिया भरिको झन्झट?एउटैकाम गर्दा पनि अफिसमा महिलाले पुरुषले भन्दा कम तलब पाउने रे। अनि त्यो चाही पुरुषको आरक्षण नभएर के भयो? गर्छौ आरक्षणको कुरा मसँग।’
‘तर तिमी जे सुकै भन, महिला अहिले पुरुष भन्दाधरै शक्तिशाली भएका छन्। भएका छन् भन्दा पनि उनीहरुलाई जबर्जस्ती शक्तिशालीबनाइएको छ। लोकत्रन्त्र र मानव अधिकारको नाममा यो पनि महिलालाई, त्यो पनि महिलालाई। खोसिने चाहिँ सबै पुरुषबाट नै हो।हामी पुरुषहरु त अहिले खालि महिला र परिवारलाई पाल्ने यन्त्र मानव जस्ता मात्र भएका छौँ।घरमा हेर त्यस्तै अत्याचार, बाहिर हेर त्यस्तै अत्याचार। अलिकति कर्के नजरले राम्री केटीलाई देखेपछि हेर्यो कि ‘मि टु’भनेर हाल्देलान भन्ने डर।के के न होला जस्तो?’
‘पुरुषहरुको हिंस्रक बानीलेत हो नि। नत्रत ‘मि टु’भनेरआफ्नो बेइज्जत गर्दै हिँड्न कुन चाहिँ महिलालाई रहर होला र?’
‘अनि घरमा चाहिँ के नि?सारा काम पुरुषले गर्ने अनि हेपिने पनि पुरुष?रिस उठेको बेलामा एक दुई झापट लगाऊँ भने पनि घरेलु हिंसामा परिएला भन्ने डर। अलिकति आफूलाई यसो मन लागेको बेलामा रमाइलो गरौं त भन्दा वैवाहिक बलात्कारमा परिएला भनेडर। सधैं डरैडरमा बाच्नु पर्ने। पुरुष भएर जन्मिनु त यो जमानामा पाप नै रहेछ।’
‘उसो भए लिंग परिवर्तन गरेर महिला बन न त, भैहाल्यो नि। अनि थाहा हुन्छ महिलाको दर्द।’
‘मलाई पनि त्यस्तै गर्न मन ला’छ। त्यसपछि त कामै नगरी बसी बसी खान पाइने थियो।’
‘लौ त,तिमी महिला बन अनि म चाहिँ पुरुष बन्छु।थाइल्याण्डमा गर्न मिल्छ रे। कसैलाई नभनी सुटुक्क जाऊँ अनि आउने बेलामा सबै सर्प्रराइज।कति रमाइलो होला सोच त?’ सुमित्राले ठट्टा गर्दै भनी।
‘हुन तरमाइलै हुन्थ्यो होला है?तर त्यो अप्रेसन गरेपछि चाडै मरिन्छ रे नत्र त एक पटक रमाइलो गर्नुहुन्थ्यो।पैसा पनि धरै लाग्छ रे।’
‘महिला बन्न पाइन्छ भने के भयो र त? सोच तहामी लिङ्ग परिवर्तन गरेर फर्कंदाकसरी हेर्दो होलान् छिमेकीहरूले?तिमीले सारी लगाएर सिन्दुर, पोते, टिका लगाएर मेरो हात समातेर हिँड्दा कस्तो होला सोच त।’ सुमित्राले जिस्काउन थाली।
उसको अनुहार त्यो ठट्टाले उज्यालो र हँसिलो भैसकेको थियो। काम गर्ने मान्छे राख्ने कुराबाट सुरू भएको उनीहरूको बहस कता कता मोडिदै लिंग परिवर्तन गर्नेसम्म पुगिसकेको थियो।
सुमित्राको सारी, सिन्दुर, टिका र पोतेको कुराले बरुण मस्तसँग हाँस्यो। उसको पनि ‘मुड’ पुरै परिवर्तन भैसकेको थियो। उनीहरू सधैं यस्तै हो। सधैं झगडा गर्छन् अनि अन्तमा हाँसोमा पुगेर टुंग्याउँछन्।
‘त्यही त एक पटक थाइल्याण्ड गएको बेला उनीहरूलाई हेर्न जानै पर्छ। बरु आउने स्कुल बिदामा थाइल्याण्ड जाने प्लान बनाऊ न।’ सुमित्राले प्रस्ताव राखी।
‘मलाई पनि जाने मन त लागेको हो, तर थाइल्याण्ड जाँदा परिवारसँग भन्दा पनि एक्लै जानुपर्छ भन्छन्।’
‘कसले, प्रकाशले भनेको?’
‘तिमीले कसरी थाहा पायौ?’
‘त्यति मात्रै हो र, तिम्रो मनको कुरा पनि थाहा पाउँछु।’
बरुण केही बोलेन।
‘हैन ठट्टा गरेको हैन,साच्चै, हामी अहिलेसम्म विदेश घुम्न पनि गएका छैनौं। बच्चाहरूलाई पनि रमाइलो हुन्छ। त्यति महँगो पनि छैन रे।एक पटक बुझ न।’ बरुण नबोलेपछि सुमित्राले एकछिनपछि फेरि भनी।
‘साँच्चै हो?’
‘साँच्चै।’
‘हुन्छ,त्यसो भए म बुझ्छु नि।’ उसले आफ्ना आँखा फेरि किताबतिर लगाउँदै भन्यो।
त्यसपछि सुमित्रा पनि सुत्ने तरखर गर्न थाली। सुमित्रा सुत्ने तरखर गर्न थालेपछि बरुणले सोध्यो, ‘अनि बच्चाहरू सुते त?’
‘सुते जस्तो छ। बत्ती निभेको छ’ टाउको उठाएर हेर्दै सुमित्राले भनी।
‘उसो भएत हामी पनि सुत्नु पर्छ, ढिलो भैसक्यो आज,बत्ती निभाऊ’, बरुणले भन्यो।
बरुणले सिरानी नजिकैको सानो टेबलमा आफ्नो पुस्तक राख्यो। सुमित्राले ओछ्यानबाट उठेर बत्ती निभाई अनि दुवै सिरक मुनि गुटुमुटु परे।
‘म एउटा कुरा सोधौं तिमीलाई?’ आफ्नो शरीरमा सिरक मिलाउँदै सुमित्राले भनी।
‘हुन्छ सोध न।’
‘तर मलाई नढाँटेर उत्तर दिनुपर्छ नि।’
‘हुन्छ। मैले तिमीलाई कहिले ढाँटेको छु र?’ बरुणले विश्वाश दिलाउन खोज्यो।
सुमित्रालाई बरुणको अझै विश्वाश लागेको थिएन त्यसैले फेरि सोधी,‘पक्का ढाँट्दैनौ नि?’
‘पक्का ढाँट्दैन।’
‘महिलाले यत्रो सुख पाएका छन्, कामै नगरी बसी बसी खाएका छन्, पुरुषलाई दबाएर, कजाएर राखेका छन् भन्छौं, अनि पुरुष भएर जन्मिनु नै पाप हो भन्छौं। तर अर्को जुनीमा यदि भगवानले तिमीलाई महिला बनाइदिन्छु भने भने तिमीले मान्छौ?’
कति गाह्रो प्रश्न। तर उसले वाचा गरेको थियो नढाँट्ने। जे जति घुर्की लगाए पनि उसलाई थाहा थियो महिला हुनुको अर्थ के हो भन्ने। वाचा गरेकोले उसलाई आफ्नो मनको कुरा बोल्न कर लाग्यो अनि भन्न नचाहँदा नचाहँदै पनि उसले उत्तर दियो- ‘अहँ।’