कविता
म हिमालको उचाईसँग
आफूलाई दाँज्न सक्दिनँ
हिमाल बिना टेको,
बिना सहारा अग्लिएर आफू
गगनचुम्बी बन्ने उद्धेश्यमा छ
ऊ प्रकृतिको अद्भुत शक्ति हो
न उस्लाई कसैको आधार चाहिन्छ
न कसैको ढाडस,
न कसैको प्रतिस्पर्धासँग
ऊ त्रसित छ।
तर म'त मान्छे हुँ
मलाई हावामा उड्न पनि
कसैको झूटो फुर्क्याईं चाहिन्छ
मलाई अग्लिन पनि कसैको
हातको भर चाहिन्छ
मलाई लड्न पनि विश्वास चाहिन्छ
आखिर म मान्छे न हुँ
नाथे मान्छे!
कसैको झूटो आश्वासन पनि मेरो लागि
सत्य वचन बनि दिन्छ
कसैको निरिह माया पनि मेरो लागि
अलौकिक साहस बनिदिन्छ
अनि कसैको झिनो आशा पनि
मेरो लागि ठूलो सहारा बनिदिन्छ
आखिर म कमजोर मान्छे न हुँ।
त्यसैले म आफूलाई केहीसँग
दाँज्ने हिम्मत राख्दिनँ
म आखिर स्वार्थको कठपुतली न हुँ
लालचले लोभ्याए पनि म
आशक्त बन्छु,
स्वार्थ लिप्साले बसमा राखे पनि
म कैदी झैं नतमष्तक बनिदिन्छु
किनकी म मान्छे न हुँ
न ईश्वर,न दानव,न पशु
जो मान्छेको उपमा लिएर
जीवित अस्थिपन्जरको धरापमा
उभिएको नाथु मान्छे।