प्रेमिल साँझमा
गोधुली रंगको आभाभित्र
निमेषभर रंगिएर
म आफूलाई एक प्रेमी पात्र सम्झिन्छु
र उड्छु कल्पनाको वनचरी बनेर
हावाको स्पर्श चुम्दै भावनाको गगनमा
हो ... म पगली झैं
आफैं मुस्काउँछु
अनि बन्द आँखा गरेर सुन्दर
प्रकृतिको काखमा निदाउँछु
र देख्न थाल्छु मेरा प्रेमिल मनको
मीठो सपना।
म मस्तनिन्द्राको मीठो सपनामा पाउँछु
उनको सामिप्यता र अंकमाल
जब म पनि उसरी छाँद हाल्दै
हात फैलाउँछु,
मेरा हातहरू हलुका बनेर
हावामा हल्लिन पुग्छन्
रुवाझैं हलुङ बनेर
र म झल्यास्स ब्युँझन्छु
म त उही प्रेमिल साँझमा
गोधुली रंगहरूमा मिसिएर
धुलाम्य बनेकी हुन्छु
मेरा वस्तुहरू उफ्रिँदै,बुर्कुसी मार्दै
कुददै हुन्छन् गोठ फर्कने खुसीमा
घामलाई डाँडाले निलेर
अस्तित्वहीन बन्दै गइरहेको पत्तो नै हुन्न
मेरा प्रेमिल जोडी अलिक परबाट
वस्तुको बथान खेददै उसरी नै
गोधुलीमा मुरलीको धुन भर्दै
आफैंमा हराई रहेको पाउँछु
उसैलाई हेरेर एकपटक मुसुक्क मुस्काउँछु
र ... मेरो मनको दरवाजा बन्द गरेर
वस्तु फर्काउन लाचार बन्छु।