आज एकाबिहानै मेरो मनमा
दुइटा प्रश्नको युद्ध चल्यो
एउटाले अर्कोलाई सोध्यो
तँ ‘मान्छे’ कि ‘मान्छे जस्तो’?
म अवाक् भए
म आमाका क्रन्दनहरूमा
बुवाको अशक्ततामा
प्रियसीको दुखाइमा
दिदीबहिनीको रुवाइमा
बच्चाहरूको छटपटीमा
मेरो मन बेचैन भएको छ
दु:खीहरूको दु:ख देखेर
मेरो मन धेरैचोटि दुखेको छ
म कर्णालीको भोकसँगै
आधा पेट भएको छु
महाकालीको भेलसँगै
धेरै पटक भत्किएको छु
औषधि नपाएर दुखेका घाऊ देखेर
म धेरै पटक तड्पिएको छु
बाटो -बाटोमा लडेका बच्चासँगै
मेरो विश्वास धेरै पटक लडेको छ
मैले भुइँचालोमा भुइँमुनि च्यापिएकाहरूलाई
डढेलोमा परेर आफ्नो छाप्रो गुमाएकाहरूलाई
बतासले छानो उडाएर सडकमा आएकाहरूलाई
बाढीले घर खेत बगाएर बिचल्ली भएकाहरूलाई
निस्वार्थ सहयोग गरेको छु
सोच्दैछु म ‘मान्छेजस्तो’ नभएर
‘मान्छे’ नै हुनुपर्छ
अर्को मनले तर्कना गर्यो
तैंले भीडहरूको लहडमा
सहरलाई कालो मुस्लो बनाएको छस्
पार्टीका झन्डामा विवेक बन्दकी राखेर
पुल-पुलेसा, स्कुल-कलेज, हस्पिटल फोडेको छस्
गुड्दा गुड्दैको गाडी पोलेर
निर्दोष मान्छेहरूको राप तापेको छस्
तैंले आमा दिदी-बहिनीहरूको अस्मिता लुटेको
टुलु- टुलु हेरेर कायरता देखाएको छस्
तँ आफ्नै निर्दोष गुरुहरूको
विभत्स हत्याको साक्षी बसेको छस्
उपचार गर्दै गरेको डाक्टर निकालेर
नमज्जाले पिटेको रमिता हेरेको छस्
भ्रष्टहरूसँग कुममा कुम मिलाएर
मदिराका चुस्की लगाएको छस्
तँ दहेजको बदलामा
देह जलाउनेहरूलाई आफ्नै ठान्छस्
कलिलो अनुहारमा एसिड छ्याप्नेहरूलाई
प्रेमिल अंकमाल गर्छस्
तैंले भोकाहरूको
नुन, तेल र चामल
पाल र त्रिपाल
छाना र नाना मात्रै होइन
इमान, रगत, पसिना र सपनाहरू
विश्वास, अठोट र सत्कर्महरू बेचेको छस्
तैंले ब्वासो जस्तो भएर
अरुबाट फाइदा मात्र लुटेको छस्
मेरो तर्कनाले भन्यो
म ‘मान्छे’ नभएर
‘मान्छेजस्तो’ मात्रै पो छु कि क्या हो?
मेरा तर्कनाहरू अझै लडिरहेछन्
म ‘मान्छे’ कि फगत ‘मान्छे जस्तो’?
Twitter: @tdahal1