कविता
जब कसैको अभिमान
आकासिएर टाँगिन खोज्छ
त्यसले न समाउने हाँगो भेट्छ
न अडिने अडान नै पाउँछ
र ...अनायासै गिर्दछ बजारिँदै
तल धरामा उत्तानोचित् परेर,
हो ...यो अभिमान भयङ्कर ठूलो शत्रु हो
अनि आफ्नै गला सेर्ने सिरुपाते खुकुरी हो।
तिमी जति नै महान् किन नबन?
जब तिम्रो महानतालाई अभिमानको
जालोले छपक्क छोप्छ भने,
तिमी जत्तिसुकै प्रतिभावान् किन नबन?
तिम्रो प्रतिभालाई आडम्बरको पर्दाले
सर्लक्क ढाक्छ भने
बुझ...तिमी खोक्रो अहमतामा बाँची रहेछौ
जान ...तिमी आफ्नो प्रतिभालाई
निरिह बनाइ रहेछौ।
अँ ...मान्छे हुनु ठूलो कुरा होइन
तर प्रतिभावान हुनु महान् हो
तर ...जब तिमी नै अनभिज्ञ छौ
तिम्रै प्रतिभाको सही अर्थ बुझ्न
तब ...,कठै!
तिमीभित्रको त्यो दक्षता/कौशलता
केबल पानीको फोका बन्ने छ
जो कसैको ठूलो स्वासले मात्र फुके पनि
फुट्ने छ/बिलाउने छ
त्यसैले ए ... मान्छे बरु केबल
प्रतिभाहीन मान्छे बन,
तर... तिमीभित्र गुम्सिएर
आडम्बरमा निस्सासिएको
प्रतिभाशाली खोक्रो नमूना नबन।