कविता
तिमीले बोल्ने उही बासी डकारले
वर्षको एक दिन
हामीलाई निदाउन दिँदैन,
मनभित्र कतै देश बिझाउन दिँदैन!
हामीले जीवन खोज्न
आफ्नो मृत्यु रोजेका थियौं,
उज्यालो मार्न तरबार बोकेको
अन्धो युग जो थियो!
अँध्यारो जित्नु थियो
त्यसैले हामी हार्न जानेनौं
स्वाभिमानको लिलामी गरेर
बोलीमा फरक पार्न जानेनौं !!
र, त
शहीद भयौं,
देशको माटोसहित भयौं!
मर्यौं त हाँसेर मर्यौं
जन-मनमा बाँचेर मर्यौं!!
हाम्रो सपनाको मझेरीमा
´पहेंला` पात्रहरू परेड खेल्दा
छाती चस्कन्छ कतै,
आफ्नै नाम माथिको भरोसा झस्कन्छ कतै,
के म साँच्चै शहीद हुँ?
!!!
हाम्रो रगतमा बिउ भिजाएर
उमारेका अकबरी सपनाहरू
किस्ताबन्दीमा बेच्दै
कैयौं थान टाउकाहरू सेतो घरको कौंसीमा
पालै-पालो बस्ने भयौं !!
हाम्रो सपना ,
मुस्कान र स्वाभिमान जोगाउने सपना,
खै ? तिमीले पूरा गरायौ ?
हिराको शिरपोष लगाएको हिमाल,
चट्टानी छाती बोकेको पहाड ,
फराकिलो काख थापेको मधेश
यी तीन वटै अंगमा रगत पठाउने
मुटु त एउटै हो नि!
तर तिमीले?
सत्ताको स्वाद लुट्न
´बिदेशी रक्सी` मिसाएर पिउँदा-पिउँदा
देशको धमनीमा बग्ने रगत नै
विषालु बनाइसक्यौ !
अझ फेरि उही कुरा गर्छौ तिमी,
हाम्रा सपनामाथि उही मोलमोलाई !
भो, अति भो सपनाको दलाली,
मूर्त शालिक सामू अमूर्त कुरा गरेर
माला ओढाउने
एकसरो ढोङ बन्द गर !!
!!!
सक्छौ आँखा जुधाउन ?
अभावमा पनि एक्लै लडिरहने भुइँमान्छेसँग ?
हजारौं पीडाका बीचमा पनि मुस्कान बचाउन सक्ने
आम अनुहारले तिमीलाई पत्याएको दिन
बल्ल म पनि मानुला
म शहीद हुँ
र
म तिम्रो पनि शहीद हुँ !!
त्यतिञ्जेल नढिप्किनु मेरो शालिक छेउ
तिम्रो उही बासी अनुहार देखाउन !!