म मेरै आँगनको दुबोमा
तप् तप् तप्किने चिसो शीतको थोपाले
पैताला पोलेर विदेशिएको मान्छे हजुर
म मेरै छाना माथिको चन्द्रमाले
भत् भत् पोलेर भागेको मान्छे हजुर
मैले आँगनको कुनाबाट
पारिजात र मन्जरीसँगै ठोक्किएर आउने
हावामा मैले दुर्गन्ध पाएको थिएँ
पहाडको फेंदीबाट आउने चिसो बतासमा
बेस्कन निस्सासिएको थिएँ
म बगरबाट उडेर शिरमा ठोक्किने
सिमल भुवाको स्पर्शले खुत्तरुक्कै लडेको मान्छे
प्यारीको काखमा शिर राख्दा ऐंठन भएको मान्छे
निश्चल, निष्कपट, निर्मल तोते बोलीहरूमा
कोलाहल अनुभूत गरेको मान्छे
निर्मल हिमनदीहरूमा जहर देखेको मान्छे
नाकै अगाडिको उर्वर भूमि खण्डहर देख्ने मान्छे
म मेरै भान्साको खानामा अतृप्त भा'को मान्छे
आमाको मायामा स्वार्थ देख्ने मान्छे
बुवाका वाणीहरूमा कर्कश सुन्ने
दिदी-बहिनीले लगाइदिएको
सयपत्रीको मालाले घोचेको मान्छे
दाजु-भाइका साथहरूमा
सकुनी चाल देख्ने मान्छे
हो हजुर
म कसैको दबाबमा
कसैको उक्साहटमा,
कसैको देखासिकीमा
सफलताको ‘सर्टकट’ खोज्न
विदेशिएको मान्छे हजुर
म कसरी भनौं?
मरुभूमिको तातो बालुवाले
मेरा पैतालाहरू पोलेकै छैनन्
जीवन हत्लेकामा राखेर
गगनचुम्बी महलका भित्ताहरूमा रंग दल्दै गर्दा
छेउ मै आउने सूर्यले छोएकै छैन
भेंडाझैं कोचिएको चार भित्ताभित्र
म पटक्कै निस्सासिएको छैन
म कसरी भनौं?
धुमिल ज्योति भा'की आमाको नङ नकाटेका मेरा हातहरू
थला परेका बाका गोडा नसुम्सुयाएका मेरा हातहरू
तिजमा दिदी-बहिनीलाई दर किन्न नहिँडेका गोडाहरू
दाजु-भाइको घरमा खाबो हाल्न नमानेका हातहरू
मेरै नासो मानेर प्यारीले
सिम्रिकझैं रंगाएको सिउँदो नहेर्ने मेरा आँखाहरू
थाकेको बहानामा आफ्नै बालाको
घोडा हुन अन्कनाएको मेरो पिँठ्यू
हरदम अरुकै लागि तत्पर रहन्छ
म कसरी सुनाऊँ?
मेरा सखीहरू बिहान-साँझ
आफ्नै सपनाको मलामी जान्छन्
मेरै जस्ता उम्दा सपनाहरू
हरेक दिनझैं डोरीमा तुन्द्रुङ्ग पासो लाग्छन्
म कसरी याचना गरूँ?
एकै निमेष भए पनि
दुबो माथिको शीतको थोपा टेक्न पाऊँ
घरको धुरी माथिको चन्द्रमा हेर्न पाऊँ
फूल र मन्जरीसँग ठोक्किएर आउने
हावाको मन्द स्पर्श पाऊँ
आमाको नङ काट्न पाऊँ
बाको गोडा मिच्न पाऊँ
प्यारीको सिउँदोको सिन्दुर हेर्न
लाला-बालाको घोडा बन्न पाऊँ
सास जानुअघि
आफ्नै आँगन टेक्न पाऊँ
म घरकै मोती चिन्न नसकेर
विदेशिएको हजुर
मलाई खुच्चिङ पर्यो