‘कान खोलेर सुन, दीपक। तैले त्यो केटीसँग विवाह गरिस् भने मसँग बोल्न पर्दैन’ दाइले फोनमा चेतावनी दियो।
मैले मधेसकै कुनै केटी विवाह गरोस् भन्ने दाइको चाहना छ। जबदेखि दाइले मेरो र मधुको बारेमा थाहा पायो नि, त्यो बेलादेखि मसँग राम्रोसँग बोल्दैन।
केही कुरा गर्नुपरे भाउजूमार्फत् थाहा हुन्छ। आज आफैंले निकै साहस बटुलेर फोन गरेको थिएँ, दाइले कुरा गर्नै चाहेन।
सानैमा बुवा बित्नुभयो। आमा बित्नुभएको एक बर्ष पूरा भएको छैन। जबदेखि आमा-बुवा दुबैले छोडेर जानुभयो, दाइ-भाउजूले नै मलाई आमा-बुवाको माया दिएका छन्।
दाइ मभन्दा पाँच वर्ष जेठो। म उसलाई तिमी भनेरै सम्बोधन गरेको हुन्छु। म प्राय: उसले भनेको मान्छु, उसको विरूद्धमा उभिइनँ।
दाइ, भाउजू र छोराछोरीसँगै जनकपुरमा बस्छन्। म सात वर्षदेखि राजधानी छु। भविष्य उज्ज्वल बनाउन भौतारिरहेछु। कहिलेकाहीँ एक्लोपनले सताउँदा ठूलोबुवा-ठूलाआमा, भाइ-बिहीकहाँ गएर समय विताउँछु।
***
त्यसदिन ठूलोआमाकहाँ पूजा थियो। म अलि छिटो त्यहाँ पुगे। पूजाका लागि धमाधम काम भइरहेका थिए। सबै व्यस्त देखिन्थे। म पुग्नेवित्तिकै बहिनीले आफ्नी साथीसँग मेरो परिचय गराइदिइन्।
उसको नाम रहेछ- मधु रिजाल। हामीले परिचयपछि एकअर्काको हात मिलायौं। पहेलो टप्स र जिन्समा सुन्दर देखिएकी थिई ऊ।
पूजा सकियो। एकैछिनमा मधु पनि निस्किछन्। पछि पो ठूलोआमा भन्दै हुनुहुन्थ्यो- मेरा लागि उहाँले खोजेको केटी मधु नै हुन्। म लजाएँ। बहिनीसँग मधुको नम्बर लिएर घर फर्किएँ।
केहीदिनमा मधु र मेरो कुराकानी सुरू भयो। भेट्ने कुरा पनि भयो। म वानेश्वरको एक कम्पनी र जाउलाखेलमा काम गर्थ्यौं। सातामा त्यस्तै तीन दिन उसँग भेट हुन थाल्यो।
भेट हुँदा आँखा हेरिन्थ्यो। मेरा लागि धेरै माया उसका आँखामा झल्किएका थिए। कुराकानी गर्दागर्दै थाहा भयो- मभन्दा मधु जेठी रहेछन्। चार वर्षले।
पहिले त खिन्न लागेको थियो। तर मायाले हो कि किन हो कुन्नी पछि मैले उमेरका कुरा सोच्न नै छाडिदिएँ। उसको त पहिले नै विवाह भएर सम्बन्धविच्छेद पनि भइसकेको पो रहेछ।
सम्बन्धविच्छेद हुनुमा उसको के दोष? मलाई यो समस्या थिएन र दाइ-भाउजूले स्वीकार गर्न हुन्न भन्ने चिन्ता लाग्न थाल्यो। यहीबीचमा मधुले आफ्ना आमाबा भेट्न कर गरिरहेकी थिइन्।
ठूलाआमालाई लिएर मधुको घर जान खोजेको पनि हुँ तर उहाँ मान्नु भएन एक्लै जाने कुरा आएन।
छठसम्म घर बस्छु भन्ठानेर म दशैंअघि घर गएँ। खाना खाइसकेपछि दाइसँग बात मारेँ-मधुको बारेमा। अलि जेठी छ भनेपछि दाइ हच्कियो। आफैँ सोच्नु भन्दै दाइ सुत्न गयो।
केही दिनमा तिहार सकिएर छठ आयो। फेरि दाइले कोठामा बोलाएर पुराना कुरा निकाल्यो- कोही नपाएर सम्बन्धविच्छेद गरेकीलाई विवाह गर्ने? भन्यो।
छठ आउन तीन दिन बाँकी थियो, दाइलाई जानकारी नै नदिएर म काठमाडौं फर्किएँ। काठमाडौं आएका यतिका समय भएपछि दाइले आज फोन गरेको थियो त्यो पनि थर्काएर राखिदियो।
दाइ अझै रिसाइरहेको छ भन्ने बुझेपछि मैले मधुसँग कुराकानी गर्न छाडेँ। गुडमर्निङदेखि गुडनाइटसम्म म्यासेजले मोवाइल भरिएका थिए तैपनि मैले रिप्लाइ दिएको थिइनँ।
केही समयपछि मधुले म्यासेज पठाउन छाडिन्। म आफ्नो कामतिर लागेँ। मधुले म्यासेज पठाउन छाडे पनि उता दाइले मेरो फोन उठाएको थिएन। मलाई पो झन् एक्लो महशुस हुन थाल्यो। बरू दाइले नै खोजेको केटीसँग विवाह गर्न म मञ्जुर भएँ, बल्ल दाइ खुसी भयो।
दाइले खोजेको मधेशकै केटीसँग विवाह गर्ने भएपछि म दाइसँग जनकपुर गएँ। घर पुगेपछि कुरैकुरामा दाइले भन्यो, तैले निर्णय बदलेर राम्रो गरिस् दीपक।
मधुको सम्बन्धविच्छेद भएको कुरा ठूलाआमाले नै दाइलाई भनेको भन्ने थाहा पाएपछि मलाई दिक्क लाग्यो। ठूलाआमाले यति धेरै खेल खेल्नु होला भनेर मैले चिताएको थिइनँ। मेरो र मधुको भेट गराइदिने अनि दाइलाई सम्बन्धविच्छेदको कुरा लगाएर छुटाउन लगाउने? यो कस्तो दोहोरो भूमिका।
दाइको लागि मैले मेरो खुसी धितोमा राखिदिएको थिएँ। मधुप्रति फेरि माया हुँदाहुँदै पनि दाइले जे भन्यो त्यही मानिदिएँ। यसबीचमा ममीको वर्षदिनको काम सकियो।
अब घरमा विवाहको माहौल सुरू भयो। दाइले खोजेकै केटीसँग विवाह हुने भयो। जनकपुरकै अनिता साहसँग। विवाहपछि मलाई उसले जनकपुरमै काम गर्न दवाव दिन थालिन्। मैले पनि उनले भनेको मानेँ।
समय वित्दै गयो। अनिताले दाइजोमा ल्याएका सामान र पैसा दाइले नै राखेको थियो। त्यसैले हुनुपर्छ उसको वानी परिवर्तन भएको महशुस गर्दै गएँ। दाइमात्र होइन अनिता पनि पहिलेभन्दा परिवर्तन हुँदै गएकी छन्।
उनले मेरो ख्याल गर्न छाडिन्। सातामा तीन दिन अनेक वाहना गर्ने र माइतमा नै बस्ने उसको आदत बन्यो। एकपटक दाइसँग हारेर अनितासँग विवाह गरेको थिएँ अहिले त सिंगो परिवारसँग हार मान्दैछु।
यसरी हुँदैन भन्ने ठानेर घरबाट निस्कें। दाइजोको लोभमा दाइले अनितासँग विवाह गर्न दवाव दिएको रहेछ। अनिताले पनि दाइ खुसी हुने गरी दाइजो ल्याइन् तर माइतीमै संस्कार भुलेर आइछन्।
म काठमाडौं आएँ।
सबैतिरबाट हन्डर खाएपछि मधुको यादले पो सताउन थाल्यो। तर उसलाई फोन गर्ने र कुरा गर्ने हिम्मत भएन। दुई वर्षदेखि आफन्तविना काठमाडौंमा विताइरहेको थिएँ- छायाबाहेक कोही साथमा थिएन।
हातमा सर्टिफिकेट थियो तर काम थिएन। बल्लबल्ल कालिमाटीमा एउटा आइटी सेक्टरमा काम पाएँ। साँझ कोठा फर्कन ढिला भइरहेको थियो, त्यसमाथि हावाहुरी चल्यो, अन्धकार छायो।
पानी पर्न लाग्यो भन्ठानेर बाइक हुइँक्याउँदै थिएँ। आँखामा धुलो पर्यो। बाटो निस्पट्ट केही देखिन्न। विपरीत दिशाबाट आएको कारले ठक्कर दिएछ, भुइँमा बजारिएपछि पो थाहा पाएँ।
होस खुल्दा अस्पतालको बेडमा। वरपर चिहाएँ नर्समात्रै छन्। मलाई यहाँ कसले ल्यायो? नर्सले भनिन्- जसले ल्याए पनि उहाँकै रगतले गर्दा तपाईं बाँच्न सफल हुनुभयो। तर उहाँले आफ्नो नाम नभन्न हामीलाई आग्रह गर्नुभएको छ।
यो कुरा सुनेपछि टाउकोको भन्दा मनको घाउ बढी दुखेझैँ भयो। अकस्मात मेरो निदारमा कसैको स्पर्श। त्यो अरू नभएर मधु रहिछन्। मेरी मधु, मायालु मधु। उसको उपस्थितिले मैले सबै पीडा दुर गरेँ।
उनले घटनाबारे सुनाइन्- तपाईं बाइक दुर्घटनामा परेपछि मानिसहरू भीड लागेर हेरिरहेका थिए। तपाईं भन्ने चिनेपछि उठाएर अस्पताल ल्याएको हुँ।
यो सुनेपछि मैले मधुलाई भने, किन बचायौं त यस्तो स्वार्थीलाई? उनी चुपचाप मेरा हातमाथि हात राखेर रोइरहिन्। म भगवानसँग प्रार्थना गरिरहेँ- अब मधुसँग साथ कहिल्यै नछुटोस्।